close

टिकटकमा अब एआई सामग्री कति हेर्ने आफैँ छान्न पाइने, अदृश्य वाटरमार्क पनि परीक्षणमा

टेकपाना टेकपाना

मंसिर १३, २०८२ १८:३५

टिकटकमा अब एआई सामग्री कति हेर्ने आफैँ छान्न पाइने, अदृश्य वाटरमार्क पनि परीक्षणमा

काठमाडौँ । टिकटकले आफ्नो प्लेटफर्ममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सिर्जित कन्टेन्टको पारदर्शिता बढाउन र प्रयोगकर्तालाई थप नियन्त्रण दिन नयाँ सुविधाहरू सार्वजनिक गरेको छ । एआई कन्टेन्टको व्यवस्थापन, पहिचान र शिक्षामा केन्द्रित हुँदै कम्पनीले विभिन्न अपडेटहरू ल्याएको हो ।

टिकटकले ‘म्यानेज टपिक्स’ (Manage Topics) फिचर अन्तर्गत नयाँ सेटिङको परीक्षण सुरु गरेको छ । यसमार्फत प्रयोगकर्ताले आफ्नो ‘फर यू’ (For You) फिडमा एआई सिर्जित सामग्री कति हेर्ने भन्ने कुरा आफैँ निर्धारण गर्न सक्नेछन् । एआई टुल प्रयोग गरी बनाइएका कथा वा शैक्षिक सामग्री रुचाउनेले यसलाई बढाउन सक्नेछन् भने एआई सामग्री मन नपराउनेले घटाउन सक्ने विकल्प पाउनेछन् ।

एआई सामग्रीको पहिचानलाई थप विश्वसनीय बनाउन टिकटकले ‘इनभिजिबल वाटरमार्किङ’ प्रविधि पनि परीक्षणमा ल्याएको छ । यो प्रविधिले भिडिओमा यस्तो डिजिटल सङ्केत राख्छ, जुन टिकटकको सिस्टमले मात्र पढ्न सक्छ । भिडिओ एडिट वा रिपोस्ट गर्दा पनि यो वाटरमार्क कायमै रहने हुँदा एआई लेबलिङ थप भरपर्दो हुने कम्पनीको दाबी छ । टिकटकले हालसम्म क्रिएटर लेबल र एआई डिटेक्सन मोडेलमार्फत एक अर्ब ३० करोडभन्दा बढी भिडिओहरू पहिचान गरी लेबल गरिसकेको जनाएको छ ।

२० लाख डलरको एआई साक्षरता कोष

प्रविधिसँगै जनचेतना अभिवृद्धिका लागि टिकटकले २० लाख अमेरिकी डलर (साढे २८ करोड रुपैयाँ हारहारी) को ‘एआई लिट्रेसी फण्ड’ स्थापना गरेको छ । यो कोषमार्फत विभिन्न देशका गैरनाफामूलक संस्था र विज्ञहरूसँग सहकार्य गरी एआईले कसरी काम गर्छ र कसरी सुरक्षित प्रयोग गर्ने भन्नेबारे शैक्षिक सामग्री निर्माण गरिने कम्पनीले आफ्नो विज्ञप्तिमा जनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १३, २०८२ १८:३५