म्याकफीको स्क्याम डिटेक्टरमा नयाँ अपडेट: अब क्यूआर र मेसेजबाट हुने ठगी तत्कालै पत्ता लाग्ने
माघ १४, २०८२ १४:१
काठमाडौँ । अहिलेको समयमा अनलाइन ठगीहरू पहिलेभन्दा धेरै एड्भान्स र पत्ता लगाउन कठिन हुँदै गएका छन् । स्क्यामरहरूले रेस्टुरेन्टको टेबलमा राखेका नक्कली क्युआर कोडहरूदेखि लिएर ह्याक गरिएका सामाजिक सञ्जाल अकाउन्टहरूबाट आउने जरुरी नोटिफिकेसन जस्ता जुक्तिहरू प्रयोग गरेर हाम्रो दैनिक डिजिटल जीवनमा घुस्ने प्रयास गरिरहेका हुन्छन् ।
यो बढ्दो समस्यालाई सम्बोधन गर्न म्याकफीले आफ्नो 'स्क्याम डिटेक्टर' सेवामा नयाँ र ठुलो अपडेटको घोषणा गरेको छ । एन्टिभाइरस निर्माता कम्पनी म्याकफीले आफ्नो स्क्याम डिटेक्टर उपकरणमा तत्काल क्यूआर कोड स्क्याम चेक र मेसेजिङ एपहरूका लागि अझ राम्रो सुरक्षा जस्ता महत्वपूर्ण सुधारहरू ल्याएको छ ।
अब, कुनै ठगी भइसकेपछि प्रतिक्रिया दिनुको सट्टा यो सफ्टवेयरले तपाईंले क्लिक गर्न, स्क्यान गर्न वा जवाफ दिन लागेकै समयमा मद्दत गर्दछ । यदि तपाईंले कहिल्यै सार्वजनिक स्थानमा कुनै अनौठो लिङ्क क्लिक गर्नुअघि वा क्यूआर कोड स्क्यान गर्नुअघि हिचकिचाउनुभएको छ भने, यो अपडेट तपाईंको सुरक्षाकै लागि बनाइएको हो ।
स्क्याम डिटेक्टर आफैंमा नयाँ सेवा भने होइन । म्याकफीले यसलाई सन् २०२५ मा आफ्नो डिजिटल सुरक्षालाई आधुनिकीकरण गर्ने वृहत्तर प्रयासको रूपमा सुरु गरेको थियो । त्यस समयमा यसको मुख्य ध्यान जोखिमपूर्ण ईमेल र टेक्स्ट मेसेजहरू पहिचान गर्नमा केन्द्रित थियो ।
तर, स्क्यामरहरू एउटै क्षेत्रमा मात्र सीमित रहेनन् । तिनीहरूले क्यूआर कोड, निजी मेसेज र सूक्ष्म सोसल इन्जिनियरिङ रणनीतिहरू अपनाउन थाले । जसमा सधैँ स्पष्ट देखिने मालवेयर लिङ्कहरू हुँदैनन् ।
यस अपडेटको सबैभन्दा महत्त्वपूर्ण पक्ष तत्काल क्युआर कोड विश्लेषण गर्न सक्नु हो । मेनु हेर्नेदेखि लिएर भुक्तानी प्रणालीसम्मको जीवन सहज बनाउन क्यूआर कोडको अवधारणा ल्याइएको थियो । दुर्भाग्यवश, अपराधीहरूका लागि यो प्रयोगकर्तालाई नक्कली लगइन पेज वा मालवेयरले भरिएका वेबसाइटमा पुर्याउने एउटा सजिलो माध्यम बनेको छ ।
म्याकफीको प्रणालीले अब यी कोडहरूलाई तुरुन्तै स्क्यान गर्न सक्नेछ र प्रयोगकर्ता खतरनाक साइटमा पुग्नु अगावै चेतावनी दिनेछ । यसका साथै, म्याकफीले मेसेजिङ एपहरूमा हुने स्क्यामहरू पत्ता लगाउन पनि स्क्याम डिटेक्टरलाई थप प्रभावकारी बनाएको छ ।
आजभोलिका स्क्यामहरू प्रायः सामान्य कुराकानी जस्तै देखिन्छन् र साथी वा सहकर्मी जस्तो देखिने अकाउन्टहरूबाट आउन सक्छन् । यस्ता मेसेजमा सधैं स्पष्ट चेतावनीका सङ्केतहरू नहुने भएकाले यिनलाई पहिचान गर्न कठिन हुन्छ ।
अपडेट गरिएको प्रणालीले अब मानिसहरूको सञ्चार गर्ने तरिका र मेसेजको सन्दर्भ (Context) लाई विश्लेषण गर्नेछ । जसले गर्दा कुनै लिङ्क नभएको अवस्थामा पनि यसले शङ्कास्पद गतिविधि पहिचान गर्न सकिन्छ ।
म्याकफीले यी नयाँ सुविधा आगामी केही महिनाभित्र 'कोर' सब्सक्रिप्सन भएका सबैका लागि बिना कुनै अतिरिक्त शुल्क उपलब्ध हुने जानकारी दिएको छ । यो अपडेट नयाँ डिजिटल खतराहरूसँग लड्न एआई प्रयोग गर्ने कम्पनीको ठुलो योजनाको एउटा हिस्सा हो ।
कम्पनीले यसअघि नै डिपफेक पहिचान, पहिचान निगरानी र स्वचालित स्क्याम विश्लेषणमा काम गर्दै आएको छ र एआईमा आधारित सुरक्षा समाधानहरूका लागि मान्यता समेत प्राप्त गरिसकेको छ ।
पछिल्लो अध्यावधिक: माघ १४, २०८२ १४:१
