close

१५-२० हजार रुपैयाँ सित्तैमा दिएर लाखौं ठगी गर्ने ‘मोनिका स्क्याम’: यसरी फैलिँदै छ, सावधान !

टेकपाना टेकपाना

मंसिर २५, २०८२ ९:१८

१५-२० हजार रुपैयाँ सित्तैमा दिएर लाखौं ठगी गर्ने ‘मोनिका स्क्याम’: यसरी फैलिँदै छ, सावधान !

काठमाडौँ । राजधानीको कोटेश्वरमा बस्दै आएका २७ वर्षीय रेशम बश्याल (नाम परिवर्तन) अनलाइनमा हुने विभिन्न किसिमका ठगीबारे अनभिज्ञ थिएनन् । सञ्चारमाध्यममा आइरहने समाचार पढेका र अनलाइन ठगीको बढ्दो बिगबिगीबारे जानेका उनी आफन्तलाई समेत सचेत गराइरहन्थे । अरू फसेका घटनाबाट पाठ सिकेर आफ्नो परिवारलाई सुरक्षित राख्न खोज्ने रेशम आफैं भने यस्तो जालमा पर्छु भन्ने सोचेका पनि थिएनन् । तर, प्रविधि र मनोविज्ञानको खेलमा उनी यसरी फसे कि, सुरुमा थोरै लोभ गर्दा अन्ततः ठुलो रकम गुमाउन पुगे ।

एकदिन टेलिग्राम चलाइरहँदा उनलाई ‘सुप्रिया’ नामको आईडीबाट मेसेज आयो, “के तपाईं घरमै बसेर दैनिक ३००० रुपैयाँसम्म कमाउन चाहनुहुन्छ ?” यस्ता मेसेज ठग्ने उद्देश्यले नै आउने हुन् भन्ने बुझेका उनले कौतुहलतावश रिप्लाइ दिए । लगत्तै उनलाई अर्को अकाउन्टबाट सम्पर्क गरिने जानकारी दिइयो । नभन्दै केही समयमै रोमनमा कुरा गर्ने एक व्यक्तिले उनलाई मेसेज गरे । ती व्यक्तिले आफूलाई ‘मोनिका भिनाडेर’ (Monica Vinader) कम्पनीबाट खटाइएको प्रतिनिधि बताए ।

प्रमाणका रूपमा देखाइने पत्र

यसअघि च्याट गरेका व्यक्तिले भनेजस्तै प्रक्रिया अघि बढ्यो । रेशमलाई एउटा लिङ्क पठाइयो र त्यहीँबाट कम्पनीको काम गर्नुपर्ने भनियो । अमेरिकाको प्रतिष्ठित गहना कम्पनीको नाम लिएर सामान खरिद-बिक्रीमा अनलाइनबाटै सहयोग गर्नुपर्ने तर लगानी भने गर्नु नपर्ने आश्वासन दिइयो ।

रेशमले अकाउन्ट बनाए । आफ्नो विवरण पठाए र तत्कालै भेरिफाइ पनि भयो । ती प्रतिनिधिले रोमनमै लेखेर पठाए, “तपाईंलाई अब म कसरी आम्दानी गर्न सकिन्छ भन्ने सिकाउँछु ।”

काम सुरु गर्न उनको भर्खरै खोलिएको अनलाइन अकाउन्टमा ११ हजार रुपैयाँ ‘बोनस’ पठाइयो । “त्यहाँ विभिन्न किसिमका गहना बिक्रीका लागि राखिएका हुने रहेछन्, हामीले माइनिङ (अर्डर प्रोसेसिङ जस्तो काम) गर्नुपर्ने रहेछ,” कामको प्रकृति सम्झिँदै रेशमले भने ।

कम्पनीले दिएको ११ हजार भर्चुअल करेन्सीले २० पटक ‘माइनिङ’ गर्न पुग्ने बताइएको थियो । प्रत्येक पटक माइनिङ गर्दा गहना किनेको रकम काटिने र त्यसलाई डिस्प्याच गर्नुपर्ने प्रक्रिया थियो । यो सबै देख्दा निकै ‘प्रोफेसनल’ लाग्थ्यो ।

२० पटक माइनिङ सकेपछि उनको खातामा १२ हजार २०० बढी देखियो । कम्पनीले ११ हजार राखिदिएकाले उक्त ११ हजार फिर्ता लियो र उनको खातामा १२ सय रुपैयाँ नाफा देखियो । पहिले उनले त्यो रकम झिक्न (विथड्र) खोजे । वेबसाइटमा आफ्नो बैंकिङ विवरण राखेर एउटा टेलिग्राम ग्रुपमा क्यूआर कोड र रकमको विवरण पठाउन भनियो । अचम्मको कुरा, रेशमले तत्कालै १२ सय रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गरे ।

“सुरुमा त यस्तो स्क्याममा यति सानो रकम आउनु स्वाभाविक हो भन्ने लागेको थियो,” रेशम सम्झिन्छन् ।

उनलाई अर्को दिनको कामको लागि पर्खिन भनियो । उनी जोडिएको टेलिग्राम ग्रुपमा ६० जना सदस्य थिए, जसमा १५ जना अनलाइन देखिन्थे । रेशमले पैसा पाएको स्क्रिनशट पठाए जस्तै अरू दुई जनाले पनि पठाए । यहाँनेर रेशमको मनोविज्ञानसँग खेलियो । आफूले पैसा पाएपछि र अरूले पनि पाएको देखेपछि उनलाई विश्वास लाग्न थाल्यो ।

दोस्रो दिन काम सुरु हुनुअघि दुई नयाँ अपरिचित व्यक्तिले उनलाई टेलिग्राममा सम्पर्क गरेर ‘काम कस्तो हुँदैछ ?’, ‘कत्तिको विश्वसनीय छ ?’ भनेर सोधे । रेशमले आफूले रकम पाइसकेको हुनाले सकारात्मक जवाफ दिए । “म आफैं चेक गर्नको लागि मात्र गएको थिएँ,” उनी भन्छन्, “पैसा नै पाइसकेपछि मैले पनि उनीहरूलाई रकम पाइन्छ भनिदिएँ ।”

दोस्रो दिनको सर्त अलि फरक थियो । उनलाई ११ हजार रुपैयाँ आफै जम्मा गर्न भनियो । यहाँनेर उनी केही झस्किए । उनले तुरुन्तै गुगलमा ‘मोनिका भिनाडेर’ सर्च गरे । गुगलमा त्यो नामको वास्तविक अमेरिकी कम्पनी भेटियो । यसले उनको विश्वासलाई बलियो बनायो । उनले ११ हजार जम्मा गरे । २० पटक माइनिङ गरेपछि खातामा १५ हजार रुपैयाँ जम्मा भयो । उनले विथड्र गरे, स्क्रिनशट पठाए र केही बेरमै १५ हजार उनको बैंक खातामा आयो । दुई दिनमा उनलाई पाँच हजार रुपैयाँ फाइदा भएको थियो ।

उनलाई सहजीकरण गर्ने टेलिग्रामका ती व्यक्तिले पनि अनेक सपना देखाएका थिए । “सर म पनि पहिले यसरी नै छिरेको हो, अहिले दिनको २० हजारभन्दा बढी कमाउँछु,” ती व्यक्ति रेशमलाई भन्थे । आफ्नो गरिबी र ऋणको कथा सुनाउँदै ती व्यक्ति अहिले ‘आईफोन १६ प्रो म्याक्स’ बोक्ने र गाडी किन्ने हैसियतमा पुगेको गफ दिन्थे । रेशम पनि दिनको २०-२५ हजार कमाउने सपना बुन्न थाले ।

तेस्रो दिन ११ हजार जम्मा गरेर माइनिङ सुरु गर्दा ८ पटक मै रकम सकियो । सिस्टमले थप २० हजार माग्यो । नाफा भइरहेको देखेका उनले २० हजार थपे । माइनिङ पूरा भयो, खातामा ३९ हजार देखियो । उनले त्यो रकम पनि झिके र आफ्नो बैंक खातामा प्राप्त गरे । अर्थात ३१ हजार राख्दा आठ हजार फाइदा भएको थियो । 

यतिबेलासम्म रेशम पूर्ण रूपमा विश्वस्त भइसकेका थिए । उनलाई अनलाइन स्क्यामका समाचार झुटा हुन् कि भन्ने भान पर्न थाल्यो । “विश्वास नगर्दा नगर्दै पनि रकम आउन थालेपछि त समाचार नै झुटा आएका रहेछन् भन्ने लाग्यो,” उनी वैरागिँदै भन्छन्, “त्यो बेला त खुसी थिएँ । अब पर्खाइ चौथो दिनको भयो ।”

चौथो दिन । यो दिन रेशमका लागि कालरात्रि जस्तै बन्यो । सुरुमा ११ हजार जम्मा गरे, ५ पटक माइनिङ हुँदै सकियो । “माइनिङ गर्दा पैसा बढिरहेको थाहा थियो, त्यसैले अचम्म लागेन,” उनी भन्छन् । त्यसपछि २० हजार मागियो, उनले हाले । १२ औं माइनिङमा त्यो पनि सकियो । अझै ८ ओटा माइनिङ बाँकी थियो, जसका लागि ५० हजार मागियो । उनले ५० हजार पनि हाले । १९ औं माइनिङमा पुग्दा फेरि पैसा सकियो ।

अन्तिम माइनिङका लागि उनलाई तीन लाख रुपैयाँ जम्मा गर्न भनियो । अब भने रेशमको होस उड्यो । उनले सामाजिक सञ्जालमा गहिरिएर खोजे । धेरैले ‘मोनिका स्क्याम’ बाट ठगिएको भिडियो राखेको देखेपछि उनी छाँगाबाट खसेझैं भए ।

“मैले त जानी जानी हारेको जस्तो भयो । तर, तिनीहरूले नराम्रोसँग फसाउने रहेछन्,” रेशम पश्चाताप मान्दै भन्छन्, “बीचमा नयाँ प्रयोगकर्ता जस्तो बनेर आउने पनि तिनीहरूकै मान्छे रहेछन्, मलाई आश्वासन दिने व्यक्ति पनि तिनीहरूकै गिरोहका रहेछन् ।”

------------

साथीको पैसामा साथीकै ऋण

काठमाडौँमा लोकसेवा तयारी गरिरहेका महेन्द्र शर्मा (नाम परिवर्तन) को कथा पनि रेशमको भन्दा फरक छैन । उनलाई पनि टेलिग्राममार्फत नै जालोमा पारियो । सुरुमा लगानीबिनै नाफा दिएर विश्वास जितियो । तेस्रो चरणमा ११ हजार, त्यसपछि ५० हजार हुँदै अन्तिममा २ लाख रुपैयाँ मागियो ।

“मैले त्यसअघि पैसा कमाइसकेको थिएँ,” महेन्द्र भन्छन्, “त्यसरी नै रकम कमाउन सकिन्छ भन्ने लोभले उनीहरूले भनेको रकम पठाउन तयार भएँ ।”

महेन्द्रले ‘मोनिका भिनाडेर’ को टास्क पूरा गर्न साथीहरूसँग “आमा बिरामी हुनुभयो” भन्दै झुटो बोलेर दुई लाख रुपैयाँ ऋण काढे । साथीहरूले मनकारी हुँदै सहयोग गरे । तर, दुई लाख हाल्दा पनि २० ओटा माइनिङ सकिएन । अन्तिममा दुई लाख ९९ हजार रुपैयाँ थप गर्न भनियो ।

“मसँग त्यत्रो रकम कुनै पनि हालतमा हुने अवस्था थिएन,” महेन्द्र भन्छन् । उनले आफ्नो असमर्थता जनाएपछि टेलिग्रामको ‘मेन्टर’ ले दुई लाख आफूले सहयोग गरिदिने नाटक गर्‍यो र बाँकी ९९ हजार महेन्द्रलाई हाल्न भन्यो । महेन्द्रले फेरि साथीहरूसँग हात फैलाए र ९९ हजार जम्मा गरे ।

सबै रकम हालेर माइनिङ त पूरा भयो । तर पैसा आएन । उल्टै ‘कर’ तिर्नुपर्ने बहाना बनाइयो । ठगिएको चाल पाएपछि महेन्द्र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुगे । “मलाई त यसरी ठगी हुन्छ भन्ने थाहै थिएन,” महेन्द्र भन्छन्, “विश्वासमा पर्दा डुबेँ ।”

यो प्लेटफर्म यति चलाखीपूर्ण ढङ्गले डिजाइन गरिएको छ कि प्रयोगकर्तालाई सुरुमा यो नक्कली हो भन्ने शंका नै हुँदैन । वास्तविक अमेरिकी कम्पनीको नाम र लोगो प्रयोग गरिन्छ, जसले गर्दा गुगलमा सर्च गर्दा प्रयोगकर्ता झुक्किन्छन् । यी प्रतिनिधि पात्र मात्र हुन् । मोनिका भिनाडेरकै नामबाट ठगिने पीडितको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ ।

के भन्छ प्रहरी ?

नेपाल प्रहरीको साइबर ब्युरोले यस्ता घटनाबाट सचेत रहन बारम्बार आग्रह गर्दै आएको छ । अमेजन, दराज, अलिबाबा जस्ता नाम चलेका ई-कमर्स मात्र होइन, पछिल्लो समय मोनिका भिनाडेर, ट्राभलोसिटी, जुमिया, उबर, आइका, टिमु, जग्गार्ड्स जस्ता कम्पनीको नाममा ठगी बढेको छ ।

साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार गुगलमा नाम भेटिँदैमा आँखा चिम्लिएर विश्वास गर्नु हुँदैन । “यस्ता घटनाबाट जोगिन पहिलो कुरा त कम्पनी र त्यसको पृष्ठभूमि राम्ररी बुझ्नुपर्छ,” अवस्थी भन्छन्, “अध्ययन गर्ने भन्दैमा गुगलमा खोज्ने र नाम भेटियो भने आधिकारिक हुन्छ भन्ने हुँदैन । त्यसैले विस्तृतमा बुझ्नुपर्ने हुन्छ । आफूले बुझ्न सकेको छैन भने बुझ्ने मान्छेसँग सल्लाह लिनुपर्छ ।”

उनका अनुसार घरबाटै काम गर्न मिल्ने, कुनै सीप नचाहिने र सुरुमै धेरै कमाइ हुने प्रलोभन नै ठगीका मुख्य संकेत हुन् । “कम्पनीसँग सामाजिक सञ्जालमा मात्र कुराकानी हुन्छ ? कार्यालय कहाँ छ ? भेटेरै अन्तर्वार्ता किन लिइरहेको छैन ? किन सजिलै रकम कमाउन सकिने प्रलोभन देखाइरहेको छ भन्नेबारे विचार गर्नुपर्छ,” उनले भने ।

लगानीका नाममा हुने यस्ता ठगीमा प्रायः निजी बैंक खाताको प्रयोग भइरहेको प्रहरीको भनाइ छ । कम्पनीको काम भनेको छ तर रकम व्यक्तिगत खातामा पठाउन भनेको छ भने यस्तो बेला सजगता अपनाउनुपर्ने प्रहरीको सुझाव छ ।

ठगीको रेड फ्ल्याग 

‘मोनिका स्क्याम’ वा यस्तै प्रकृतिका अनलाइन ठगीमा फस्नुअघि निम्न कुरामा ध्यान दिन जरुरी छ, जसले तपाईंलाई ठगिएको संकेत गर्छन् :

  • सित्तैको पैसाको पासो: सुरुमा लगानी नै नगरी दिनको हजारौं कमाउन सकिन्छ भन्नेले दोस्रो दिनदेखि किन आफैंलाई रकम जम्मा गर्न लगाउँछ ? सुरुमा सानो रकम दिएर विश्वास जित्ने यो ठगहरूको पुरानो शैली हो ।

  • अस्वाभाविक यूआरएल: कम्पनीको नाम ‘मोनिका भिनाडेर’ भए पनि तपाईंलाई पठाइएको लिङ्कमा बीचमा ड्याश (-) वा अन्य अक्षर थपिएको हुन्छ । आधिकारिक कम्पनीले यस्तो शंकास्पद यूआरएल विरलै प्रयोग गर्छन् ।

  • कामको प्रकृतिमा प्रश्न: आफूलाई गहना पसल भनिएको छ । तर तपाईंलाई बीचमा बसेर ‘भर्चुअल अर्डर’ लिने र डिस्प्याच गर्ने काम किन दिइन्छ ? एउटा अमेरिकी कम्पनीले नेपालमा बसेको अपरिचित व्यक्तिको खातामा विश्वास गरेर कारोबार किन गर्छ ?

  • अपरिचितको मेसेज: तपाईंले कतै आवेदन नै नदिई टेलिग्राम वा ह्वाट्सएपमा “के तपाईं फुर्सदमा हुनुहुन्छ ?” भन्दै आउने प्रस्ताव कसरी आधिकारिक हुन सक्छ ?

  • निजी खातामा कारोबार: बहुराष्ट्रिय कम्पनीको नाममा काम गर्ने तर पैसा पठाउँदा भने नेपालकै कुनै व्यक्तिको निजी बैंक खाता वा इसेवा/खल्तीमा पठाउन किन भनिन्छ ?

  • नक्कली ग्रुप र साथीहरू: तपाईंलाई जोडिएको ग्रुपमा स्क्रिनशट पठाउने, मलाई पनि पैसा आयो भन्ने र प्रश्न सोध्नेहरू सबै ठगहरूकै मान्छे हुन् । यो तपाईंलाई मनोवैज्ञानिक रूपमा फसाउने जाल मात्र हो ।

पछिल्लो अध्यावधिक: मंसिर २५, २०८२ १०:३८