काठमाडाैँ । ड्रोन तथा रोबोटिक्स प्रविधि कम्पनी सुजाता इन्डष्ट्रिज प्रा.लि.को प्राविधिक सहयोगमा नागार्जुन क्षेत्रमा एक दिने ‘मास्टर रोबोटिक्स तालिम’ सम्पन्न भएको छ । ‘स्टान नागार्जुन कमिटी’ को आयोजनामा शनिबार नागार्जुनस्थित सीताराम माध्यमिक विद्यालयमा भएको कार्यक्रममा नागार्जुन नगर क्षेत्रका २५ विद्यालयका करिब १०० जना विद्यार्थीको सहभागिता रहेको थियो । विद्यालय स्तरमै विद्यार्थीहरूलाई रोबोटिक्स र अटोमेसनसम्बन्धी व्यावहारिक सीप प्रदान गर्दै भविष्यको प्राविधिक यात्रातर्फ प्रेरित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
तालिमका लागि आवश्यक सम्पूर्ण प्राविधिक पक्षहरू रोबोटिक्स किट्स, सेन्सर, आर्डिनो कन्ट्रोलर्स, कोडिङ सामग्री तथा प्राविधिक जनशक्ति सुजाता इन्डष्ट्रिजले उपलब्ध गराएको थियो । कम्पनीका प्रबन्ध निर्देशक तथा ड्रोन–रोबोटिक्स विशेषज्ञ मनिष शर्माले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्दै सहभागीहरूलाई शैक्षिक तथा प्राविधिक निर्देशन प्रदान गरेका थिए ।
तालिमका क्रममा विद्यार्थीहरूले ब्लिंक एलईडी (Blink LED), ट्राफिक लाइट सिस्टम, ब्लुटुथ कन्ट्रोल कार, अटोमेटिक डोर ओपनर, स्मार्ट डस्टबिन र सर्भो कन्ट्रोल (Servo Control) जस्ता व्यवहारिक परियोजनाहरूको प्रत्यक्ष अभ्यास गरेका थिए । यसबाट विद्यार्थीहरूमा आर्डिनो प्रोग्रामिङ, सेन्सर इन्टिग्रेसन र अटोमेसन लजिक जस्ता आधारभूत प्राविधिक सीपको विकास भएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी नागार्जुन नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष देवेन्द्र गिरीले विद्यालय स्तरमा आधुनिक प्राविधिक शिक्षा विस्तार गर्न सुजाता इन्डष्ट्रिजले पुर्याएको योगदानको प्रशंसा गरे ।
विद्यार्थीहरूलाई हार्डवेयर सेटअप, सर्किट निर्माण र कोडिङमा सहजीकरण गर्न सुजाता इन्डष्ट्रिजका प्राविधिकहरू बन्दना खड्का, अशोक अधिकारी, ऋषिकेश शर्मा, रश्मी साह, सुस्मिता शर्मा, ऋषिका यादव र सौरभ यादवले मार्गदर्शन गरेका थिए ।
नेपालमा ड्रोन म्यानुफ्याक्चरिङ र स्टिम (STEM) शिक्षामा काम गर्दै आएको सुजाता इन्डष्ट्रिजले आगामी दिनमा नेपालको भावी पुस्तालाई रोबोटिक्स र अटोमेसनमा सक्षम बनाउने लक्ष्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर ८, २०८२ १३:५३
