close

मतदाताको उमेर १८ वर्ष पुग्ने कट-अफ-डेट निर्धारण, २१ देखि २७ मंसिरसम्म त्रुटि सच्याउन पाइने

टेकपाना टेकपाना

मंसिर ५, २०८२ १२:१४

मतदाताको उमेर १८ वर्ष पुग्ने कट-अफ-डेट निर्धारण, २१ देखि २७ मंसिरसम्म त्रुटि सच्याउन पाइने

काठमाडौँ । निर्वाचन आयोगले मतदाताको उमेर १८ वर्ष पुग्ने मिति (कट-अफ-डेट) निर्धारण गरेको छ । आयोगले २१ फागुनमा घोषणा भएको प्रतिनिधि सभा निर्वाचनका लागि कट-अफ-डेट निर्धारण गर्दै मतदाता नामावलीलाई अद्यावधिक गर्ने कार्यक्रम स्वीकृत गरेको हो । 

नामावली अद्यावधिक गर्ने क्रममा आगामी २० फागुनसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई कट-अफ-डेट निर्धारण गरेको छ । आयोगले ५ मंसिरसम्म देशभरबाट सङ्कलित मतदातामध्ये २० फागुन २०८२ सम्म १८ वर्ष पुग्ने पुग्ने मतदाताहरूको नामावली २० मंसिरमा आफ्नो वेबसाइटमा प्रकाशन गर्ने भएको छ ।

उक्त नामावलीमा कुनै त्रुटि भएमा त्यसलाई सच्याउन, कसैले झुटा विवरण दिएर नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्रै कायम गर्न निवेदन दिन पाइनेछ । साथै मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउन आयोगले २१ देखि २७ मंसिरसम्मको समय दिएको छ । 

त्यसका लागि आयोगको वेबसाइटबाट अनलाइन वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालय पुगेर निवेदन, उजुरी वा सूचना दिन सकिने आयोगले जनाएको छ । त्यसको छानबिन गरी आयोगले १५ पुस २०८२ मा सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ ।

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८२ १२:२२