close

यस्ता छन् गुगलले घोषणा गरेका यस वर्षका उत्कृष्ट मोबाइल एप र गेम

टेकपाना टेकपाना

मंसिर ५, २०८२ ७:४०

यस्ता छन् गुगलले घोषणा गरेका यस वर्षका उत्कृष्ट मोबाइल एप र गेम

काठमाडौँ । गुगलले अङ्ग्रेजी वर्ष २०२५ का लागि गुगल प्ले स्टोरका उत्कृष्ट एप, गेम तथा पुस्तक घोषणा गरेको छ । गुगलले हरेक वर्ष जस्तै डेभलपरको मेहनतको कदर गर्दै डाउनलोड गर्न योग्य एपहरूको सूची सार्वजनिक गरेको हो ।

फोकस फ्रेन्ड (Focus Friend) समग्रमा यस वर्षको उत्कृष्ट एप चुनिएको छ । ह्याङ्क ग्रिनले तयार पारेको यो एप एक गेमिफाइड फोकस टाइमर हो, जसमा एक अवतार (Bean Friend) हुन्छ । फोकस सेसनहरू पुरा गर्दा प्रयोगकर्तालाई भर्चुअल वस्तुहरू प्राप्त हुन्छन्, जसले अवतारको कोठा सजाउन सकिन्छ । यो एपलाई 'व्यक्तिगत वृद्धिका लागि उत्कृष्ट' (Best for Personal Growth) वर्गमा पनि राखिएको छ ।

यसैगरी समग्र गेमहरूमा Pokémon TCG Pocket उत्कृष्ट घोषित भएको छ । यो गेम अक्टोबर २०२४ मा सार्वजनिक भएको थियो । यसलाई आइकोनिक ट्रेडिङ कार्ड गेमको प्रामाणिक भर्चुअल संस्करण प्रस्तुत गरेको तथा कार्डहरूको सुन्दर डिजाइनका लागि पुरस्कार दिइएको हो ।

गुगलले मल्टी-डिभाइस प्लेटफर्महरूमा सहज अनुभव प्रदान गर्ने एप र गेमहरूलाई पनि अवार्ड दिएको छ । जसमा लुमिनारः फोटो एडिटर (Luminar: Photo Editor) एपलाई विभिन्न प्लेटफर्महरूमा उपलब्ध एआई-शक्ति सम्पन्न एडिटिङ टुलहरूको सुइटको लागि पुरस्कृत गरिएको हो ।

यस्तै डिज्नी स्पिडस्ट्रोम (Disney Speedstorm) उत्कृष्ट मल्टी-डिभाइस गेम बनेको छ । यो रेसर (racing title) एन्ड्रोइड फोन, ट्याब्लेट र विन्डोज पीसीहरूमा राम्रोसँग चल्नेगरी कस्टमाइज गरिएको छ ।

गुगलले विभिन्न विधामा अन्य एप तथा गेमहरूलाई पनि सम्मानित गरेको छ । जसअनुसार इन्स्टाग्रामको एप एडिट्स (Edits) लाई रमाइलोका लागि उत्कृष्ट एप घोषित गरिएको छ ।

त्यस्तै दैनिक आवश्यकताका लागि उत्कृष्ट एपमा वाइजर-१५ मिनेटको अडियो पुस्तक (Wiser - 15 Minute Audio Books) छानिएको छ । उत्कृष्ट हिडन जेमको रूपमा पिङ्गो एआई ल्याङ्ग्वेज लर्निङ (Pingo AI Language Learning) लाई सम्मानित गरिएको छ ।

एबीसी माउस २ः किड्स लर्निङ गेम (ABCmouse 2: Kids Learning Gam) परिवारका लागि उत्कृष्ट, साउन्ड क्लाउडः द म्युजिक यु लभ कारका लागि उत्कृष्ट र काम-स्लिप, मेडिटेट, रिल्याक्स एक्सआर हेडसेटका लागि उत्कृष्ट घोषित भएको छ ।

यसैगरी उत्कृष्ट कथाको रूपमा डिस्को एलिसियम, उत्कृष्ट मल्टी-प्लेयरका लागि डङ्क सिटी डाइनास्टी, पिकअप एन्ड प्लेका लागि क्यान्डी क्रश सोलिटायर, इन्डीका लागि उत्कृष्ट चान्ट्स अफ सेनर,अनगोइङका लागि उत्कृष्ट वुदरिङ वेभ्स, प्ले पासका लागि उत्कृष्ट डर्डेज र पीसीको उत्कृष्ट गुगल प्ले गेमका लागि ओडिनः भाल्हाला राइजिङ रहेको छ ।

गुडनोट्स (Goodnotes) ठुला स्क्रिनहरूका लागि र स्लिपिसोल बायो (SleepisolBio) घडीका लागि उत्कृष्ट एपमा छानिएको छ ।

गुगलले २०२५ का उत्कृष्ट पुस्तकहरू पनि छानेको छ । यस अन्तर्गत उपन्यास विधामा द राभेन स्कलर (The Raven Scholar) र गैर-उपन्यास विधामा दिस अमेरिकन वुमेन (This American Woman) परेको छ । 

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८२ ८:५१