close

१ लाख १० हजार बढीमा यसरी बेचेँ ८०० मा ७ महिना अघि किनेको डोमेन

समिर केसी समिर केसी

माघ ५, २०८२ ९:३४

१ लाख १० हजार बढीमा यसरी बेचेँ ८०० मा ७ महिना अघि किनेको डोमेन

म हाल बीएससी सीएसआईटी सातौँ सेमेस्टरमा अध्ययनरत छु । आफ्नो नियमित पढाइका साथसाथै केही नयाँ कुरा सिक्ने क्रममा मैले सन् २०२१ देखि डोमेन फ्लिपिङको क्षेत्रमा काम गरिरहेको थिएँ । यसै महिना मैले आफ्नो एउटा डोमेनलाई गोड्याडीको ‘डोमेन ब्रोकर सर्भिस’ मार्फत ७९० अमेरिकी डलरमा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सफल भएँ । 

प्रायः मानिसले इन्टरनेटमा डोमेन बिक्रीका ठुला अङ्क मात्र सार्वजनिक गर्ने गर्छन् । तर यहाँ मैले त्यस पछाडि लुकेको वास्तविक प्रक्रिया, ब्रोकरसँगको वार्तालाप, समय सीमा र धैर्यताको घटनाक्रमलाई पूर्ण रूपमा पारदर्शी तरिकाले प्रस्तुत गर्ने प्रयास गरेको छु । क्रेतासँगको सम्झौताका कारण उक्त डोमेनको नाम भने यहाँ खुलाउन असमर्थ छु ।  

मैले २०२१ र २०२२ तिर निकै सानो मूल्यमा डोमेन बिक्री गर्न थालेको थिएँ । त्यसबेला मैले ‘makeagf.com’ र ‘randomnepali.com’ जस्ता डोमेन क्रमशः ३,५०० र ५,००० नेपाली रुपैयाँमा नेपालीलाई नै बेचेको थिएँ । ती साना सफलताले मलाई ‘एउटा सामान्य शब्द पनि डिजिटल सम्पत्ति बन्न सक्छ’ भन्ने महत्त्वपूर्ण पाठ सिकायो । तर, त्यसको केही समयपछि मैले तिनै डोमेन खोजेँ । तर, ती सार्वजनिक रूपमा निकै सस्तो मूल्यमा उपलब्ध थिए ।

यसबाट मैले के बुझेँ भने यदि त्यो विचार वा व्यवसाय अगाडि बढेन भने डोमेनको मूल्य पनि हराउँछ । यही सिकाइले मलाई डोमेन फ्लिपिङको बारेमा अझ अध्ययन गर्न र यसलाई गम्भीरतापूर्वक लिन प्रेरित गर्‍यो ।

डोमेन लगानीमा लाग्न मलाई विशेष गरी दुई वटा घटनाले ठुलो प्रभावित पारे । पहिलो फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेर ‘मेटा’ राखेपछि मैले ट्रेन्डअनुसार केही डोमेन दर्ता गरेको थिएँ, जसले मलाई बजारको प्रवृत्ति बुझ्न सिकायो । 

दोस्रो सन् २०२४ को अन्त्यतिर ‘Chat.com’ लाई ओपन एआईले निकै ठुलो रकममा खरिद गरेको थियो । त्यही समाचारले डोमेन वास्तवमै डिजिटल रियल एसेट (सम्पत्ति) हुन् र सही समयमा सही शब्द छनोट गर्न सके त्यो अमूल्य हुन सक्छ भन्ने मेरो मान्यतालाई थप जोड मिल्यो । 

त्यसपछि मैले ब्रान्ड बनाउन मिल्ने डोमेन दर्ता गर्ने, तिनलाई धैर्यताका साथ होल्ड गर्ने र विभिन्न अन्तर्राष्ट्रिय मार्केटप्लेस Afternic र Dan मा लिस्ट गर्ने कामलाई निरन्तरता दिएँ । यही क्रममा केही डोमेन एक्सपायर भए, केही मैले कहिल्यै रिन्यु गरिनँ । केही भने होल्ड गरियो, तर बिक्री भएनन् । यद्यपि, डोमेन फ्लिपिङ भनेको तत्काल हुनै फाइदा होइन । यसमा धैर्यता नै मुख्य अस्त्र हो ।

पछिल्लो पटक मैले बिक्री गरेको डोमेनको घटना केही फरक छ । मैले उक्त डोमेन कतै पनि लिस्टिङ गरेको थिइनँ । न कहिल्यै प्रचार गरेँ । तर, मलाई गोड्याडीको ब्रोकरले ड्रिमहोस्टको हुइज प्रोक्सी इमेलमार्फत सम्पर्क गरे । मलाई लाग्यो डोमेनको भ्यालु छ भने तपाईंले केही गर्नै पर्दैन । खरिदकर्ता आफै तपाईंसामु आइपुग्छन् । 

४ डिसेम्बर २०२५ मा ६५० डलरको पहिलो अफर आयो । उनीहरूले पठाएको ईमेलमा यस्तो लेखिएको थियो, “तपाईंको xyz डोमेन किन्न इच्छुक एक जना भेरिफाइड खरिदकर्ता हुनुहुन्छ । उहाँले यसलाई लिन चाहेको भन्दै ६५० अमेरिकी डलरको प्रारम्भिक प्रस्ताव दिनुभएको छ र सबै शुल्क पनि उहाँले नै तिर्नुहुनेछ ।”

 

म चकित परेँ, त्यत्तिकै उत्साहित पनि भएँ । अनि जवाफ फर्काएँ, “म १,२०० देखि १,५०० अमेरिकी डलरसम्म पाए यो डोमेन बेच्न तयार छु ।”

५ डिसेम्बर ११ः५९ मिनेटमा मलाई स्वचालित ईमेल आइपुग्यो । उक्त ईमेलको सब्जेक्टमा लेखिएको थियो, “कोही तपाईंको डोमेन खरिद गर्न उत्साहित छ ।”

यो पटक पनि प्रोक्सी इमेल आएको थियो । अर्थात् ब्रोकर सिस्टमसँग अझै पनि मेरो जिमेल एड्रेस थिएन ।

त्यसबेला पनि आफ्नो अफरमा अडिग रहेँ र मैले त्यही जवाफ पुनः दोहोर्‍याएँ । 

८ डिसेम्बर बिहान १२ः०१ बजे मलाई तेस्रो पटक ईमेल आयो । त्यसमा मूल्य ६५० डलर नै राखिएको थियो । यस पटक पनि मैले आफ्नो अडान छोडिनँ र त्यही रिप्लाई पठाएँ ।

 

८ डिसेम्बर राति १०ः१२ मिनेटमा पहिलो पटक मेरो जिमेलमा पहिलो म्यानुअल रिप्लाई आयो । रिप्लाईमा लेखिएको थियो, “रिप्लाई गर्नु भएकोमा यहाँलाई धन्यवाद । तपाईंले माग गर्नुभएको मूल्यबारे म खरिदकर्तासँग छलफल गर्नेछु ।”

यसबेला पहिलो पटक मान्छेले रिप्लाई गरेको थियो र प्रत्यक्ष रूपमा मेरो जिमेलमा रिप्लाई आएको थियो ।

१० डिसेम्बर २०२५ मा मैले अपडेटका लागि ईमेल पठाएँ । जवाफ आयो, “तपाईंको मूल्य देखेर खरिद कर्ताबाट कुनै जवाफ आएन । यदि तपाईंले मूल्य घटाउनु भयो भने म तपाईंहरूलाई जोड्ने प्रयास गर्नेछु ।”

यो भने मेरा लागि कठिन समय थियो । मैले बुझिसकेको थिएँ कि मौन हुनु भनेको अस्वीकार गर्नु हो । १० डिसेम्बरको राति म मूल्य घटाउन तयार भएँ र ईमेल पठाएँ । “म मूल्य मिलाउन तयार छु । मेरो लक्ष्य भनेकै यो बिक्री पुरा गर्नु हो । कृपया खरिदकर्तासँग पुनः सम्पर्क गराइदिनु होला ।”

११ डिसेम्बर दिउसो १२ः३९ बजे बोक्ररले मेरो ईमेल देख्यो र खरिदकर्तासँग जोड्ने प्रतिबद्धता दियो । त्यसको भोलिपल्ट १२ डिसेम्बरमा बोक्ररले हाम्रो छलफल १८ डिसेम्बरका लागि तय गर्‍यो । यससँगै प्रतीक्षा सुरु भयो १८ डिसेम्बरको । यो धैर्ययताको परीक्षण पनि थियो । 

तर त्यस दिन हाम्रो छलफल हुन सकेन । २३ डिसेम्बरसम्म पनि कुनै जवाफ आएन । त्यसपछि २५ डिसेम्बरमा मैले डोमेनको मूल्य १००० डलर कायम गरेँ । त्यसपछि २९ डिसेम्बरमा ब्रोकरले १००० डलरको मूल्य राखेर खरिदकर्ता र मलाई मिलाउन खोज्यो । तर, खरिदकर्ता सम्पर्कमै आइरहेको थिएन । एक हिसाबले मलाई ‘मुखमै आएको गास खोसिएको’ जस्तो लागेको थियो । 

त्यसपछि ५ जनवरी २०२६, शुक्रबारका लागि मिटिङ हुने तय भयो । १२ जनवरीमा हाम्रो सम्झौता ७९० डलरमा गएर टुङ्गियो । ब्रोकरले पठाएको ईमेलमा लेखिएको थियो, “खरिदकर्ता निकै उत्साहित छन् । तर, यही रकम नै उनीहरूको बजेटको अन्तिम सीमा हो । सहमति भएमा ४८ घण्टाभित्रै रकम भुक्तानी गर्न तयार छन् ।”

मैले यति कममा सम्झौता होला भन्ने ठानेको थिइनँ । तर, जे भयो राम्रै भयो । अब रकम आउने प्रक्रिया अगाडि बढेको थियो । यो अफर मैले गोड्याडीको डीबीएस पोर्टलबाट एसेप्ट गरेँ । 

१५ जनवरीमा गोड्याडीले खरिदकर्ताको भुक्तानी भेरिफाइ गर्‍यो र ईमेल आयो, “तपाईंको डोमेन बिक्री भएको छ । बधाई छ !”

उनीहरूले ईपीपी/अथेन्टिकेसन कोड मागे  । मैले मेलमा गोड्याडीको एसेप्टेन्स लिङ्क फेला पारेँ । र, त्यसमा क्लिक गरेँ । 

१६ जनवरीमा ड्रिमहोस्टबाट डोमेन ट्रान्सफर एसेप्ट भयो । पहिले मैले डोमेन अनलक गरेँ र ड्रिमहोस्टबाट आएको ईपीपी कोडलाई डीबीएस पोर्टलमा राखे । यो त्यही पोर्टल हो, जहाँ उनीहरूले ईपीपी कोड मागेका थिए । मैले यसलाई म्यानुअल्ली एप्रुभ गरेँ र तत्काल भुक्तानीको प्रक्रिया अगाडि बढाएँ । 

ड्रिमहोस्टको सपोर्टले इन्स्ट्यान्ट ट्रान्सफर उपलब्ध गराएकाले प्रक्रिया तुरुन्तै पुरा भयो । सामान्यतया ५-७ दिन लाग्ने काम यस पटक करिब २-३ घण्टामै सम्पन्न भयो र मेरो डोमेन अन्तर्राष्ट्रिय बजारमा बिक्री भयो ।

नोट: रकम तपाईंको नेपाली बैंक खातामा आउनका लागि गोड्याडी अकाउन्टमा ‘Payee Details’ अनिवार्य रूपमा भर्नु आवश्यक हुन्छ । मैले आफ्ना विवरण सोही दिन नै भरेको थिएँ ।

 यसबाट मैले के सिकेँ ?

एउटा विद्यार्थीको रूपमा यो अनुभवले मलाई डोमेनको मूल्य भएमा क्रेताले विश्वको जुनसुकै कुनाबाट पनि तपाईँलाई खोज्दै आउँछन् भन्ने सिकायो । हुइज प्राइभेसीले ब्रोकरलाई ब्लक नगर्ने रहेछ भन्ने मैले थाहा पाएँ । 

अपेक्षा तुरुन्तै डोमेन बिक्री होस् र रकम पनि तत्कालै आओस् भन्ने हुन्छ । तर, मूल्य मिलाउँदा केही हप्तादेखि महिनौँ लाग्ने रहेछ । अर्को महत्त्वपूर्ण कुरा डोमेन फ्लिपिङमा धैर्यता चाहिँ निकै महत्त्वपूर्ण कुरा हो । 

ब्रोकरलाई कमिसन चाहिएको हुन्छ । त्यसैले उनीहरू अत्याइरहेका हुन्छन् । यस्तोमा विक्रेताले नै निकै सुझबुझ अपाउनुपर्ने हुन्छ र सबैभन्दा उपयोगी शिक्षा भनेको कुनै दिन स्थानीय रूपमा डोमेन बेचेको मान्छेले अन्तर्राष्ट्रिय रूपमा पनि डोमेन बिक्री गर्न सक्ने रहेछ । 

सन् २०२१ मा ३ हजार रुपैयाँको स्थानीय बिक्रीबाट सुरु भएको मेरो यो यात्रा आज डलरमा अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको छ । यसले मलाई यो क्षेत्रमा थप उत्साह र आत्मविश्वास थपिदिएको छ । यो रकम ठुलो होइन, तर यो प्रक्रियामा सामेल हुन र अनुभव बटुल्न पाउँदा म उत्साहित छु ।

पछिल्लो अध्यावधिक: माघ ५, २०८२ ९:४२