close

मंगल ग्रहमा पनि पृथ्वीमा जस्तै चट्याङ पर्ने वैज्ञानिकहरूको दाबी

टेकपाना टेकपाना

मंसिर १४, २०८२ ८:२१

मंगल ग्रहमा पनि पृथ्वीमा जस्तै चट्याङ पर्ने वैज्ञानिकहरूको दाबी

काठमाडौँ । वैज्ञानिकहरूले मंगल ग्रहको वायुमण्डलमा पहिलो पटक विद्युतीय गतिविधि (electrical activity) रेकर्ड गरेका छन् । यसबाट मंगल ग्रहमा पनि पृथ्वीमा जस्तै चट्याङ पर्न सक्ने देखाएको उनीहरूले बताएका छन् ।

नासाको ‘पर्सिभरेन्स रोभर’ ले पठाएको अडियो र इलेक्ट्रोम्याग्नेटिक रेकर्डिङको अध्ययनबाट यो तथ्य पत्ता लागेको हो । रोभरमा जडान गरिएको ‘सुपरक्याम’ उपकरणले ‘मिनी लाइटनिङ’ भनिने विद्युतीय झट्काहरू रेकर्ड गरेको बताइएको छ ।

फ्रान्सका अनुसन्धानकर्ताहरूको टोलीले रोभरले दुई मंगल वर्ष (पृथ्वीको १,३७४ दिन) लगाएर संकलन गरेको २८ घण्टा लामो अडियो रेकर्डिङको विश्लेषण गरेको थियो । अध्ययनका क्रममा धुलोको आँधी चल्दा यस्तो विद्युतीय गतिविधि भएको पाइएको छ । धुलोको स-साना भुमरीहरू चल्दा तातो हावा जमिनबाट माथि उठ्ने र त्यही घर्षणले विद्युतीय झट्का उत्पन्न हुने वैज्ञानिकहरूको निष्कर्ष छ ।

अनुसन्धानका प्रमुख लेखक डा. ब्याप्टिस्ट चिडले रोयटर्सलाई बताए अनुसार यो एक ठुलो खोज हो । उनले भनेका छन्, “यसले मंगल ग्रहको वायुमण्डलीय रसायन, मौसम र भविष्यको मानव तथा रोबोटिक मिसनमा प्रत्यक्ष प्रभाव पार्नेछ ।” यो खोजपछि वायुमण्डलीय विद्युतीय गतिविधि हुने ग्रहमा पृथ्वी, शनि र बृहस्पतिसँगै मंगल ग्रह पनि थपिएको छ ।

यद्यपि, यस विषयमा वैज्ञानिकहरूमाझ केही मतभेद पनि देखिएको छ । भौतिकशास्त्री डा. डेनियल प्रिचर्डले ‘नेचर’ जर्नलमा यो विद्युतीय गतिविधि सुनिएको मात्र हो, देखिएको भने छैन भनेर उल्लेख गरेका छन् । त्यसैले यो साँच्चिकै मंगल ग्रहको चट्याङ हो वा होइन भन्ने विषयमा पूर्ण निश्चित हुन अझै बाँकी रहेको उनले बताए । वैज्ञानिकहरूले यसलाई पुष्टि गर्न भविष्यमा अझ संवेदनशील क्यामेरा र उपकरणहरू मंगल ग्रहमा पठाउनुपर्ने राय व्यक्त गरेका छन् ।

सन् २०२१ मा मंगल ग्रहको जेजेरो क्रेटरमा अवतरण गरेको नासाको पर्सिभरेन्स रोभरले त्यहाँ जीवनको सम्भावना र पुराना चट्टानहरूको खोजी गरिरहेको छ ।

-बीबीसीको सहयोगमा

पछिल्लो अध्यावधिक: मंसिर १४, २०८२ ८:४३