close

सौरभ द्विवेदीले किन छोडे इन्डिया टुडेको ‘द लल्लन टप’ ?

टेकपाना टेकपाना

पुस २२, २०८२ १५:४२

सौरभ द्विवेदीले किन छोडे इन्डिया टुडेको ‘द लल्लन टप’ ?

काठमाडौँ । हिन्दी डिजिटल पत्रकारितामा एकछत्र राज गरेका र 'द लल्लन टप' का संस्थापक सम्पादक सौरभ द्विवेदीले इन्डिया टुडे ग्रुपबाट राजीनामा दिएका छन् । झन्डै १२ वर्ष लामो सहकार्य अन्त्य गर्दै उनले चर्चित युट्युब च्यानल तथा डिजिटल प्लेटफर्म छोडेका हुन् ।

द्विवेदीको राजीनामाको घोषणासँगै सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजीहरू सुरु भएका छन् । २ जनवरी, २०२६ मा प्रसारित उनको शो निकै आक्रामक थियो । उक्त शोमा उनले मध्य प्रदेशको भाजपा सरकारलाई इन्दोरमा प्रदूषित पानीका कारण भएको मृत्युका विषयमा कडा प्रश्न सोधेका थिए ।

साथै, उनले बीसीसीआईको कार्यशैली र शाहरुख खानको टोली कोलकाता नाइट राइडर्ससँग जोडिएको विवादमा पनि प्रश्न उठाएका थिए । कतिपयले द्विवेदीको सोही शोलाई उनले द लल्लन टप छोड्नुको कारण भएको दाबी सामाजिक सञ्जालमा गरिरहेका छन् ।

सौरभको बहिर्गमनपछि 'द लल्लन टप' को सम्पादकीय नेतृत्व संस्थापक टोलीकै सदस्य कुलदीप मिश्रले सम्हाल्ने भएका छन् । त्यस्तै, प्रोडक्सन टोलीको नेतृत्व रजत सैनले गर्नेछन् । कुलदीप मिश्र यसअघि लल्लन टपका कार्यकारी सम्पादक थिए र नेतानगरी जस्ता चर्चित कार्यक्रमहरू सञ्चालन गर्दै आएका थिए ।सन् २०१३ मा इन्डिया टुडे ग्रुप आबद्ध भएका उनले सन् २०१६ मा द लल्लन टपको स्थापना गरेका थिए । उनी आफ्नो मौलिक हिन्दी शैली र राजनीतिक नेताहरूसँगको गहिरो अन्तर्वार्ताका लागि चिनिन्छन् ।

सौरभले आफ्नो आगामी योजनाबारे स्पष्ट खुलाएका छैनन् । तर उनले केही समयको अध्ययन विदापछि नयाँ लक्ष्यका साथ अघि बढ्ने सङ्केत दिएका छन् । 

 

 

समाचार शीर्षक तथा सामग्री सम्पादन गरिएको छ । -स.

पछिल्लो अध्यावधिक: पुस २२, २०८२ १६:५४