काठमाडौँ । सोमबार ५० लाख नेपाली प्रयोगकर्ताको व्यक्तिगत मोबाइल नम्बर दुरुपयोग गर्दै एसएमएस आतङ्क मच्चाइयो । टेलिकम कम्पनीको एसएमएस प्रणाली दुरुपयोग गरी राजनीतिक स्वार्थमा यति ठुलो घटना हुँदा समेत नियामक नेपाल दूरसञ्चार प्राधिकरण भने मौन छ ।
बरु नेपाल टेलिकमले एक सूचना जारी गर्दै यस घटनाबारे आफैँ स्पष्टीकरण दिएको छ । आफूहरूले ग्राहकको डेटा कसैलाई नदिएको भन्दै कम्पनी जिम्मेवारीबाट पन्छियो । तर नियामकले यस सम्बन्धी कुनै सार्वजनिक सूचना वा अपिल नै जारी गर्न आवश्यक ठानेन ।
मङ्गलबार साँझसम्म प्राधिकरणको वेबसाइटमा एसएमएस आतङ्कलाई सम्बोधन गर्ने कुनै सूचना प्रकाशित भएको छैन । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालसँग सम्पर्क गर्दा यस विषयमा छलफल चलेको भए पनि अहिलेसम्म कुनै सूचना भने प्रकाशन नगरिएको स्पष्ट पारे ।
तर प्राधिकरण अध्यक्ष भूपेन्द्र भण्डारीले भने आफ्नो निजी ह्वाट्सएप अकाउन्टको स्टोरीमा यसप्रति सरोकार व्यक्त गरेको देखियो । आधा अधुरो जस्तो देखिने उनको स्टोरीमा लेखिएको थियो-
"अनाधिकृत रूपमा मोबाइल नम्बर प्रयोग गरिएकोप्रति गम्भीर आपत्ति: हालै म सहित धेरे नागरिकहरूको मोबाइल नम्बरमा कुनै पनि पूर्व जानकारी, सहमति वा अनुरोधबिना यस प्रकारका सन्देशहरू (SMS) आइरहेका छन् । मुख्य प्रश्नहरू: हाम्रो व्यक्तिगत मोबाइल नम्बर यसरी कसरी संकलन गरियो? कुन व्यक्ति, संस्था वा प्रणालीमार्फत ह"
यस्तै किसिमको एसएमएस आतङ्क जेनजी आन्दोलनका क्रममा समेत मच्चाइएको थियो । तर हालसम्म उक्त घटनामा जिम्मेवार व्यक्ति पहिचान गर्ने र कारबाहीको दायरामा ल्याउने काम भएको छैन ।
*समाचार शीर्षक अपडेट गरिएको छ । -स.
पछिल्लो अध्यावधिक: पुस २९, २०८२ २०:२०
