काठमाडौँ । के तपाईंको फेसबुकमा आज (१ जनवरी) धेरै साथीहरूको जन्मदिन परेको नोटिफिकेसन आएको छ ? सामान्यतया अन्य दिनमा फेसबुकमा पाँच-सात जनाको मात्र जन्मदिनको नोटिफिकेसन आउने गर्छ । तर, अङ्ग्रेजी नयाँ वर्ष अर्थात् १ जनवरीका दिन भने दर्जनौँ साथीहरूको जन्मदिन देख्ने गरेको अधिकांश फेसबुक प्रयोगकर्ताहरूको अनुभव छ ।
यसरी जन्मदिन देखिने साथीहरूको उमेर पनि उनीहरूको वास्तविक उमेरभन्दा धेरै बढी देखिने गरेको पाइन्छ । नयाँ वर्षकै दिन धेरैको जन्मदिन देखिने हुँदा वास्तवमै सोही दिन जन्मिएका साथीहरूलाई चिन्न र शुभकामना दिन समेत मुस्किल पर्ने गरेको छ ।
के वास्तवमै १ जनवरीमा धेरै मानिस जन्मिन्छन् त ?
वास्तवमा १ जनवरीमा धेरै मानिस जन्मिने भने होइनन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार १ जनवरी त वर्षकै सबैभन्दा कम जन्मदिन हुने दिनहरू मध्ये एक हो । डिसेम्बर २५ (क्रिसमस) देखि नयाँ वर्षसम्म बिदाको समय हुने भएकाले अस्पतालहरूले सर्जरीमार्फत हुने डेलिभरीका लागि यो समयमा अपोइन्टमेन्ट कम दिने गर्छन् । त्यसैले यो अवधिमा बच्चा जन्मिने दर अन्य समयको तुलनामा कम हुन्छ । नेपालमा पनि फेसबुकमा देखिए जस्तै यो दिन धेरै व्यक्ति जन्मिएको कुनै ठोस आधिकारिक तथ्याङ्क छैन ।
फेसबुकमा १ जनवरीमै धेरैको जन्मदिन देखिनुका पछाडि यस्ता कारणहरू छन्:
१. डिफल्ट सेटिङ मुख्य कारण
फेसबुकमा अधिकांशको जन्मदिन १ जनवरी पर्नुको मुख्य कारण यसको हो, डिफल्ट सेटिङ । नयाँ फेसबुक अकाउन्ट खोल्दा नाम र जन्मदिन लगायतका विवरण भर्नुपर्ने हुन्छ । अचेल फेसबुकले अकाउन्ट खोल्दा सोही दिनको मिति डिफल्टमा देखाउँछ, जसमा प्रयोगकर्ताले परिवर्तन गरेर आफ्नो वास्तविक जन्म मिति राख्नुपर्छ । तर, केही समय अघिसम्म फेसबुकको सिस्टममा '१ जनवरी १९८७' जस्ता मितिहरू डिफल्टका रूपमा राखिएका हुन्थे । सो मितिलाई परिवर्तन नगरी अकाउन्ट खोल्ने प्रयोगकर्ताहरूको जन्मदिन अहिले फेसबुकमा १ जनवरी देखिने गरेको हो ।
२. उमेर नपुगी फेसबुक खोल्दा
मेटाको आधिकारिक नियम अनुसार फेसबुक चलाउन कम्तीमा १३ वर्ष उमेर पूरा हुनुपर्छ । तर, तोकिएको उमेरभन्दा कमका बालबालिकाको पनि फेसबुक अकाउन्ट खोल्ने गरिन्छ । यस्तो अवस्थामा वास्तविक जन्म मिति राख्दा उमेर नपुगेर अकाउन्ट नखुल्ने भएकाले कतिपयले १३ वर्षभन्दा बढी उमेर देखाउन जनवरी १ को मिति रोज्ने गर्छन् । छनोट गर्न सजिलो हुने भएकाले पनि धेरैले यो मिति रोज्ने गरेका हुन् ।
३. गोपनीयताको कारण
कतिपय प्रयोगकर्ताहरू आफ्नो वास्तविक जन्म मिति जस्ता व्यक्तिगत जानकारी सामाजिक सञ्जालमा सार्वजनिक गर्न चाहँदैनन् । त्यसैले उनीहरूले फेसबुकले सुरुमा देखाउने डिफल्ट जन्म मितिलाई परिवर्तन नगरी छाडिदिन्छन् । गोपनीयता जोगाउन चाहनेहरूका लागि पनि १ जनवरी एउटा सहज विकल्प बनेको बुझ्न सकिन्छ ।
४. अङ्ग्रेजी जन्म मिति थाहा नहुँदा
नेपालमा विक्रम संवत् (वि.सं.) को क्यालेन्डर बढी प्रचलनमा छ । धेरै प्रयोगकर्तालाई आफ्नो वास्तविक जन्म मिति अङ्ग्रेजी क्यालेन्डर (ए.डी.) मा कुन दिन पर्छ भन्ने थाहा नहुन सक्छ । फेसबुकमा अङ्ग्रेजी मिति मात्र राख्न मिल्ने भएकाले कन्भर्ट गर्ने झन्झट नमानी धेरैले सजिलोका लागि महिना र गतेमा १ जनवरी नै राख्ने गरेको पाइन्छ ।
पछिल्लो अध्यावधिक: पुस १७, २०८२ १९:७
