अटिजमसँग जुध्न खल्तीको सीटीओबाट बाहिरिका अधिकारीले ल्याए ‘सनफ्लावर इक्विटी पार्टनर्स’
पुस २४, २०८२ १०:५४
काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीका सह-संस्थापक ध्रुव अधिकारीले ‘सनफ्लावर इक्विटी पार्टनर्स’को अवधारणा अघि सारेका छन् । केही समय अघि मात्र खल्तीको प्रमुख प्रविधि अधिकृत (सीटीओ) बाट राजीनामा दिएका उनले राष्ट्रिय स्तरको अटिजम एक्सिलेन्सी सेन्टर निर्माण गर्ने उद्देश्य सहित ‘सनफ्लावर इक्विटी पार्टनर्स’ ल्याएका हुन् ।
मङ्गलबार लिङ्क्डइनमा एक पोस्ट राख्दै उनले भनेका छन्, “देशकै सबैभन्दा ठुलो मध्येको एक फिनटेक कम्पनीको कार्यकारी भूमिकाबाट अलग भएपछि पनि मेसेजहरू आउन रोकिएका छैनन् । प्रश्न सधैँ एउटै हुन्छ- ‘यति सम्मानित करिअर छोडेर किन फरक बाटो रोज्नु भयो ?’ त्यसको उत्तर हो, ‘दृढ विश्वास’ र दृढ विश्वासका लागि पनि एउटा मूल्य चुकाउनु पर्छ ।”
पछिल्लो समयमा ‘आरएक्सपिन स्पेक्ट्रम पाथवेज्’, ‘सनफ्लावर स्पेक्ट्रम बाइ आरएक्सपिन’ मार्फत अटिजम क्षेत्रमा काम गर्दाको अनुभवले सनफ्लावर इक्विटी पार्टनर्स सञ्चालनमा ल्याउने निर्णयमा पुगेको उनले बताएका छन् । जसले अटिजम क्षेत्रको लागि एउटा विश्वविद्यालय जस्तो केन्द्र तयार पारेर सम्पूर्ण काम एकै ठाउँबाट सञ्चालनमा ल्याउने उद्देश्य राखेको छ ।
अधिकारीले टेकपानासँग भने, “अटिजमको लागि थेरापीदेखि वैज्ञानिक अनुसन्धानसम्मको काम एकै ठाउँबाट सञ्चालनमा ल्याउने उद्देश्य हो । यसका लागि सनफ्लावर इक्विटी पार्टनरले जनस्तरबाट लगानी जुटाउने काम गर्नेछ ।”
स्प्यारो एसएमएस हुँदै खल्तिको सह-संस्थापक रहेका अधिकारी पछिल्लो १६ वर्षदेखि नेपाली प्रविधि क्षेत्रमा सक्रिय छन् । प्रविधि क्षेत्रको काम गरिरहँदा आफ्नै परिवारका कारण अटिजम क्षेत्रको बारेमा आफ्नो रुचि बढेको उनी बताउँछन् । उनले भने, “मेरो परिवारको सदस्यमा पनि अटिजमको समस्या छ । त्यसैले यो क्षेत्रमा अध्ययन गर्दै जाँदा यसमा काम गर्ने रुचि बढ्यो ।”
अटिजम क्षेत्रका लागि आवश्यक पर्ने प्रविधि तयार पार्न तीन वर्ष पहिले आरएक्सपिन स्पेक्ट्रम पाथवेज् प्राली नामक कम्पनी सुरुवात गरेको उनले बताए । उक्त कम्पनीले अटिजमसँग सम्बन्धित क्षेत्रका लागि आवश्यक पर्ने सफ्टवेयर लगायतका प्रविधि तयार पार्दै आएको छ ।
यस्तै सनफ्लावर स्पेक्ट्रम बाइ आरएक्सपिन नामक कम्युनिटी इम्प्याक्ट पोर्टलले अटिजम भएका बालबालिकाका अभिभावक तथा थेरापिस्टहरूलाई एउटै प्लेटफर्ममा जोड्ने काम गरेको छ ।
हरेक दिन जन्मिरहेका दुई प्रतिशत बालबालिकाहरूमा अटिजमको समस्या देखिने गरेको अधिकारी बताउँछन् । तर, अटिजमका केही क्षेत्रमा मात्र काम गर्दा ठुलो प्रभाव पार्न सक्ने नदेखिएको उनले बताए । त्यसैले सबै समस्याको समाधान एकै ठाउँबाट हुने संरचना तयार पार्नुपर्ने आवश्यकता देखेको उनले सुनाए ।
त्यसैले दुई/तीन वर्ष समय लिएर नेपालमा अटिजम सम्बन्धी एक्सिलेन्सी सेन्टर निर्माण गर्न आवश्यक पर्ने लगानी जुटाउन सनफ्लावर इक्विटी सेन्टर सुरु गरेको उनले बताए । उक्त क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिहरूलाई आफूसँग जोडिन समेत उनले आग्रह गरेका छन् ।
पछिल्लो अध्यावधिक: पुस २४, २०८२ १०:५४
