आदिवासी जनजातिलाई लोक सेवा आयोग तयारीको निःशुल्क अनलाइन कक्षा, यसरी दिनुहोस् आवेदन
पुस ९, २०८२ १७:५४
काठमाडौँ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले लोक सेवा आयोगको तयारी गरिरहेका आदिवासी जनजाति समुदायका परीक्षार्थीका लागि निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानले सोमबार दोस्रो पटक सूचना जारी गर्दै इच्छुक उम्मेदवारबाट दरखास्त आह्वान गरेको हो ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मा सूचीकृत समुदायका परीक्षार्थीका लागि अप्राविधिक (प्रशासनतर्फ) शाखा अधिकृत र नायब सुब्बा तहको पूर्व तयारी कक्षा सञ्चालन गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
इच्छुक प्रशिक्षार्थी उम्मेदवारले यहाँ क्लिक गरेर अनलाइन फारम भर्नुपर्ने व्यवस्था गरिएको छ । फारम भर्दा ५०० रुपैयाँ दस्तुर इसेवामार्फत भुक्तानी गरी सोको प्रमाण समेत आवेदनमा समावेश गर्नुपर्ने सूचनामा उल्लेख छ । १६ पुष २०८२ भित्र फारम भरिसक्नुपर्ने प्रतिष्ठानले जनाएको छ ।
“रीतपूर्वक अनलाइन फारम भरेका उम्मेदवारलाई विधिपूर्वक छनौट गरी छनौट भएका प्रशिक्षार्थीको नामावली प्रतिष्ठानको वेबसाइटमा प्रकाशित गरी लोकसेवा प्रवेश अनलाइन तयारी कक्षामा समावेश गराइनेछ,” आयोगले सूचनामा भनेको छ ।
यससम्बन्धी विस्तृत जानकारीका लागि प्रतिष्ठानको कार्यालय सानेपा वा फोन नम्बर ०१-५१८३२५२, ५१८३३३२ र ५१८३१७४ मा सम्पर्क गर्न सकिनेछ ।
पछिल्लो अध्यावधिक: पुस ९, २०८२ १७:५९
