close

एमफिल र मास्टर्सका विद्यार्थीलाई थेसिस गर्न अनुसन्धान अनुदान दिँदै कामना सेवा विकास बैंक

टेकपाना टेकपाना

पुस ३०, २०८२ १९:०

एमफिल र मास्टर्सका विद्यार्थीलाई थेसिस गर्न अनुसन्धान अनुदान दिँदै कामना सेवा विकास बैंक

काठमाडौँ । कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर तहमा अध्ययनरत शोधकर्ता विद्यार्थीहरूलाई अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ । बैंकले अर्थशास्त्र, व्यवस्थापन, कम्प्युटर साइन्स र सूचना प्रविधि विषयमा थेसिस गरिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै यो कार्यक्रम ल्याएको हो ।

एमफिल गरिरहेका दुई जना विद्यार्थीलाई जनही एक लाख रुपैयाँका दरले र स्नातकोत्तर तहका चार जना विद्यार्थीलाई जनही ५० हजार रुपैयाँका दरले अनुसन्धान अनुदान उपलब्ध गराउने बैंकले जनाएको छ । एमफिलतर्फ अर्थशास्त्र र व्यवस्थापन तथा स्नातकोत्तरतर्फ व्यवस्थापन, अर्थशास्त्र र सूचना प्रविधि संकायका विद्यार्थीहरूले यसमा आवेदन दिन सक्नेछन् ।

अनुदान प्राप्त गर्नका लागि इच्छुक विद्यार्थीले सम्बन्धित कलेजको सिफारिससहित आगामी १४ मार्च २०२६ भित्र बैंकसमक्ष आफ्नो शोध प्रस्तावना (प्रोपोजल) पेस गर्नुपर्नेछ । प्राप्त प्रस्तावनामध्येबाट सम्बन्धित विषयका विज्ञहरू सम्मिलित छनोट समितिले योग्य विद्यार्थीहरूको छनोट गर्ने बैंकले जनाएको छ । विद्यार्थीहरूले गर्ने शोध कार्य मौलिक हुनुपर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिकोणले भरपर्दो र प्रमाणित गर्न सकिने तथ्याङ्कमा आधारित हुनुपर्ने अनिवार्य सर्त राखिएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट विश्वविद्यालयका विद्यार्थीहरूलाई शोध र अनुसन्धानका लागि फेलोसिप वा रिसर्च ग्रान्ट प्रदान गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको सोही व्यवस्था बमोजिम अनुसन्धान अनुदान घोषणा गर्ने कामना सेवा विकास बैंक पहिलो वित्तीय संस्था भएको बैंकको भनाइ छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले यस अनुदानले एमफिल र स्नातकोत्तर तहमा अध्ययनरत र विशेष गरी बैंकिङ तथा अर्थतन्त्रको क्षेत्रमा नयाँ तथ्यहरू खोज्न चाहने विद्यार्थीहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

अनुदान सम्बन्धी थप विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ ।

 

पछिल्लो अध्यावधिक: पुस ३०, २०८२ १९:२०