जेमनाईमा आयो पर्सनल इन्टेलिजेन्स मोड, अब प्रश्नको जवाफ मात्रै होइन, तपाईँको जीवन नै बुझ्न सक्छ
माघ १, २०८२ ११:२२
काठमाडौँ । गुगलले आफ्नो एआई च्याटबट जेमनाईमा एउटा महत्त्वपूर्ण मेमोरी अपग्रेड ल्याएको छ । ‘पर्सनल इन्टेलिजेन्स’ (Personal Intelligence) नाम दिइएको यो नयाँ फिचरले जेमनाईलाई प्रयोगकर्ताको डिजिटल जीवनका विभिन्न पाटाहरूलाई आपसमा जोड्न र व्यक्तिगत सन्दर्भका आधारमा उत्तर दिन सम्भव बनाउनेछ ।
अहिलेसम्म जेमनाईले केवल सामान्य प्रश्नको उत्तर दिने वा एउटा ईमेल खोज्ने जस्ता एकल कार्य मात्र गर्दथ्यो । तर अब पर्सनल इन्टेलिजेन्स मार्फत जेमनाईले प्रयोगकर्ताको जिमेल, गुगल फोटोज, युट्युब र सर्च हिस्ट्रीका डेटालाई एकीकृत गरी विश्लेषण गर्न सक्छ ।
यसको अर्थ जेमनाईले प्रयोगकर्ताको जीवनका विवरणहरू सम्झन सक्छ र प्रयोगकर्ताले कहाँ खोज्ने भनेर निर्देश नगरे पनि आफैँ सन्दर्भ बुझेर प्रतिक्रिया दिन सक्छ ।
यो फिचर गुगलको सबैभन्दा एड्भान्स एआई मोडेल जेमनाई ३ बाट सञ्चालित छ । जसमा १० लाख टोकनको विशाल कन्टेक्स्ट विन्डो र सुधारिएको तर्क क्षमता (reasoning) रहेको छ ।
प्रयोगकर्ताको सम्पूर्ण इनबक्स वा फोटो ग्यालरीलाई मोडेलमा कोच्नुको सट्टा गुगलले कन्टेक्स्ट प्याकिङ (context packing) नामक प्रणाली प्रयोग गरेको छ । यसले गर्दा जेमनाईले आवश्यक परेको बेला मात्र सबैभन्दा सान्दर्भिक ईमेल, तस्बिर वा सर्च हिस्ट्री छनोट गरी प्रयोग गर्दछ ।
यदि तपाईँले आफ्नो गाडीको टायर साइज बिर्सनुभयो भने जेमनाईले जिमेलबाट गाडीको मोडेल पत्ता लगाउने र फोटोजबाट टायरको साइज वा प्लेट नम्बर खोजेर तुरुन्तै उत्तर दिन सक्छ ।
त्यस्तै परिवारको रुचि र विगतका भ्रमणहरूका आधारमा जेमनाईले ‘टुरिस्ट ट्रयाप’हरूलाई छोडेर प्रयोगकर्ताको वास्तविक इच्छा अनुसारको यात्रा योजना वा बोर्ड गेमहरू सुझाउन सक्छ ।
यसैगरी तपाईँको डेलिभरी र किराना सामानको रसिद वा युट्युब हिस्ट्री हेरेर जेमनाईले तपाईँको खाना पकाउने शैलीसँग मिल्ने च्यानलहरू सिफारिस गर्न सक्छ ।
यो फिचर १४ जनवरी २०२६ देखि अमेरिकामा रहेका गुगल एआई प्रो र एआई अल्ट्रा ग्राहकहरूका लागि बेटा संस्करणमा उपलब्ध गराइएको छ । हाल वेब, एन्ड्रोइड र आईओएसमा उपलब्ध यो फिचर चाँडै सर्चको एआई मोडमा पनि आउनेछ ।
गुगलले यो फिचर अझै परीक्षणकालमै रहेको र यसले कहिलेकाहीँ समयको गणनामा गल्ती गर्ने वा सम्बन्धहरूको सन्दर्भ (जस्तै: डिभोर्स भएको कुरा नबुझ्ने) बिर्सने जस्ता त्रुटिहरू हुन सक्ने स्वीकार गरेको छ । यस्ता गल्ती भएमा प्रयोगकर्ताले जेमनाईसँग सिधै कुराकानी मार्फत सच्याउन सक्छन् ।
गोपनीयता के होला ?
गुगलले यो फिचरमा गोपनीयतालाई केन्द्रमा राखेको दाबी गरेको छ । यो फिचर सुरुमा बन्द हुन्छ । प्रयोगकर्ताले चाहेमा मात्र कुन-कुन एप जोड्ने भनेर रोज्न र जुनसुकै बेला अलग्याउन सक्छन् ।
गुगलले जेमनाईलाई प्रयोगकर्ताको जिमेल वा फोटोजको व्यक्तिगत डेटामा सिधै ट्रेनिङ नगर्ने स्पष्ट पारेको छ । डेटालाई केवल सन्दर्को रूपमा प्रयोग गरिन्छ र ट्रेनिङका लागि प्रयोग गरिने प्रम्प्ट र प्रतिक्रियाहरूमा व्यक्तिगत विवरणहरू हटाइन्छ ।
जेमनाईले आफ्नो उत्तर कहाँबाट ल्याएको हो भन्ने स्रोत (जिमेल वा फोटोज) देखाउने प्रयास गर्दछ, ताकि प्रयोगकर्ताले त्यसलाई प्रमाणित गर्न सकुन् ।
पछिल्लो अध्यावधिक: माघ १, २०८२ ११:२२
