close

अमेरिकामा टिकटकमाथिको प्रतिबन्ध टर्‍यो, अमेरिकी स्वामित्वको नयाँ कम्पनीले सञ्चालन गर्ने

टेकपाना टेकपाना

माघ १०, २०८२ ११:२२

अमेरिकामा टिकटकमाथिको प्रतिबन्ध टर्‍यो, अमेरिकी स्वामित्वको नयाँ कम्पनीले सञ्चालन गर्ने

काठमाडौँ । टिकटकले अमेरिकामा आफ्नो सञ्चालनलाई निरन्तरता दिन नयाँ सम्झौता भएको घोषणा गरेको छ । यो सम्झौतासँगै अमेरिकामा टिकटकको भविष्य सुनिश्चित भएको देखिएको छ भने त्यहाँका २० करोड अमेरिकी प्रयोगकर्ताले केही महत्त्वपूर्ण परिवर्तनहरू महसुस गर्नेछन् ।

नयाँ व्यवस्था अनुसार अमेरिकामा टिकटकको सञ्चालन अब ‘टिकटक यूएसडीएस ज्वाइन्ट भेन्चर एलएलसी’ नामक छुट्टै निकायले गर्नेछ । यस कम्पनीको सञ्चालक समितिमा अमेरिकी लगानीकर्ताहरूको बहुमत रहनेछ । टिकटकको चिनियाँ अभिभावक कम्पनी बाइटडान्ससँग अब १९.९ प्रतिशत शेयर मात्र रहनेछ । सात सदस्यीय सञ्चालक समितिमा टिकटकका प्रमुख कार्यकारी अधिकृत शोउ जी चिउ पनि सहभागी हुनेछन् ।

टिकटकको सबैभन्दा महत्त्वपूर्ण पक्ष मानिने ‘कन्टेन्ट रिकमेन्डेसन एल्गोरिदम’ अब अमेरिकी टेक कम्पनी ओर्‍याकललाई लाइसेन्स दिइएको छ । ओर्‍याकलले नै अमेरिकी प्रयोगकर्ताहरूको डेटाको सुरक्षा गर्नेछ र अमेरिकी डेटाकै आधारमा एल्गोरिदमलाई पुन: प्रशिक्षित र अपडेट गर्नेछ । टिकटकले प्रयोगकर्ताको विवरण र एल्गोरिदम ओर्‍याकलको सुरक्षित ‘क्लाउड इन्भाइरोमेन्ट’ मा रहने स्पष्ट पारेको छ ।

सम्झौता भए पनि यो राजनीतिक विवादबाट भने मुक्त छैन । केही डेमोक्र्याट सिनेटरहरूले राष्ट्रपति डोनल्ड ट्रम्प र टिकटकको नयाँ लगानीकर्ता समूहबिचको सम्बन्धलाई लिएर प्रश्न उठाएका छन् । सिनेटर रोन वाइडेनले विदेशी लगानी र ट्रम्प निकटका व्यक्तिहरूको हातमा कम्पनी जाँदा अमेरिकी हितमा नहुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । अर्का सिनेटर एड मार्कीले सम्झौतामा पारदर्शिताको अभाव रहेको भन्दै संसदीय अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

टिकटकका अनुसार प्रयोगकर्ताले नयाँ एप डाउनलोड गर्नु पर्ने छैन । तर, जनवरी २२ देखि लागु हुने गरी सेवाका सर्तहरू (Terms of Service) परिवर्तन गरिएको छ । यसअनुसार अब प्रयोगकर्ताको सम्झौता नयाँ अमेरिकी कम्पनी टिकटक यूएसडीएस सँग हुनेछ । १३ वर्ष मुनिका बालबालिकालाई ‘अन्डर १३ एक्सपिरियन्स’ बाहेक अन्य फिचरमा रोक लगाइनेछ । जेनेरेटिभ एआईबाट सिर्जना हुने सामग्रीको जोखिम प्रयोगकर्ता स्वयंले स्वीकार्नु पर्नेछ ।

विज्ञहरूका अनुसार एल्गोरिदममा हुने परिवर्तनले अमेरिकी प्रयोगकर्ताहरूको ‘फर यु’ फिडमा देखिने भिडिओमा केही परिवर्तन आउन सक्छ । अन्तर्राष्ट्रिय सामग्रीको तुलनामा अमेरिकी स्थानीय सामग्रीले बढी प्राथमिकता पाउन सक्ने अनुमान छ ।

यसैबिच, बाइटडान्सकै स्वामित्वमा रहेका अन्य लोकप्रिय एपहरू क्यापकट र लेमन ८ को भविष्य पनि यो सम्झौतासँगै सुरक्षित भएको छ । यी एपलाई पनि अब नयाँ जोइन्ट भेन्चर अन्तर्गतकै सुरक्षा व्यवस्थाले समेट्ने बताइएको छ ।

-बीबीसीको सहयोगमा

पछिल्लो अध्यावधिक: माघ १०, २०८२ १२:१५