६० नेपाली विद्यार्थीलाई सामसङले दियो एआई र बिग डेटा तालिम, कोडिङ-प्रोग्रामिङको नयाँ ब्याच सुरु
पुस १४, २०८२ १८:३९
काठमाडौँ । सामसङ इनोभेसन क्याम्पस (एसआईसी) नेपालले नेपाली विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरेको ‘एआई तथा बिग डेटा’ सम्बन्धी तालिम सम्पन्न भएको छ । गएको जुन २७ देखि ६ महिनासम्म सञ्चालित उक्त तालिमको समापनसँगै सामसङले सोमबार ‘कोडिङ तथा प्रोग्रामिङ’ को नयाँ ब्याच सुरु भएको जानकारी दिएको छ ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजित एक कार्यक्रमबिच तालिममा सहभागी ६० विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरियो । तालिममार्फत विद्यार्थीहरूलाई व्यवहारिक सिकाइ, उद्योगसँग सान्दर्भिक ज्ञान र अत्याधुनिक प्रविधिमा प्रत्यक्ष अनुभव प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले नेपाली युवाहरूलाई देशको भविष्यको नवप्रवर्तनको प्रमुख प्रेरक शक्तिको रूपमा व्याख्या गरे । “युवाहरूलाई भविष्यमुखी सीपले सुसज्जित गर्नु देशको दीर्घकालीन प्रगतिमा गरिएको लगानी हो । सामसङ इनोभेसन क्याम्पसमार्फत हामी नेपालको बढ्दो डिजिटल अर्थतन्त्रमा नेतृत्व गर्न युवाहरूलाई सशक्त बनाउन प्रतिबद्ध छौँ,” उनले भने ।
प्रमाणपत्र वितरण समारोहमा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग केसी, इन्स्टिच्युट अफ इन्जिनियरिङका डिन डा. सुशील बी. बज्राचार्य, पुल्चोक क्याम्पसका प्रमुख डा. सञ्जय उप्रेती लगायतको उपस्थिति रहेको थियो ।
सामसङले सन् २०२२ देखि आफ्नो विश्वव्यापी सीएसआर दृष्टिकोण ‘Together for Tomorrow! Enabling People’ अन्तर्गत युवाहरूलाई भविष्य सुहाउँदो सीप प्रदान गर्दै आएको छ । यसअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानसँग सहकार्य गरी नेपालमा विभिन्न पाठ्यक्रममा आधारित रही तालिम आयोजना भएका छन् । तालिमका क्रममा विद्यार्थीहरूले एआई, बिग डेटा, इन्टरनेट अफ थिङ्स, कोडिङ जस्ता प्रविधि प्रयोग गरी वास्तविक जीवनका चुनौतीहरू समाधान गर्ने परियोजनाहरूमा कार्य गरेका थिए ।
नयाँ सुरु भएको कोडिङ तथा प्रोग्रामिङ पाठ्यक्रममा सहभागी हुनका लागि एल्गोरिदम, डेटा स्ट्रक्चर र प्रोग्रामिङको आधारभूत ज्ञान आवश्यक पर्ने बताइएको छ । व्यवहारिक सीपमा केन्द्रित पाठ्यक्रमले विद्यार्थीलाई उनीहरूले सिकेका सीप र प्रविधिको प्रयोग गरेर समस्या समाधान गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।
सामसङ इनोभेसन क्याम्पस नेपालका कार्यक्रममा सहभागी हुन पुल्चोक इन्जिनियरिङ कलेजमा आईटी, कम्प्युटर विज्ञान लगायतका विद्यार्थीहरूले आवेदन दिन सक्छन् । त्यसपछि कार्यक्रमका लागि कलेजले नै विद्यार्थी छनोट गर्दै आएको पुल्चोक क्याम्पस इलेक्टोनिक्स एन्ड कम्प्युटर इन्जिनियरिङ विभागका सह-प्राध्यापक अरुण तिमल्सिनाले बताए ।
छनोट हुने विद्यार्थीलाई सामसङले नै तयार पारेको पाठ्यक्रममा आधारित भएर तालिम दिने गरिन्छ । विद्यार्थीहरूको सीप विकाससहित नयाँ नयाँ आविष्कारमा सघाउन समेत सामसङ इनोभेसन क्याम्पस सहयोगी बनेको उनको भनाइ छ । उनका अनुसार ६ महिनामा ३५० घण्टाको कोर्स विद्यार्थीहरूले लिने गरेका छन् ।
पछिल्लो अध्यावधिक: पुस १४, २०८२ १९:११

