लाखौँ वेबसाइट एकसाथ डाउन हुनुमा जिम्मेवार क्लाउडफ्लेयर के हो र यसले इन्टरनेटमा के गर्छ ?
मंसिर ३, २०८२ ११:१६
काठमाडौँ । मङ्गलबार साँझदेखि एउटा सेवा तथा कम्पनीको नाम धेरै मानिसहरूले पहिलो पल्ट सुने, क्लाउडफ्लेयर । इन्टरनेटको एउटा अदृश्य जगबारे धेरै थाहा थिएन । नेपालमा टिकटक तथा पछिल्लो समय फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालमाथि सरकारले प्रतिबन्ध लगाउँदा सम्भवतः तपाईँले र्याप (1.1.1.1 WRAP) एप प्रयोग गर्नु भएको हुन सक्छ । त्यो एप यही क्लाउडफ्लेयरले तयार पारेको हो ।
सान फ्रान्सिस्को, क्यालिफोर्नियामा मुख्यालय रहेको यो एउटा अमेरिकी प्रविधि कम्पनी हो । जसको स्थापना म्याथ्यु प्रिन्स, ली होलोवे र मिसेल जाटलिनले सन् २००९ जुलाई २६ मा गरेका थिए । क्लाउडफ्लेयरको स्थापनाको मूल लक्ष्य भनेको एक राम्रो इन्टरनेट निर्माण गर्न मद्दत गर्नु हो । यो कम्पनी विश्वको सबैभन्दा ठुला नेटवर्कमध्ये एक हो ।
यसले इन्टरनेटमा 'मध्यस्थ' (reverse proxy) को रूपमा काम गर्छ, जसले प्रयोगकर्ता र वेबसाइटको वास्तविक सर्भरको बीचमा रहेर वेबसाइटलाई छिटो, सुरक्षित र भरपर्दो बनाउँछ । क्लाउडफ्लेयर एउटा विशाल, विश्वव्यापी गेटकिपर हो ।
जब कुनै प्रयोगकर्ताले कुनै वेबसाइट (जस्तै: techpana.com अथवा chatgpt.com) मा पहुँच गर्न खोज्छन्, तब उनीहरूको अनुरोध सिधै वेबसाइटको सर्भरमा नगई पहिले क्लाउडफ्लेयरको नेटवर्कबाट गुज्रिन्छ । यसले कन्टेन्ट डेलिभरी नेटवर्क (सीडीएन) सेवा, इन्टरनेट सुरक्षा, डिडस (डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस) आक्रमणहरूबाट सुरक्षा र एज कम्प्युटिङ जस्ता सेवाहरू प्रदान गर्दछ ।
सन् २०२५ को जनवरीसम्मको एक तथ्याङ्कले विश्वका लगभग १९.३% वेबसाइटहरूले वेब सुरक्षा सेवाका लागि क्लाउडफ्लेयर प्रयोग गर्ने गरेको देखाएको थियो । यसको विशाल उपस्थिति र महत्वका कारण जब क्लाउडफ्लेयरको प्रणालीमा गडबडी हुन्छ, त्यसले विश्वभरका लाखौँ वेबसाइटहरूलाई एक साथ डाउन गरिदिन सक्छ ।
मङ्गलबार पनि भएको त्यही हो । किनकि यी साइटहरूले आफ्नो ट्राफिकलाई क्लाउडफ्लेयरमार्फत रुट गर्न कन्फिगर गरेका हुन्छन् । यसरी क्लाउडफ्लेयरलाई इन्टरनेटको सुरक्षा र प्रदर्शन विफलताको एकल बिन्दुको रूपमा हेर्न सकिन्छ ।
मङ्गलबारको को महा-सङ्कट
हिजो मङ्गलबार अर्थात् १८ नोभेम्बर, २०२५ मा अचानक विश्वभरका लाखौँ प्रयोगकर्ताहरूले आफ्ना मनपर्ने साइटहरू, जस्तै ओपनएआईको च्याटजीपीटी, एक्स (ट्वीटर), स्पोर्टीफाई, पर्प्लेक्सिटी, डिस्कोर्ड, टेकपानामा पहुँच गर्न सकेनन् ।
प्रयोगकर्ताहरूले Error 520 Web server returns an unknown error is returning an unknown error भन्ने सन्देशसहित क्लाउडफ्लेयरको सञ्जालमा भएको आन्तरिक सर्भर त्रुटिको सङ्केत मात्र देखिरहेका थिए । यो आउटेज मङ्गलबार लगभग ५:४५ बजे तिर सुरु भएको थियो ।
धेरैलाई यो कुनै विशाल साइबर आक्रमण हुनुपर्छ भन्ने पनि लागेको थियो । तर क्लाउडफ्लेयरका इन्जिनियरहरूलाई भने यो आन्तरिक समस्या भएको कुरा थाहा भइसकेको थियो ।
क्लाउडफ्लेयरले गरेको अनुसन्धानमा आउटेजको कारण पत्ता लाग्यो । जुन कुनै साइबर हमला वा दुर्भावनापूर्ण गतिविधि थिएन । समस्या एउटा सानो, तर घातक आन्तरिक विफलताबाट उत्पन्न भएको थियो ।
क्लाउडफ्लेयरको एक डेटाबेस प्रणाली (जसले क्लिकहाउस सफ्टवेयर प्रयोग गर्दछ) मा अनुमति (permissions) परिवर्तन गरिएको थियो । यस परिवर्तनको कारणले गर्दा डेटाबेसले फिचर फाइल (feature file) भनिने महत्त्वपूर्ण फाइलमा धेरै डुप्लिकेट इन्ट्री (duplicate entries) आउटपुट गर्न थाल्यो ।
यो फिचर फाइल क्लाउडफ्लेयरको बट व्यवस्थापन प्रणाली (Bot Management system) द्वारा प्रयोग गरिन्थ्यो । डुप्लिकेट इन्ट्रीका कारण उक्त फिचर फाइलको आकार दोब्बरभन्दा ठुलो भयो ।
क्लाउडफ्लेयरको सञ्जालमा ट्राफिक रुट गर्ने सफ्टवेयर, जसले बट व्यवस्थापन प्रणालीलाई अद्यावधिक राख्न यो फिचर फाइल पढ्छ, यसको आकारको सीमा (limit) तोकिएको थियो । जब दोब्बर आकारको फाइललाई यो सफ्टवेयरमा पठाइयो, फाइल आकारले सीमा नाघेकोले सफ्टवेयर नै विफल हुन पुग्यो ।
यस गल्तीले गर्दा विश्वभरका क्लाउडफ्लेयर सर्भरहरूमा ठुलो समस्या आयो र करोडौँ वेब रिक्वेस्ट (अनुरोध) ठिकसँग ह्यान्डल हुन सकेनन् । यसले गर्दा वेबसाइटहरूमा पहुँच पुर्याउन नसक्ने गरी 'गेटकिपर' बिरामी परेको जस्तो अवस्था उत्पन्न भयो ।
सुरुमा प्रणाली हरेक पाँच मिनेटमा ठिक हुने र फेरि बिग्रने अवस्थामा थियो ।किनकि डेटाबेसको अपडेट गरिएको भागबाट कहिले राम्रो त कहिले खराब कन्फिगरेसन फाइलहरू उत्पन्न भइरहेका थिए । तर, अन्ततः सबै क्लिकहाउस नोडहरूले खराब कन्फिगरेसन फाइल उत्पन्न गर्न थालेपछि प्रणाली पूर्ण रूपमा विफलताको अवस्थामा पुग्यो ।
क्लाउडफ्लेयरका इन्जिनियरहरूले तत्काल समाधानका लागि काम गरे । कम्पनीले अस्थायी रूपमा केही सेवाहरू (जस्तै लन्डनमा WARP पहुँच) निष्क्रिय पार्यो र अन्ततः समस्या समाधान गर्दै सेवाहरू बिस्तारै सामान्य अवस्थामा फर्कायो । कसरी इन्टरनेटको विशाल भाग थोरै कम्पनीहरूमा निर्भर छ र कसरी एउटा सानो आन्तरिक गल्तीले पनि विश्वव्यापी डिजिटल जीवनलाई क्षणभरमै अवरुद्ध पारदिन सक्छ भन्ने कुरा यस घटनाले देखाएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर ३, २०८२ ११:२४
