close

एक्सले देखाउन थाल्यो प्रयोगकर्ताको लोकेसन, सुरक्षा विज्ञले उठाए गम्भीर प्रश्न

टेकपाना टेकपाना

मंसिर ११, २०८२ ८:०

एक्सले देखाउन थाल्यो प्रयोगकर्ताको लोकेसन, सुरक्षा विज्ञले उठाए गम्भीर प्रश्न

काठमाडौँ । अर्बपति उद्यमी एलन मस्कको सामाजिक सञ्जाल एक्सले प्रयोगकर्ताको लोकेसन देखाउन थालेको छ । शनिबारदेखि उक्त प्लेटफर्मले अकाउन्ट कुन ठाउँदेखि सञ्चालन भइरहेको छ भन्ने जानकारी देखाउन थालेको हो । 

यो नयाँ फिचर सार्वजनिक भएसँगै पारदर्शिताका पक्षधरले यसको स्वागत गरेका छन् । एक्समा कुनै पनि प्रयोगकर्ताको अकाउन्ट खोलेर ‘कहिले एक्समा जोडिएको हो’ भन्ने सेक्सनमा भएको एर्रोमा ट्याप गर्दा ‘अबाउट दिस अकाउन्ट’ सेक्सन खुल्छ । यसमा एक्समा कहिले जोडिएको हो, अकाउन्ट कहाँबाट सञ्चालित छ, भेरिफाई छ भने कहिले भएको हो, कुनै संस्थामा आवद्ध छ वा छैन, छ भने कुनमा छ र कुन डिभाइसबाट कनेक्ट छ भन्ने देखाइएको छ । त्यसबाहेक युजरनेम परिवर्तन गरेको छ भने कति पटक गरेको छ भन्ने जानकारी पनि उक्त सेक्सनमा समावेश गरिएको छ । 

यससँगै आफूलाई अमेरिकी नागरिक वा अमेरिकामा आधारित भनेर चिनाउने कैयौं अकाउन्टको वास्तविकता यसले पर्दाफास गरिदिएको छ । ती अकाउन्ट वास्तवमा भारत, थाइल्याण्ड, बङ्गलादेश जस्ता देशबाट सञ्चालित रहेको तथ्य बाहिर आएको छ ।

तर, सोमबारसम्म आइपुग्दा सुरक्षा विज्ञ, अनुसन्धानकर्ता र एक्सका पूर्व कर्मचारीले यो फिचरको विश्वसनीयता र प्रभावकारितामा गम्भीर प्रश्न उठाएका छन् । उनीहरूका अनुसार भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) जस्ता प्रविधि प्रयोग गरेर लोकेसन सजिलै लुकाउन वा नक्कली लोकेसन देखाउन सकिन्छ ।

सबै अकाउन्टमा यी सबै जानकारी भने देखिएका छैनन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एक्स अकाउन्टको अबाउट दिस अकाउन्ट सेक्सनमा एक्समा जोडिएको मिति र भेरिफाई भएको मिति मात्र देखिन्छ । एलन मस्कको अकाउन्टमा भने एक्समा जोडिएको र भेरिफाई भएको मिति, आवद्ध संस्था र कनेक्ट भएको प्लेटफर्मको नाम उल्लेख छ । रोचक कुरा के छ भने वेबमा हेर्दा मस्कको अकाउन्ट ३००० बीसीई देखि भेरिफाई भएको उल्लेख छ भने मोबाइलमा हेर्दा सन् १९७० देखि भेरिफाई भएको देखिन्छ । मस्कको जन्म २८ जुन १९७१ मा भएको हो । मस्कले आफ्नो अकाउन्टमा आफू जन्मेको अघिल्लो वर्षदेखि नै अकाउन्ट भेरिफाई भएको उल्लेख गरेका छन् । 

क्लेम्सन युनिभर्सिटीका मिडिया फोरेन्सिक हबका सह-निर्देशक डारेन लिनभिलले भने, “अब यो फिचर अस्तित्वमा आएपछि, मलाई लाग्छ यसको दुरुपयोग हुनेछ र मानिसले यसलाई छल्ने तरिका छिट्टै सिक्नेछन् ।”

एक्सका दुई पूर्व कर्मचारीका अनुसार यो अवधारणा सन् २०१८ देखि नै प्रस्ताव गरिएको थियो । तर कम्पनीको व्यवस्थापन टिमले यसलाई पटक-पटक अस्वीकार गरेको थियो । उनीहरूका अनुसार यदि कुनै गलत व्यक्तिले भीपीएन प्रयोग गरेर आफ्नो लोकेसन अमेरिका देखाउन सफल भयो भने प्लेटफर्मले नै उसलाई ‘विश्वसनीय अमेरिकी आवाज’ भनेर गलत प्रमाणीकरण गरिदिने जोखिम रहन्छ । यसले प्रयोगकर्तालाई झन् भ्रममा पार्न सक्छ ।

एक्सले लोकेसन पत्ता लगाउन कुन डेटा प्रयोग गरिरहेको छ भन्ने स्पष्ट छैन । तर धेरैजसो टेक कम्पनीले जस्तै यसले पनि आईपी एड्रेस वा जीपीएस डेटा प्रयोग गरेको अनुमान छ । यो प्रविधि पूर्ण रूपमा भरपर्दो हुँदैन ।

यसको उदाहरण गत हप्ता नै देखियो । एनबीसी न्युजका पत्रकारको अकाउन्टमा उनीहरू हाल बसिरहेको लोकेसनको साटो केही महिनाअघि भ्रमण गरेको ठाउँको लोकेसन देखियो ।

मेटामा ‘काउन्टर इन्फ्लुएन्स अपरेसन’ को नेतृत्व गरिसकेकी ओल्गा बेलोगोलोभाले भनिन्, “यदि यो केवल आईपी एड्रेस वा प्रयोगकर्ताले दिने जानकारीमा आधारित छ भने खराब नियत हनेका लागि यसलाई छल्नु सामान्य कुरा हो ।”

एक्सले पनि भीपीएनको प्रयोग हुन सक्ने कुरा स्वीकार गर्दै केही प्रोफाइलमा ‘प्रोक्सी वा भीपीएनको प्रयोगका कारण देखाइएको देश वा क्षेत्र परिवर्तन हुन सक्ने’ भन्ने डिस्क्लेमर राखेको छ ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसबाट सञ्चालित ट्रोल फर्मले प्रभाव पारेपछि सामाजिक सञ्जालमा पारदर्शिताको मुद्दा पेचिलो बन्दै आएको छ । मस्कले एक्स खरिद गरेपछि ‘ट्रस्ट एण्ड सेफ्टी’ टिममा कटौती गरेका कारण यस्ता चुनौती झन् बढ्न सक्ने विज्ञहरूको चिन्ता छ ।

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८२ ८:०