काठमाडौँ । नेपाली प्रविधि कम्पनी ‘बलियो भेन्चर्स’ले भारतमा आयोजित अन्तर्राष्ट्रिय स्तरको ‘रोबोवार्स’ प्रतियोगिताको उपाधि जितेको छ । भारतको मुम्बईमा २२ देखि २४ डिसेम्बरसम्म सञ्चालन भएको ‘टेकफेस्ट, आईआईटी बम्बई’ अन्तर्गत १५ केजी तौल समूहको प्रतिस्पर्धामा कम्पनीले स्वर्ण पदक हात पारेको हो ।
कम्पनीका प्रबन्ध निर्देशक अनिल सिंहका अनुसार बलियो भेन्चर्सले आफैँ तयार पारेको रोबोट उक्त प्रतिस्पर्धामा सहभागी गराइएको थियो । प्रतियोगितामा नेपालका सातसहित श्रीलंका, रुस र भारतका गरी ४५ भन्दा बढी टोलीहरूले दर्ता गराएका थिए । कडा प्रतिस्पर्धाका बीच उपाधि जित्न सफल बलियो भेन्चर्सले स्वर्ण पदकसँगै ४० हजार भारतीय रुपैयाँ (करिब ६४ हजार नेपाली रुपैयाँ) पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा बलियो भेन्चर्सको टोलीको नेतृत्व पृथ्वी चौधरीले गरेका थिए । चौधरीले नै रोबोटको पाइलटको भूमिका समेत निर्वाह गरेका थिए । टोलीमा प्रबन्ध निर्देशक सिंहसहित सुगन बुढाथोकी, फुर्बा वाइवा तामाङ र दुजङ शेर्पाको सहभागिता रहेको थियो । कम्पनीलाई यस प्रतियोगितामा सहभागी हुन नेपाल विद्यार्थी संघले सहयोग पुर्याएको प्रबन्ध निर्देशक सिंहले जानकारी दिए ।
बलियो भेन्चर्स विगत चार वर्षदेखि सञ्चालनमा रहेको प्रविधि कम्पनी हो । यसले नेपालमा सहजै उपलब्ध नहुने मसिनहरूलाई ग्राहकको आवश्यकता अनुसार कस्टमाइज गरेर उपलब्ध गराउँदै आएको छ । यसका साथै सफ्टवेयर डेभलपमेन्ट, प्रोडक्ट डेभलपमेन्ट र कम्पनी सेटअप जस्ता प्राविधिक कार्यहरूमा पनि कम्पनी सक्रिय रहेको सिंहले बताए ।
पछिल्लो अध्यावधिक: पुस १०, २०८२ ९:१९
