फिल्म निर्माणमा दक्ष जनशक्ति उत्पादन गर्न केयूले ल्यायो स्नातकोत्तर तहमा नयाँ शैक्षिक कार्यक्रम
माघ १, २०८२ ९:१
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले पहिलो पटक चलचित्र अध्ययनमा स्नातकोत्तर (मास्टर इन फिल्म स्टडीज-एमएफएस) कार्यक्रमको औपचारिक सुरु गरेको छ । विश्वविद्यालयको ‘स्कुल अफ आर्ट्स’ अन्तर्गतको भाषा तथा आमसञ्चार विभागले सोमबार एक पत्रकार सम्मेलनमार्फत यस कार्यक्रमको घोषणा गरेको हो ।
आगामी फेब्रुअरी २०२६ देखि ललितपुरको हात्तीबनस्थित क्याम्पसमा सञ्चालन हुने यो शैक्षिक कार्यक्रम दुई वर्षे (६६ क्रेडिट) अवधिको हुनेछ । फिल्म अध्ययनलाई औपचारिक शैक्षिक विधाका रूपमा स्थापित गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको विश्वविद्यालयले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ फिल्मकर्मी यादव खरेलले विश्वविद्यालयको यस कदमलाई दूरदर्शी र ऐतिहासिक संज्ञा दिए । “फिल्म केवल मनोरञ्जन मात्र नभई क्यामेरा, लाइटिङ, एआई, विज्ञान, संस्कृति र नवप्रवर्तनको समिश्रण हो,” खरेलले भने, “नेपालमा पहिलो पटक यसलाई स्नातकोत्तर तहमा शैक्षिक मान्यता दिनु आफैँमा ठुलो उपलब्धि हो ।”
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले औपचारिक शिक्षाले फिल्म निर्माणको गुणस्तरलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउने विश्वास व्यक्त गरे । उनले ‘लर्निङ बाइ डुइङ’ पद्धतिमा जोड दिँदै बोर्डले यस कार्यक्रमलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
भाषा तथा आमसञ्चार विभागका प्रमुख प्राध्यापक निर्मलमणि अधिकारीले फिल्म अध्ययनको शुभारम्भ सिर्जनात्मक शिक्षातर्फको महत्त्वपूर्ण फड्को भएको बताए । उनका अनुसार स्नातक र स्नातकोत्तर तहमा सञ्चालित 'मिडिया स्टडिज' को सफलता र चलचित्र सम्मेलनबाट प्राप्त सुझावका आधारमा यो नयाँ कोर्स तयार पारिएको हो ।
यस्तै नेपाल फिल्म समीक्षक समाजका अध्यक्ष सामीप्यराज तिमिल्सिनाले यो शैक्षिक कार्यक्रमले फिल्म निर्माण र समीक्षाबीच रहेको दूरी कम गर्ने बताए ।
के छन् विशेषता ?
एमएफएस पाठ्यक्रममा फिल्म प्रोडक्सन, पटकथा लेखन (स्क्रिनराइटिङ), फिल्मको इतिहास, नाट्यशास्त्र, एआई जस्ता आधुनिक विषय समावेश छन् । कार्यक्रममा विद्यार्थीहरूलाई ३० क्रेडिट पूरा गरेपछि ‘स्नातकोत्तर डिप्लोमा’ लिएर बाहिरिन सकिने ‘एक्जिट अप्सन’ को व्यवस्था समेत गरिएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुभवी प्राध्यापक र उद्योगका विज्ञले अध्यापन गराउने यस कार्यक्रमले फिल्म निर्माण, अनुसन्धान, समालोचना र फिल्म क्युरेसनका क्षेत्रमा व्यावसायिक जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयकाे विश्वास छ ।
पछिल्लो अध्यावधिक: माघ १, २०८२ ९:१
