close

जलवायु परिवर्तन र बढ्दो गर्मीबाट बच्ने उपाय सिकाउन भोलि ‘हिट अवेर वेबिनार’ हुँदै, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

मंसिर १२, २०८२ १४:४७

जलवायु परिवर्तन र बढ्दो गर्मीबाट बच्ने उपाय सिकाउन भोलि ‘हिट अवेर वेबिनार’ हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडौँ । जलवायु परिवर्तनका कारण बढ्दै गएको तापमान र यसको नकारात्मक असरबाट सुरक्षित रहने उपायबारे जानकारी दिने उद्देश्यले शनिबार (भोलि) ‘हिट अवेर वेबिनार’ आयोजना हुने भएको छ ।

एम्बिसन गुरुको प्राविधिक सहयोगमा दिउँसो २ बजेदेखि हुने भर्चुअल कार्यक्रममा जलवायु अभियन्ता आकाङ्क्षा मास्के र मिस नेपाल २०२३ श्रीच्छा प्रधान प्रमुख वक्ताका रूपमा रहनेछन् ।

वेबिनार मुख्यतया जलवायु परिवर्तनले दैनिक जीवनमा पारिरहेको असर न्यूनीकरण र बढ्दो गर्मीबाट बच्ने उपायमा केन्द्रित रहनेछ । गर्मीयाम सुरु हुनुभन्दा छ महिनाअघि नै पूर्वतयारीमा सहयोग पुर्‍याउने हेतुले कार्यक्रम आयोजना गरिएको अभियन्ता आकाङ्क्षा मास्केले जानकारी दिइन् ।

मास्केका अनुसार हरेक वर्ष बढ्दो तापक्रमले विद्यालय, अस्पताल, कृषि तथा सामान्य जनजीवन प्रभावित भइरहेको छ । उनले टेकपानासँग भनिन्, “व्यक्तिगत स्तरबाट काम गर्ने ठाउँ र घरमा जलवायु परिवर्तनका कारण बढिरहेको गर्मीबाट कसरी सुरक्षित रहने भन्ने विषयमा वेबिनारमा छलफल गरिने छ ।”

जुम मिटिङमार्फत हुने उक्त कार्यक्रममा सहभागिताका लागि नाम दर्ता खुला गरिएको छ । कार्यक्रम सबैका लागि खुला भए पनि विशेष गरी घरबाहिर रहेर काम गर्ने श्रमिक, किसान तथा पसल सञ्चालकहरू यसको लक्षित वर्ग हुन् । तातो मौसमबाट प्रत्यक्ष प्रभावित हुनेहरूलाई सुरक्षित रहने उपाय प्रदान गर्न नेपाली भाषामै प्रस्तुति दिइने आयोजकले जनाएको छ ।

वेबिनारबाट प्राप्त तथ्याङ्कले भविष्यमा जलवायु अनुकूलनका लागि कस्तो प्रकारको सहयोग वा उत्पादनहरू आवश्यक पर्छ भन्ने विश्लेषण गर्न सघाउने मास्केले बताइन् । ​

कार्यक्रममा सहभागी हुनका लागि यहाँ क्लिक गरेर आफ्नो नाम दर्ता गर्न सकिनेछ ।

 

पछिल्लो अध्यावधिक: मंसिर १२, २०८२ १५:१६