close

युट्युबले ल्यायो ‘इन-एप मेसेजिङ’ फिचर, अब एप नछोडेर सोझै भिडिओ शेयर र च्याट गर्न सकिने

टेकपाना टेकपाना

मंसिर ४, २०८२ १३:२५

युट्युबले ल्यायो ‘इन-एप मेसेजिङ’ फिचर, अब एप नछोडेर सोझै भिडिओ शेयर र च्याट गर्न सकिने

काठमाडौँ । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो मोबाइल एपमा नयाँ ‘डाइरेक्ट मेसेजिङ’ फिचरको परीक्षण सुरु गरेको छ । गुगलद्वारा सञ्चालित युट्युबको यो नयाँ फिचरको प्रयोग गरी प्रयोगकर्ताले एप नछोडिकनै भिडिओ शेयर गर्न र त्यसबारे सिधै च्याट गर्न सक्नेछन् । 

यो फिचरको पूर्ण रूपमा रोलआउट भएपछि प्रयोगकर्ताले युट्युबमा हेरेको कुनै पनि भिडिओको लिङ्क कपी गरी ह्वाट्सएप वा मेसेन्जर जस्ता थर्ड पार्टी एपमार्फत पठाउनुपर्ने हालको बाध्यता हट्नेछ । गुगलले एक सूचना जारी गर्दै मोबाइल प्रयोगकर्ताका लागि यो नयाँ सुविधा परीक्षण भइरहेको पुष्टि गरेको हो । 

“प्रयोगकर्ताले मन परेका लामा भिडिओ, शर्ट्स तथा लाइभ स्ट्रिम सिधै युट्युबभित्रै शेयर गर्न र त्यसबारे कुराकानी गर्न मिल्ने गरी यो फिचर डिजाइन गरिएको हो,” कम्पनीले भनेको छ ।

यो परीक्षणमा आयरल्यान्ड र पोल्यान्डका १८ वर्ष माथिका प्रयोगकर्ता मात्र सहभागी हुन पाउने गुगलले जनाएको छ । योग्य प्रयोगकर्ताले आफ्नो युट्युब च्यानलमा साइन-इन गरेको हुनुपर्ने सर्त राखिएको छ । प्रारम्भिक चरणमा प्रयोगकर्ताले नोटिफिकेसनमा रहेको ‘शेयर’ अप्सन मार्फत ‘इन्भाइट लिङ्क’ बनाएर साथीहरूलाई पठाउनु पर्नेछ । साथीले उक्त इन्भिटेसन स्वीकार गरेपछि दुवै जना युट्युबमा सिधै भिडिओ शेयर गर्न र कुराकानी गर्न योग्य हुनेछन् ।

कम्पनीका अनुसार च्याटमा पठाइएका मेसेजलाई लामो समयसम्म थिचेर ‘अनसेन्ड’ वा ‘डिलिट’ गर्न सकिने सुविधा पनि उपलब्ध गराइनेछ । यस्ता मेसेज नीति विपरीत भए नभएको गुगलले निगरानी गर्नेछ ।

पछिल्लो अध्यावधिक: मंसिर ४, २०८२ १३:३१