काठमाडौँ । नेपाल पत्रकार महासङ्घले नेपाल रिपब्लिक मिडिया लिमिटेड (नागरिक दैनिक) विरुद्ध नयाँ शैलीको विरोध प्रदर्शनका रूपमा ‘एसएमएस आन्दोलन’ घोषणा गरेको छ । महासङ्घको केन्द्रीय समितिले आफ्ना मातहतका सबै प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान र एसोसिएट संस्थाहरूलाई परिपत्र गर्दै यस आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ ।
परिपत्र अनुसार नागरिक दैनिकमा देखिएको श्रम समस्यालाई लिएर महासङ्घ र नेपाल रिपब्लिक मिडिया लिमिटेडबिच २२ साउन २०८२ मा सम्झौता भएको थियो । उक्त सम्झौता कार्यान्वयन नभएको कारण देखाउँदै यही ४ माघदेखि उक्त सञ्चारगृह विरुद्ध महासङ्घ अनिश्चितकालीन आन्दोलनमा छ ।
आन्दोलनकै अर्को कडीका रूपमा आउँदो शुक्रबारदेखि देशभरका महासङ्घ सदस्यहरूले व्यवस्थापनलाई दबाब दिन एसएमएस पठाउने कार्यक्रम तय भएको छ । यसका लागि महासङ्घले नागरिक दैनिककी अध्यक्ष शोभा ज्ञवाली र प्रबन्ध निर्देशक समृद्धि ज्ञवालीलाई लक्षित गर्दै उनीहरूको मोबाइल नम्बरसमेत सार्वजनिक गरेको छ ।
महासङ्घका अनुसार ती नम्बरमा नेपाल पत्रकार महासङ्घसँग २०८२ साउन ४ गते भएको सम्झौता कार्यान्वयन गर्न र श्रम शोषण बन्द गर्न भन्दै एसएमएस पठाइनेछ ।
पछिल्लो अध्यावधिक: माघ १४, २०८२ १६:१०
