७ दिनभित्र छानबिन प्रतिवेदन बुझाउने सर्तमा त्रिविका कम्प्युटर विज्ञान विद्यार्थीको अनशन स्थगित
पुस १६, २०८२ २१:३६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कम्प्युटर विज्ञानको उपप्राध्यापक पदको परीक्षामा अयोग्य उम्मेदवारहरूलाई समेत सहभागी गराएको भन्दै आन्दोलनरत विद्यार्थी र विश्वविद्यालय प्रशासनबिच सहमति भएको छ । सहमतिसँगै उपकुलपति कार्यालय अगाडि अनशनरत विद्यार्थीले आन्दोलन फिर्ता लिएका छन् ।
उपप्राध्यापकको परीक्षामा आंशिक समकक्षता मात्र भएका उम्मेदवारहरूलाई समेत सामेल गराइएको विरोधमा कम्प्युटर विज्ञान विद्यार्थी सङ्घ गत आइतबारदेखि आन्दोलित थियो । विद्यार्थीका तर्फबाट एमएससी सीएसआईटी चौथो सेमेस्टरका विद्यार्थी केशव बानियाँ मङ्गलबार बिहानदेखि आमरण अनशनमा बसेका थिए ।
बुधबार साँझ अनशनरत बानियाँ र विश्वविद्यालयद्वारा गठित वार्ता समितिबिच तीनबुँदे सहमति भएपछि अनशन तोडिएको हो । सहमतिअनुसार, त्रिवि सेवा आयोगको विज्ञापन नं. ११८५/०८१-०८२ को परीक्षाका लागि प्रकाशित नामावलीमा रहेका उम्मेदवारहरूको योग्यता विषय समितिले निर्धारण गरेको मापदण्डअनुसार भए/नभएको छानबिन गरिनेछ । उक्त समितिले स्वतन्त्र रूपमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने उल्लेख छ ।
सीएसआईटी केन्द्रीय विभागका उपप्राध्यापक सर्बिन सायमी, स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष सनम वली र हिक्मतकुमार बुढाको रोहबरमा सो सहमति भएको हो । सहमतिपत्रमा विश्वविद्यालयका तर्फबाट गठित वार्ता समितिका संयोजक एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डीन सह-प्राध्यापक खगेश्वर मण्डल, कानुन सङ्कायका सहायक डीन उपप्राध्यापक नेबल चौधरी र पाठ्यक्रम विकास केन्द्रका उपप्राध्यापक सुशील दाहालले हस्ताक्षर गरेका छन् ।
पछिल्लो अध्यावधिक: पुस १६, २०८२ २१:३६
