close

टी-२० विश्वकपमा नअटाएका क्रिकेटरको सामाजिक सञ्जाल, कोही निराश, कोही शान्त अनि कोही असन्तुष्ट

टेकपाना टेकपाना

पुस २३, २०८२ १९:२४

टी-२० विश्वकपमा नअटाएका क्रिकेटरको सामाजिक सञ्जाल, कोही निराश, कोही शान्त अनि कोही असन्तुष्ट

काठमाडौँ । क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) ले मङ्गलबार आगामी टी-२० विश्वकपको स्क्वाड सार्वजनिक गर्‍यो । जसमा यसअघि क्लोज क्याम्पमा रहेका मध्येबाट १५ जना खेलाडी समेटिएको छ । यससँगै नौ जना खेलाडीले विश्वकप खेल्ने मौका कम्तीमा यस पटकका लागि गुमाएका छन् । 

रोहित पौडेल, दिपेन्द्र ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम टिममा समेटिए । तर कुशल मल्ल, आदिल आलम अन्सारी, शाहब आलम, भीम शार्की, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिष जीसी, इशान पाण्डे र रुपेश सिँह भने टिमबाट बाहिरिए । 

स्क्वाडमा नपरेसँगै बाहिरिने धेरैजसो खेलाडीहरू सामाजिक सञ्जालमा अभिव्यक्त भए । कतिले असन्तुष्टि प्रकट गरेका छन् भने कतिपयले निराशा व्यक्त गरेका छन् ।

कुशल मल्लले “हामी त यस्तै हो ब्रो, कसले के गर्दैछन्, हेर्दैनम् हो” नामक भीटेनको गीत राख्दै इन्स्टाग्राममा आफ्नो एउटा फोटो पोस्ट गरेका छन् । आदिल आलम अन्सारीले भने फेसबुक पोस्ट र स्टोरीमा राष्ट्रिय क्रिकेट टिमको फोटो राख्दै शुभकामना दिएका छन् । 

 

उता साहब आलमले भने फेसबुकमा निराशा र असन्तुष्टि पोखेका छन्, “कसलाई दोष दिउँ-भाग्यलाई कि आफूलाई ?”  ​

भिम शार्कीले कप्तान रोहित पौडेलको क्याफेमा अन्य साथीसँगै भएको फोटो राख्दै विश्वकपका लागि शुभकामना दिएका छन् ।

 


विनोद भण्डारीले आफ्नो इन्स्टाग्राम स्टोरीमा डाउनलोड गरिएको एक टिकटक भिडिओ राखेका छन् । जसमा धर्मगुरु प्रेमानन्दजी महाराज नामक हिन्दु गुरुले भनिरहेका छन्, “हरेक कुरा सहनेछु, जिन्दगीमा कसैसँग त के तपाईँसँग पनि गुनासो गर्ने छैन । पूरा जीवन कष्टमय छ । तर हरेक कुरामा, हरेक स्थितिमा मुस्कुराउन सिकेको छु । तपाईँले दिनुभएको दुःख मेरा लागि सुखभन्दा पनि बढी छ । बस मस्ती... मस्ती । मृत्युको दुःख छ, तर मस्ती छ । र यही भगवानबाट प्राप्त गरेको छु । यही भगवानको चरणहरूबाट प्राप्त गरेको छु, कि हरेक परिस्थितिमा मुस्कुराउनु । हरेक परिस्थितिमा तपाईँको 'जय' भन्नेछ । मर्न गइरहेको भए पनि बोल्नेछु 'तपाईँको जय होस्' र अनि प्राण त्याग्नेछु । मस्त रहनु। यी सानातिना कुराहरू, सानातिना दुःख, सानातिना घबराहटका कुराहरू आए... र हाम्रो भक्ति क्षीण हुँदैछ, हाम्रो भाव बिग्रँदैछ... भने अझै मस्ती आएको छैन । जब मस्ती आउँछ, हरेक दुःखहरूलाई कुल्चिँदै आफ्नो प्यारा तर्फ अघि बढिन्छ, त्यसैलाई मस्ती भनिन्छ । हैन त ? हो नि एकदम । मस्त रहनुहोस् । यो मनुष्य जीवन हाय-हाय गर्नको लागि मिलेको होइन । धेरै मस्त हुनको लागि मिलेको हो । तर मस्तीको रहस्य त्यस सच्चिदानन्दमा स्थित भएर..।”

 

अविनाश बोहराले अर्का क्रिकेटर हेमन्त धामीको स्टोरी शेयर गरेका छन्, जसमा एउटा अडियो पनि सुनिन्छ "देखो ना देखो ना गाइज, ये क्या है गाइज, उफ् बहुत थक गया हुँ ।" 

त्यस्तै प्रतिश जीसीले अर्धनग्न अवस्थामा देखिने आफ्नै फोटो इन्स्टाग्राममा पोस्ट गर्दै क्याप्सनमा लेखेका छन्, “बाल हो ।”

डा. इशान पाण्डेय, रुपेश सिंह लगायतले भने यस विषयमा सामाजिक सञ्जालमा केही पोस्ट गरेको देखिँदैन ।  

पछिल्लो अध्यावधिक: पुस २३, २०८२ २२:२३