close

१.४ खर्बमा स्टार्टअप बेचेर नेपाली हिमाल चढेका युवक- ‘धनी त भएँ, तर जीवनको उद्देश्य गुमाएँ’

टेकपाना टेकपाना

पुस १९, २०८२ १६:५४

१.४ खर्बमा स्टार्टअप बेचेर नेपाली हिमाल चढेका युवक- ‘धनी त भएँ, तर जीवनको उद्देश्य गुमाएँ’

काठमाडौँ । सन् २०१५ तिर तीन जना साथी जो थोमस, विनय हर्म्याथ र शाहेद खानले ‘लुम’ नामको स्टार्टअप सुरुवात गरे । जुम कल र स्ल्याक थ्रेड्सले दिने सीमित फिचरलाई चुनौती दिंदै यी युवाले भिडिओ मेसेजिङ प्लेटफर्म निर्माण गरेका थिए । यी सहसंस्थापकमध्ये विनय कोडरको भूमिकामा थिए । 

सबैको कडा मेहनतले लुप निकै चर्चित बन्यो । र, सन् २०२३ मा ‘लुम’लाई एट्ल्यासिएन नामक कम्पनीले ९७५ मिलियन डलर (एक खर्ब ४० अर्ब रुपैयाँ बढी) मा खरिद गर्‍यो ।

यसले तीनै जना सहसंस्थापकलाई निकै धनी बनायो । सानै उमेरमा स्टार्टअप सुरु गरेका उनीहरूका लागि त्यो निकै ठुलो सफलता थियो । 

तर, विनयले जे कुरालाई सफलता ठानेका थिए, जे कुरालाई स्वतन्त्रता ठानेका थिए त्यसैले नै उनलाई गम्भीर मोडमा पुर्‍याइदियो । त्यही विषम परिस्थितिका बीच विनय नेपालमा हिमाल चढ्न आएका थिए । उनै विनयले २ जनवरी २०२५ मा आफ्ना समग्र अनुभव यस ब्लगमार्फत राखेका छन् । पढ्नुहोस् नेपाली भावानुवाद:

“गएको एक वर्ष कस्तो कस्तो अलमलमै बित्यो । आफ्नो कम्पनी बेचेपछि म अहिले यस्तो ठाउँमा आइपुगेको छु जहाँ मैले अब जीवनभर कामै गर्नु पर्दैन । सायद यो कुरा धेरैलाई बुझाउन पनि गाह्रो छ । अहिले जे गरे पनि खासै अर्थ नभएको जस्तो लाग्छ, न त कुनै उत्साह नै छ । पहिले जस्तो पैसा कमाउने चाह वा नाम कमाउने भोक पनि हराइसक्यो । 

मसँग असीमित स्वतन्त्रता त छ । तर त्यसलाई के गर्ने भन्ने नै थाहा छैन । साँच्चै भन्नुपर्दा म जीवनलाई लिएर त्यति आशावादी पनि छैन । मलाई थाहा छ, यो सुन्दा धेरैलाई ‘सुखको गुनासो’ जस्तो लाग्न सक्छ । म यहाँ धाक लगाउन वा कसैको सहानुभूति पाउन यो लेखिरहेको छैन । साँचो भन्नुपर्दा, यो किन लेख्दैछु म आफैँलाई पनि ठ्याक्कै थाहा छैन । एउटा गतिलो कारण बनाउन त खोजेको थिएँ । तर आफैँलाई नाटक गरेजस्तो लाग्यो । जब आफ्नो जीवनकै कुनै उद्देश्य भेटिरहेको छैन भने एउटा ब्लग पोस्टको उद्देश्य खोज्नु पनि कस्तो विडम्बनाको कुरा !

त्यसैले आफ्नै मनको शान्तिका खातिर म आफ्नो अहिलेको अवस्था बताउँदैछु । इन्टरनेटमा नचिनेका मान्छेका अगाडि आफ्नो मनको बह यसरी निर्धक्क राख्नु अलि अप्ठ्यारो त हुन्छ नै, तैपनि म कोसिस गर्दैछु । यसबाट के हुन्छ, मलाई थाहा छैन ।

रेडउडको जङ्गल र ६ करोड डलरको त्याग

गएको मार्च (२०२४ मार्च) तिर म जीवनमा के गर्ने भनेर निकै अलमलमा थिएँ । त्यही कर्पोरेट राजनीति, सुस्त काम गर्ने तरिका र मेसिन जस्ता सहकर्मीले गर्दा मेरो कम्पनी किनेको त्यो नयाँ ठाउँमा बस्न मलाई कत्ति पनि मन थिएन । तर ६ करोड डलरको अफर छोड्न पनि निकै गाह्रो भइरहेको थियो । मसँग पहिले नै पुग्दो पैसा त थियो । तर यति ठुलो रकमको कुरा आउँदा दिमागले अर्कै खेल खेल्न थाल्दो रहेछ ।

त्यसैले दिमागलाई शान्त पार्न र केही निर्णय लिन म रेडउडका जङ्गलतिर घुम्न निस्किएँ ।

त्यहाँ पहिलो हाइकिङ सुरु गरेको ५ मिनेटमै मलाई ती ठुला रुखहरूले एउटा सरल कुरा सिकाए जस्तो लाग्यो ।

‘यदि स्वतन्त्रता मिल्दैन भने पैसाको के अर्थ ?’

‘समय भन्दा बहुमूल्य अरू कुरा के नै हुन सक्छ र ?’

म केही नयाँ गर्नका लागि बाहिर निस्कन चाहन्थेँ । जेसुकै होस्, तर म फेरि एकपटक जीवित भएको महसुस गर्न चाहन्थेँ । वास्तवमा मलाई के गर्ने भन्ने केही थाहा थिएन । तर म सबैलाई ‘मलाई सबथोक थाहा छ’ भन्ने महसुस गराउन मरिहत्ते गरिरहेको थिएँ । यो सबै मेरो अहंकार र अज्ञात भविष्यमा पाइला चाल्ने डरको कारणले थियो । जब तपाईं आफ्नो जीवनको एक दशक कुनै एउटै काममा बिताउनुहुन्छ, तब आफू अभ्यस्त भएको त्यो निश्चितता र उद्देश्यलाई चटक्कै छोड्न निकै गाह्रो हुने रहेछ ।

रोबोटिक्स र ‘एलन मस्क’ बन्ने भूत

त्यो १० वर्षे लामो यात्राबाट निस्किएको दुई हप्तामै म बौलाहा जस्तै भएर ७० जनाभन्दा बढी लगानीकर्ता र रोबोटिक्सका सञ्चालकलाई भेट्न हिँडेँ । मलाई लागेको थियो, “अब म रोबोटिक्समै केही गर्छु ।” 

मैले आफैँलाई ढाँट्न ठुला-ठुला गफ पनि तयार पारेको थिएँ:

‘संसारमा काम गर्ने मान्छेको ठुलो अभाव छ !’

‘हामीले चीनसँग प्रतिस्पर्धा गर्नैपर्छ !’

‘यो त खर्बौं डलरको मार्केट हो !’

तर ती दुई हप्ताको दौडधुपपछि मलाई एकदमै रित्तो र मूर्ख महसुस भयो । साच्चै भन्नुपर्दा मलाई कुनै रोबोटिक्स कम्पनी खोल्नु नै थिएन । मलाई त केवल एलन मस्क जस्तै ‘कुल’ देखिनु थियो । यो कुरा यहाँ लेखिरहँदा पनि मलाई आफैँसँग लाज लागिरहेको छ ।

प्रेमिकासँगको ब्रेकअप र आफ्नै कमजोरीको बोध

रोबोटिक्स कम्पनी सुरु नगर्ने निर्णयपछि म आफूलाई दिशाहीन महसुस गर्न थालेँ । मेरो जीवनको कुनै निश्चित लक्ष्य थिएन । त्यसपछि मैले आफ्नी प्रेमिकासँग धेरै सुन्दर ठाउँ घुमेँ । ती छ महिनाका अनुभवमा धेरै कुरा लेख्न सकिन्छ । तर त्यसको निचोड एउटै थियो; ‘मलाई केही पनि सही भइरहेको जस्तो लागिरहेको थिएन ।’

हामी बीच स-साना कुरामा झगडा हुन थाल्यो । मलाई थाहा छ, यसमा उनको नभई मेरै गल्ती थियो । विगत केही वर्षदेखि मैले आफूभित्र दबाएर राखेका कमजोरी र असुरक्षाहरू बिस्तारै बाहिर आउन थालेका थिए । उनीसँगै बसेर म यी कमजोरी सुधार्न सक्दिनँ जस्तो लाग्यो । त्यसैले झन्डै दुई वर्षको निस्वार्थ प्रेमपछि मैले ब्रेकअप गर्ने निर्णय गरेँ । यो निकै पीडादायी थियो । तर मेरो लागि यो सही निर्णय थियो । मलाई पूर्ण रूपमा आफैँले आफैँलाई सामना गर्नु थियो ।

मैले अहिले आएर महसुस गर्दैछु, लुमको सुरुवाती दिनमा म आफ्नो जीवनलाई लिएर निकै ढुक्क र सुरक्षित थिएँ । म जे गरिरहेको थिएँ, त्यसप्रति म विश्वस्त थिएँ । आफैँप्रति कृतज्ञ थिएँ । कम्पनीको प्रगति मैले सोचेभन्दा पनि राम्रो थियो । म त्यसैमा खुसी र सन्तुष्ट थिएँ । भोलि सबथोक बर्बाद नै भइहाले पनि मलाई स्वीकार्य हुन्थ्यो ।

तर, जब कम्पनीले उचाइ लिँदै गयो, मसँग मेरो आफ्नै र अरूको पनि मप्रतिको अपेक्षा बढ्दै गयो । जब कम्पनीमा पहिलोपटक कर्मचारी कटौती भयो, मेरो अहंकार जोडिएको त्यो संस्थामा ठुलो धक्का लाग्यो र मैले आफूलाई नै गुमाएको महसुस गरेँ । लुमको त्यो अध्यायले मभित्र यस्तो जटिल मनोवैज्ञानिक असुरक्षा पैदा गरिदियो जसलाई सुल्झाउन म अहिले कडा संघर्ष गरिरहेको छु ।

(यदि मेरी पूर्व प्रेमिकाले यो पढ्दै छिन् भने: सबै कुराका लागि धन्यवाद । तिमीले मबाट जे अपेक्षा राखेकी थियौ, म त्यस्तो बन्न नसकेकोमा माफी चाहन्छु ।)

हिमालयको आरोहण र कठिन चुनौतीको महसुस

ब्रेकअपपछिको मानसिक तनावलाई बाहिर निकाल्न मैले एउटा अनौठो र साहसी निर्णय गरेँ । त्यो थियो ‘कुनै अनुभव वा तालिम बिना नै नेपालका ६८०० मिटर अग्लो चुचुरो चढ्ने’ । (हिमाल चढ्न उनी अक्टोबर २०२४ मा नेपाल आएका थिए । उनले आमा दब्लन (६८१२ मिटर) र लोबुचे हिमाल (६११९ मिटर ) चढेका थिए । त्यस क्रममा उनी जीवनमरणको संघारमा पुग्दा नेपाली शेर्पा गाइड गेल्बु शेर्पाले बचाएका थिए ।)