जोमाटोका संस्थापक तथा सीईओ दीपिन्दर गोयलको कन्चटमा देखिएको यो कस्तो डिभाइस हो ?
पुस २२, २०८२ ११:२६
काठमाडौँ । भारतको फुड डेलिभरी कम्पनी जोमाटोका संस्थापक तथा सीईओ दीपिन्दर गोयल हालै राज समानीको एउटा पडकास्टमा देखिएपछि सामाजिक सञ्जालमा एउटा नयाँ बहस सुरु भएको छ । उक्त पडकास्टमा उनको दायाँ कन्चटमा टाँसिएको एउटा सानो चाँदी रङ्गको डिभाइसले धेरैको ध्यान खिचेको छ । आखिर के हो त यो डिभाइस र यसले कसरी काम गर्छ ?
यो डिभाइसको नाम टेम्पल (Temple) राखिएको छ, जुन अहिले परीक्षणकै चरणमा (प्रोटोटाइप) रहेको एउटा अत्याधुनिक हेल्थ-टेक (स्वास्थ्य प्रविधि) उपकरण हो । दीपिन्दर गोयलका अनुसार यो स्मार्ट वाच वा स्मार्ट रिङको एक एड्भान्स भर्सन जस्तै हो, जसले मस्तिष्कमा हुने रक्तप्रवाहलाई निरन्तर अनुगमन गर्दछ । उनले यसलाई मस्तिष्कको गतिविधि ट्र्याक गर्ने सानो एमआरआई डिभाइसका रूपमा पनि व्याख्या गरेका छन् ।
यो डिभाइस विशेष गरी कन्चटमा टाँसिन्छ । किनभने त्यहाँका सूक्ष्म रक्तनलीहरू पातला, बाक्ला र छालाको धेरै नजिक हुन्छन् । जसले गर्दा मुटुको चाल वा हातको नाडीको तुलनामा मस्तिष्कको रक्तप्रवाहको सही सङ्केत प्राप्त गर्न सजिलो हुन्छ । यो डिभाइस लगाउन सजिलो छ र यसमा सात दिनसम्म टिक्ने ब्याट्री जडान गरिएको छ । यो पूर्णतया वाटरप्रूफ भएकोले पौडी खेल्दा वा नुहाउँदा पनि लगाउन सकिन्छ ।
यो डिभाइस एउटा नयाँ वैज्ञानिक परिकल्पनामा आधारित छ, जसलाई ग्राभिटी एजिङ हाइपोथेसिस (जीएएच) भनिन्छ । मानिस बुढो हुनुको एउटा मुख्य कारण पृथ्वीको गुरुत्वाकर्षण (ग्राभिटी) हुन सक्ने गोयलको तर्क छ ।
यो अवधारणा अनुसार मानिसको मस्तिष्क मुटुभन्दा माथि हुने भएकाले गुरुत्वाकर्षण विरुद्ध मुटुले मस्तिष्कमा रगत पठाउन बढी मिहिनेत गर्नुपर्छ । यस प्रक्रियामा मस्तिष्कले पर्याप्त रगत वा अक्सिजन नपाउँदा समयसँगै मस्तिष्कमा सामान्य क्षति पुग्छ ।
मस्तिष्कको यही क्षति नै अन्ततः शरीर बुढो हुँदै जानुको मुख्य कारण बन्न सक्छ । गोयलले यस अवधारणाको विकास र अनुसन्धानका लागि ठुलो लगानी गरेका छन् । उनले यो डिभाइसलाई एउटा बायोमार्करका रूपमा प्रयोग गरिरहेका छन्, जसले कुन व्यवहार वा क्रियाकलापले मस्तिष्कमा रक्तप्रवाह बढाउँछ वा घटाउँछ भन्ने जानकारी दिन्छ ।
यद्यपि, यो डिभाइस र यसको सिद्धान्तलाई चिकित्सा क्षेत्रका विज्ञहरूले भने शङ्काको घेरामा राखेका छन् । एम्सका डाक्टर दत्ताले सामाजिक सञ्जालमा पोस्ट गर्दै यस्तो डिभाइस र अनुसन्धानको कुनै पनि वैज्ञानिक आधार नभएको र यो केवल अर्बपतिहरूको खेलौना मात्र भएको टिप्पणी गरेका छन् । कतिपयले यसलाई सुडो-साइन्स' (छद्म-विज्ञान) को संज्ञा समेत दिएका छन् ।
As a physician-scientist and one of the earliest researchers in India in Arterial Stiffness and Pulse Wave Velocity (2017) which predicts cardiovascular mortality, I can assure you that this device currently has 0 scientific standing as a useful device and do not waste your hard… https://t.co/pm0pxGRycd
— Dr. Datta M.D. (AIIMS Delhi) (@DrDatta_AIIMS) January 4, 2026
आइरहेका आलोचना प्रति लक्षित गर्दै गोयलले यो अहिले केवल एउटा परिकल्पना मात्र भएको र आफूले विश्वभरका वैज्ञानिकहरूलाई यसमा थप अनुसन्धान गर्न आह्वान गरेको बताएका छन् । उनले यस विषयमा छलफल गर्न कतिपय आलोचकहरूलाई निमन्त्रणा दिए पनि उनीहरूले अस्वीकार गरेको दाबी गरेका छन् ।
दीपिन्दर गोयलका अनुसार यो डिभाइस पैसा कमाउनका लागि नभई आफ्नो व्यक्तिगत जिज्ञासा र मानव स्वास्थ्यको आयु बढाउने उद्देश्यले निर्माण गरिएको हो । हाल यो डिभाइस सार्वजनिक बिक्रीका लागि उपलब्ध छैन । तर यसले भविष्यको हेल्थ-टेक क्षेत्रमा कस्तो प्रभाव पार्छ भन्ने कुरा यसको क्लिनिकल परीक्षणको नतिजाले नै देखाउनेछ ।
पछिल्लो अध्यावधिक: पुस २२, २०८२ ११:२६
