समय अभाव देखाएर विदेशमा रहेका नेपालीलाई मतदानबाट वञ्चित गर्न पाइँदैन- सुमना श्रेष्ठ
मंसिर १६, २०८२ १३:५५
काठमाडौँ । पूर्वमन्त्री सुमना श्रेष्ठले समय अभावको बहानामा विदेशमा रहेका नेपालीलाई मतदान गर्नबाट वञ्चित नगर्न निर्वाचन आयोगलाई चेतावनी दिएकी छन् ।आगामी २१ फागुनमा घोषणा भएको निर्वाचनलाई २३ र २४ भदौको क्रान्तिको मर्म बोक्ने निर्वाचन भएको भन्दै उनले आयोगलाई पुरानै ढर्रा र उही अनुहार दोहोर्याउने चेष्टा नगर्न सचेत गराएकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै प्रधानमन्त्री सुशीला कार्कीकी सहयोगी समेत रहेकी श्रेष्ठले दर्ता भइसकेका मतदातालाई मतदान गर्न नदिने राजनीतिक दलहरूको नाम सार्वजनिक गर्न आयोगलाई चुनौती दिएकी छन् । उनले भनिन्, “निर्वाचन आयोग संवैधानिक निकाय हो, सबै बालिग मतदातालाई समेटेर निष्पक्ष निर्वाचन गराउने म्यान्डेट पाएको संस्थाले कुनै दलको अनुमति कुर्न पर्दैन ।”
सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन वर्षौंअघि परमादेश जारी गरिसकेको स्मरण गराउँदै श्रेष्ठले हालसम्म तयारी नभएको भन्दै आयोगको कार्यशैलीप्रति प्रश्न उठाइन् । “विदेशमा रहेका नागरिकलाई मतदान गर्न व्यवस्था मिलाउनु भनेर वर्षौ अघि सर्वोच्चको परमादेश छ, हालसम्म केही तयारी छैन ? निर्वाचन आयोगले मिति घोषणा भए पछि मात्र काम सुरु गर्ने हो ? त्यसो हो भने निर्वाचन आयोगमा स्थायी कर्मचारीको औचित्य के ?” उनको प्रश्न छ ।
यसपटक पनि विदेशबाट मतदानको सुरुवात गर्न नसके कहिल्यै सम्भव नहुने भन्दै उनले आयोगलाई खुट्टा नकमाउन आग्रह गरेकी छन् । उनले राष्ट्रिय परिचयपत्रमार्फत मतदाता दर्ता गर्दा जस्तै सहयोग गर्न आफूहरू तयार रहेको धारणा राखिन् ।
पछिल्लो अध्यावधिक: मंसिर १६, २०८२ १३:५६
