close

भारतमा ईकमर्सको १० मिनेटको डेलिभरी मोडेल बन्द, त्यसैको सिको गर्ने नेपालमा के होला ?

टेकपाना टेकपाना

माघ १, २०८२ १२:१७

भारतमा ईकमर्सको १० मिनेटको डेलिभरी मोडेल बन्द, त्यसैको सिको गर्ने नेपालमा के होला ?

काठमाडौँ । भारतका प्रमुख डेलिभरी कम्पनीहरूले १० मिनेटमा सामान उपलब्ध गराउने सेवा धमाधम बन्द गर्न थालेका छन् । सरकारले यति छोटो समयमा डेलिभरी गर्ने अपेक्षाले लाखौँ कामदारहरूको सुरक्षालाई जोखिममा पारिरहेको चेतावनी दिएपछि कम्पनीहरूले यस्तो कदम चालेका हुन् ।

भारतका श्रम मन्त्री मनसुख माण्डवीयले गत हप्ता इटरनल, स्विगी र जेप्टो जस्ता कम्पनीका कार्यकारी अधिकारीहरूसँग भेटघाट गरेका थिए । सो बैठकमा मन्त्रीले १० मिनेटमै डेलिभरी गर्ने बाचाले गर्दा कार्यस्थलको सुरक्षामा सम्झौता गरिरहेको भन्दै चेतावनी दिएका थिए । कम्पनीहरूले सुरुमा यी लक्ष्यहरू केवल मार्केटिङ टुल मात्र भएको तर्क गरे पनि अन्ततः उनीहरू यस्तो ब्रान्डिङ हटाउन सहमत भएका हुन् ।

सरकारी दबाबपछि इटरनलको ब्लिन्किट (Blinkit) प्लेटफर्मले आफ्नो ट्यागलाइन नै परिवर्तन गरेको छ । उसले नयाँ ट्यागलाइनमा लेखेको छ, "३० हजारभन्दा धेरै सामानहरू तपाईंको घरदैलोमा डेलिभरी ।"

त्यस्तै, स्विगीले पनि छोटो समयमा डेलिभरी गर्ने आफ्नो वाचा हटाएको छ । यद्यपि, इटरनलले आफ्नो व्यापारिक मोडेलमा यसबाट कुनै ठोस असर नपर्ने बताएको छ ।

गिग वर्कर (Gig worker) युनियनहरूले सरकारको यस कदमको प्रशंसा गरेका छन् । भारतीय फेडरेसन अफ एप-बेस्ड ट्रान्सपोर्ट वर्कर्सका महासचिव शेख सलाउद्दीनका अनुसार १० मिनेटको मोडेलले डेलिभरी पार्टनरहरूलाई सडकमा खतरनाक व्यवहार गर्न, अत्यधिक तनाव झेल्न र असुरक्षित अवस्थामा काम गर्न बाध्य पारेको थियो । यो निर्णयले कामदारको जीवन र मर्यादाको रक्षा गर्ने उनीहरूको विश्वास छ ।

गएको क्रिसमसको समयमा हजारौँ गिग कामदारहरूले राम्रो तलब, सामाजिक सुरक्षा र १० मिनेटको डेलिभरी बन्द गर्नका लागि राष्ट्रव्यापी हड्ताल गरेका थिए । भारतमा औपचारिक रोजगारीको अभाव र तीव्र आर्थिक वृद्धिका बीच 'क्विक कमर्स' उद्योग फस्टाए पनि यसले कामदारमाथि शोषण गरिरहेको आरोप लाग्दै आएको छ ।

इटरनलका प्रमुख कार्यकारी अधिकृत दीपिन्दर गोयलले भने १० मिनेटको वाचाले असुरक्षित व्यवहार निम्त्याएको दाबी अस्वीकार गरेका छन् । उनले अर्डर आएको २.५ मिनेटमा सामान प्याक हुने र बाँकी ८ मिनेटमा औसत १५ किलोमिटर प्रतिघण्टाको गतिमा २ किलोमिटर भन्दा कम दूरी तय गर्दा डेलिभरी सम्भव हुने तर्क गरेका थिए ।

पछिल्लो समय भारतको १० मिनेट डेलिभरी मोडेलको सिको नेपालमा समेत गर्न थालिएको छ । फास्टो नामक स्टार्टअपले १० मिनेटमै डेलिभरी दिने वाचा गरेको छ भने भोज एपले छिट्टो नामक सेवा मार्फत अर्डरको २० मिनेटमै ग्रोसरी सामान डेलिभरी दिने दाबी गरेको छ । त्यस्तै पठाओले रियल टाइम डेलिभरीको नाममा १५ मिनेटमै ग्रोसरी आइटम घरमा पुर्‍याउने सेवाको परीक्षण गरिसकेको छ ।

क्विक डेलिभरी सर्भिस मोडेलको सुरुवात गरेको भारतमा फेल भएपछि त्यसैको सिको गर्दै नेपालमा भित्रिएको अभ्यास कुन रूपमा अघि बढ्छ, त्यो भने हेर्न बाँकी नै छ । 

 

पछिल्लो अध्यावधिक: माघ १, २०८२ १२:१७