पासपोर्टको अनलाइन फारम भर्दा चर्को शुल्क लिनेलाई कारबाही गर्ने विभागको चेतावनी
मंसिर ११, २०८२ १८:२४
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राहदानी (पासपोर्ट) को अनलाइन फारम भर्दा सेवाग्राहीसँग चर्को शुल्क असुल्ने व्यवसायी तथा संस्थाहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
राहदानी विभाग लगायतका सरकारी कार्यालय बाहिर सञ्चालित अनलाइन सेवा प्रदायकहरूले फारम भरेबापत अस्वाभाविक रकम लिने गरेको गुनासो आएपछि विभागले यस्तो निर्देशन जारी गरेको हो ।
विभागले राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, मालपोत, यातायात व्यवस्था र वैदेशिक रोजगार कार्यालय वरपर रहेर सेवा दिने व्यवसायीलाई मर्यादाभित्र रहेर काम गर्न सचेत गराएको छ ।
अनुगमनका क्रममा बढी शुल्क लिएको पाइएमा उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ बमोजिम कडा कारबाही गरिने विभागले जनाएको छ ।
साथै, विभागले व्यवसाय सञ्चालन अनुमति लिएर मात्र सेवा दिन, राजस्व कार्यालयमा भ्याट वा प्यान दर्ता गर्न, सेवाको मूल्यसूची सबैले देख्ने गरी राख्न र सेवाग्राहीलाई अनिवार्य रूपमा बिल बिजक जारी गर्न पनि निर्देशन दिएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर ११, २०८२ १८:२४
