रुपन्देहीका रास्वपा नेता मधु अर्याल पक्राउ भन्दै एमाले सचिव महेश बस्नेत लगायतले फैलाए भ्रम
माघ ४, २०८२ १०:१०
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीका सचिवालय सदस्य एवं क्षेत्र नम्बर ३ का सभापति मधुप्रसाद अर्यालले आफू पक्राउ परेको भन्दै सामाजिक सञ्जालमा फैलाइएको खबर पूर्णतः तथ्यहीन र भ्रमपूर्ण भएको बताएका छन् ।
नेकपा एमालेका सचिव महेश बस्नेत, प्रेस चौतारीका पूर्वअध्यक्ष गणेश बस्नेत, सुमन ढुंगानालगायतले आफ्नो फेसबुक आईडीबाट ‘संसद भवन जलाएको अभियोगमा रास्वपा रूपन्देही सभापति मधु अर्याल पक्राउ !’ भन्दै पोस्ट गरेका थिए । ती पोस्टमा ‘अब महान्यायाधिवक्ताको काम आयो’ भन्दै व्यङ्ग्य समेत गरिएको छ । रास्वपा नेता अर्याल र प्रहरीले पक्राउको खण्डन गर्दा समेत उनीहरूले पोस्ट हटाएका छैनन् ।
शुक्रबार एक प्रेस विज्ञप्ति र भिडिओ सन्देश जारी गर्दै अर्यालले यसलाई रास्वपाको बढ्दो जनलहरबाट अत्तालिएका दलहरूको कुत्सित मनसाय र नियोजित साइबर हमलाको संज्ञा दिएका छन् । “देश अहिले निर्वाचनको सम्मुखमा छ र म रूपन्देही क्षेत्र नम्बर २ बाट रास्वपाको आकांक्षी उम्मेदवार हुँ,” उनले भनेका छन्, “मेरो व्यक्तिगत चरित्रहत्या गरी चुनावी माहोल बिगार्ने उद्देश्यले अमुक दल र त्यस निकट पत्रकारले यो भ्रम फैलाएका हुन् । यो निन्दनीय कार्यका विरुद्ध म कानुनी उपचारमा जानेछु ।”
रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीपबहादुर क्षेत्रीले रास्वपा नेता अर्याल पक्राउ परेको भन्ने खबरमा कुनै सत्यता नभएको पुष्टि गरे । उनले जिल्लामा रास्वपाका कुनै पनि नेता वा कार्यकर्तालाई त्यस किसिमको आरोपमा नियन्त्रणमा नलिएको स्पष्ट पारे ।
सत्यता पुष्टि नभए पनि एमाले नेता महेश बस्नेत, पत्रकार गणेश बस्नेत, सुमन ढुंगानाले आफ्ना पोस्टहरू अझै डिलिट गरेका छैनन् । उनीहरूको पोस्टमा हजारौँ लाइक कमेन्ट र शेयर आएका छन् । अर्यालले ती पोस्टहरूमा आएका कमेन्टहरू हेर्न आग्रह गर्दै जनताले नै यसको फैसला गर्ने बताएका छन् ।

अर्यालले आगामी फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरी यस्ता भ्रम फैलाइएको भन्दै आम नागरिकलाई सजग रहन अपिल गरेका छन् । उनले आफू नीलो क्रान्ति र ब्यालेटमार्फत नै पुराना र गलत राजनीतिक प्रवृत्तिलाई जवाफ दिन तयार रहेको उल्लेख गरे ।
पछिल्लो अध्यावधिक: माघ ४, २०८२ १०:२९
