close

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, पोस्टपेडमा रिकरिङ प्याकेज लिन झनै सजिलो

टेकपाना टेकपाना

माघ १२, २०८२ १६:३५

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, पोस्टपेडमा रिकरिङ प्याकेज लिन झनै सजिलो

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर सार्वजनिक गरेको छ । सेवाग्राहीले निकै नै रुचाएको भन्दै कम्पनीले यसअघि नै उपलब्ध अटम अफर अन्तर्गतका विभिन्न प्याकेजलाई निरन्तरता दिएको हो ।

पहिलेदेखि नै उपलब्ध एनटी-एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डेटा प्याक र अनलिमिटेड प्याकेज यथावत् उपलब्ध छन् । त्यस्तै कम्बो प्याक, सजिलो अनलिमिटेड प्याक, इयर्ली अनलिमिटेड प्याक, रेन्टल सहितको पोस्टपेड प्याकेज, सोसल मिडिया प्याकलाई पनि निरन्तरता दिइएको छ ।

नेपाल टेलिकमको एड अन प्याक, सीयूजी प्याकेज, फरक क्षमता भएका व्यक्तिहरूका लागि प्याकेज तथा नमस्ते वाई-फाई प्रयोगकर्ताका लागि उपलब्ध बन्डल प्याकेज लगायत उपलब्ध छन् । त्यसैगरी एफटीटीएच अन्तर्गतका प्याकेजहरू पनि यथावत् राखिएका छन् ।

नेपाल टेलिकमले हाल पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्याकेजलाई रिकरिङ प्याकेजको रूपमा निरन्तरता दिएको छ । यस अनुसार सजिलो अनलिमिटेड प्याकेज प्रयोगकर्ताले प्रत्येक महिना यसलाई नवीकरण गर्नुपर्ने झन्झट हुनेछैन र सो प्याकेज स्वतः नवीकरण हुनेछ ।

पहिले *1415*2*4# डायल गरेर मात्रै रिकरिङ प्याकेज लिन सकिने व्यवस्था रहेकोमा अब कम्पनीको मोबाइल एप तथा वेबसाइटबाट समेत यो प्याकेज लिन सकिने व्यवस्था मिलाइएको छ ।

विन्टर अफर अन्तर्गत ११ माघ २०८२ देखि उपलब्ध विभिन्न प्याकेज आगामी ९० दिनसम्म उपलब्ध हुनेछन् । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्नेछ । कम्पनीको नेपाल टेलिकम एपबाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: माघ १२, २०८२ १६:३५