काठमाडौँ । स्मार्टफोनबाट भिडिओ एडिट गर्न क्यापकट (CapCut) उपयोगी एप हो । विभिन्न किसिमका फिल्टर, इफेक्ट र ट्रान्जिसनका विकल्पले यस एपलाई अन्यभन्दा पृथक बनाएको छ ।
यी आकर्षक फिचर हुँदाहुँदै पनि नेपाली भाषाको सन्दर्भमा क्यापकट अलि पछाडि देखिन्छ । यसको ‘डिफल्ट फन्ट’ मा देवनागरी लिपिका अक्षर राम्रोसँग सपोर्ट हुँदैनन् । त्यहाँ उपलब्ध कुनै पनि फन्टले देवनागरी लिपीमा काम गर्दैनन् । यदि तपाईं पनि क्यापकटबाट आकर्षक नेपाली भिडिओ बनाउन र त्यसमा नेपाली फन्ट प्रयोग गर्न चाहनुहुन्छ भने आज हामी तपाईंलाई त्यसैबारे जानकारी दिँदैछौँ:
त्यसका लागि तपाईंले अनेपाली डटकम प्रयोग गर्नुपर्ने हुन्छ । १३० भन्दा बढी देवनागरी फन्ट उपलब्ध भएको यस प्लेटफर्मको सहयोगले हामी क्यापकटमा आकर्षक डिजाइनका नेपाली टेक्स्ट राखेर भिडिओ बनाउन सक्छौँ ।
क्यापकटमा नेपाली फन्ट प्रयोग गर्न तलको प्रक्रिया अपनाउनुहोस्:
-
सबैभन्दा पहिले anepali.com मा जानुहोस् ।
-
त्यसपछि टेक्स्ट टाइप गर्ने बक्समा आफूलाई इच्छा लागेको टेक्स्ट राख्नुहोस् ।
-
यति गरेपछि त्यहाँ भएका १३० भन्दा बढी फन्टको प्रिभ्यु देखिन्छ । हामीले क्यापकटमा त्यही प्रिभ्यु प्रयोग गर्ने हो ।
-
त्यसका लागि त्यहाँ देखिएको इमेजको आइकनमा ट्याप गर्नुहोस् ।
-
अनि क्रियट स्टिकर (Create Sticker) को अप्सनमा ट्याप गर्नुहोस् ।
-
र, आफ्नो आवश्यकता अनुसार कलर छान्ने र बोर्डर छान्नुहोस् । यो चित्त बुझिसकेपछि अब ‘डाउनलोड स्टिकर’ (Download Sticker) को बटनमा ट्याप गर्नुहोस् । यति गरेपछि तपाईंको डिभाइसमा स्टिकर डाउनलोड हुन्छ ।
-
अब क्यापकटमा आफूले नेपाली फन्ट राख्न चाहेको भिडिओको एडिटिङमा जानुहोस् ।
-
ओभरले अप्सन छान्नुहोस् । र, पहिले डाउनलोड गरेको स्टिकर छानेर त्यसलाई आवश्यकता अनुसार साइज मिलाई एनिमेट गर्नुहोस् ।
सबटाइटल राख्नुपर्यो वा धेरै लामो टेक्स्ट राख्नुपर्यो भने यो झन्झटिलो प्रक्रिया हो । तर, छोटा छोटा नेपाली टेक्स्ट राख्नुपर्ने प्रोजेक्ट छ भने तपाईंले यो तरिका अपनाउन सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: माघ ९, २०८२ १६:१६
