रास्वपा प्रवेश गर्न लागेको खबर फैलिएपछि गोपी हमालले भने, ‘हल्ला हो, कुनै पार्टीमा जान्नँ’
माघ ३, २०८२ १५:३६
काठमाडौँ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि राजनीतिक दलमा प्रवेश नगर्ने बताएका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्न लागेको भन्दै विभिन्न एआई सिर्जित तस्बिरहरू सहितका पोस्टहरू भाइरल भएपछि मेयर हमालले यसबारे प्रष्टीकरण दिएका हुन् ।
“मैले कुनै पनि पार्टी प्रवेश गर्ने योजना बनाएको छैन । धनगढीका मतदाताले मलाई पाँच वर्षका लागि स्वतन्त्र मेयरका रूपमा निर्वाचित गरेका हुन् । म धनगढीबासीले दिएको जिम्मेवारी र विश्वासलाई इमानदारीपूर्वक पूरा गर्ने प्रयासमा छु । पाँच वर्ष पूरा नहुँदासम्म म कुनै पनि राजनीतिक दलमा लाग्ने छैन,” हमालले भने ।
उनले जनताले दिएको म्यान्डेट अनुसार २०८४ को स्थानीय निर्वाचनसम्म स्वतन्त्र नै रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । “मलाई जनताले स्वतन्त्र मेयर भनेर जिताएका हुन् । हल्ला र सामाजिक सञ्जालका पछि नलाग्न सबैमा अनुरोध छ,” उनको भनाइ छ ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जाल र अनलाइनमा मेयर हमालले पार्टी प्रवेश गरेको/गर्न लागेको भन्दै सामग्रीहरू प्रसारित भएका थिए ।
पछिल्लो अध्यावधिक: माघ ३, २०८२ १६:३८
