'ब्वाइफ्रेन्ड हुँ' भन्नेमाथि किशोरीले हालिन् साइबर अपराध र बलात्कारको मुद्दा
पुस २३, २०८२ ९:४३
काठमाडौँ । कलेज पढ्ने क्रममा चिनजान भई प्रेम सम्बन्धमा रहेको दाबी गर्ने एक २० वर्षीय युवकविरुद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणी र साइबर अपराधको मुद्दा दायर गरेकी छिन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले सर्लाही घर भई हाल काठमाडौँको शङ्खरापुरमा बस्ने दिपेशकुमार गिरी विरुद्ध मङ्गलबार काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो ।
प्रहरीका अनुसार दिपेश र पीडित किशोरी शङ्खरापुर बहु-प्राविधिक शिक्षालयमा अध्ययनरत थिए । दिपेश डिप्लोमा तेस्रो वर्षमा र किशोरी पहिलो वर्षमा पढ्ने क्रममा उनीहरूबिच चिनजान र बोलचाल सुरु भएको थियो । अभियोग पत्रका अनुसार २०८१ साल असोज महिनामा दिपेशले ती किशोरीलाई विभिन्न प्रलोभन देखाई आफ्नो कोठामा लगेर पहिलो-पटक उनको इच्छा विपरीत जबरजस्ती करणी गरेका थिए । सो समयमा दिपेशले मोबाइलबाट किशोरीको आपत्तिजनक फोटो र भिडिओ समेत खिचेका थिए ।
त्यसपछि दिपेशले ती फोटो र भिडिओ सामाजिक सञ्जालमा राखिदिने र बेइज्जत गरिदिने भन्दै किशोरीलाई निरन्तर ब्ल्याकमेलिङ गर्न थाले । उनले पटक-पटक किशोरीलाई डर र त्रास देखाई आफ्नो कुरा मान्न बाध्य पारेको पीडितको बयानमा उल्लेख छ । यसै डरका कारण किशोरीले उक्त कलेज छोडेर ६ महिना अगाडि मात्रै गोकर्णेश्वरको अर्को विद्यालयमा कक्षा ११ मा भर्ना लिएकी थिइन् । तर, कलेज परिवर्तन गरेपछि पनि दिपेशले उनलाई पिछा गर्न र धम्काउन छोडेनन् ।
घटनाले उग्र रूप तब लियो, जब १७ मङ्सिर २०८२ मा दिपेशले "तिम्रो फोटो र भिडिओ तिम्रै अगाडि डिलिट गरिदिन्छु" भन्दै किशोरीलाई फेरि आफ्नो कोठामा बोलाए । पीडितका अनुसार दिपेशले भिडिओ डिलिट गर्नुको साटो पुन: जबरजस्ती गर्न खोजे । किशोरीले प्रतिकार गर्दा दिपेशले उनलाई बलिरहेको चुरोटले दायाँ हातमा पोलेर शारीरिक र मानसिक यातना दिएका थिए ।
उनले पीडितको नग्न तस्बिर आफ्नो फेसबुक र टिकटकमा पोस्ट गरी किशोरीको चरित्रहत्या गरेको समेत प्रहरीको मिसिलमा उल्लेख छ ।
गिरीले भने अध्ययनका क्रममा जाहेरवाला किशोरीसँग चिनजान भएको र पछि फेसबुक तथा टिकटकमा साथी बनेर कुराकानी हुन थालेको बताएका छन् । उनले आफूले प्रेम प्रस्ताव राखेको र किशोरीले स्वीकार गरेपछि प्रेम सम्बन्ध रहेको दाबी समेत गरेका छन् ।
किशोरी आफ्नो कोठामा आएको बेला दुवै जनाको सहमतिमा शारीरिक सम्बन्ध भएको र सोही समयमा किशोरीकै मोबाइलबाट भिडिओ समेत बनाएको बयान उनले दिएका छन् । उनले आफूहरूले एक-अर्काको सामाजिक सञ्जालको पासवर्ड समेत आदान-प्रदान गरेको बताएका छन् ।
उनीहरूबिचको सम्बन्ध किशोरीको परिवारले थाहा पाएपछि परिवारले मोबाइल खोसेको र उनलाई अर्कै कलेजमा भर्ना गरिदिएको गिरीको बयानमा उल्लेख छ । त्यसपछि उनीहरूबिच ह्वाट्सएपमार्फत कुराकानी हुने गरेको र किशोरीले आफ्नो शरीरको नग्न फोटो पठाएको उनले दाबी गरेका छन् ।
किशोरीले आफूसँग कुरा गर्न छाडेपछि उनलाई कुरा गर्न बाध्य पार्नका लागि 'तिम्रो अश्लील फोटो र भिडियो सामाजिक सञ्जालमा हालिदिन्छु' भनी ह्वाट्सएपबाट धम्की पठाएको कुरा भने उनले स्वीकार गरेका छन् । साथै, उनले किशोरीको नाङ्गो फोटो आफ्नो फेसबुक स्टोरीमा पोस्ट गरेको कुरा पनि बयानमा स्वीकारेका छन् ।
अभियुक्त गिरीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ र विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम सजाय गर्न माग गरिएको छ । पीडितको उमेर घटनाको समयमा १६ देखि १८ वर्षको बीचमा रहेकाले सोही अनुसारको कैद र जरिबानाको मागदाबी लिइएको छ ।
अदालतबाट अभियोग प्रमाणीत भएमा गिरीलाई मुलुकी अपराध संहिता अनुसार दशदेखि १२ वर्षसम्म कैद, पाँच लाख रुपैयाँ जरिबानाका साथै विद्युतीय कारोवार ऐन २०६३ अनुसार थप एक लाख रुपैयाँ सम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।
पछिल्लो अध्यावधिक: पुस २३, २०८२ १४:२१
