close

साना तथा मझौला व्यवसायीका लागि ‘इजी बक्स’ सार्वजनिक, डिजिटल भुक्तानी र बिलिङ एउटै डिभाइसबाट

टेकपाना टेकपाना

माघ १४, २०८२ १७:८

साना तथा मझौला व्यवसायीका लागि ‘इजी बक्स’ सार्वजनिक, डिजिटल भुक्तानी र बिलिङ एउटै डिभाइसबाट

काठमाडौँ । साना तथा मझौला व्यवसायहरूलाई लक्षित गरिएको स्मार्ट पेमेन्ट तथा बिलिङ डिभाइस ‘इजी बक्स’ सार्वजनिक भएको छ । व्यवसायहरूका लागि डिजिटल समाधान प्रदान गर्दै आएको कम्पनी एपीआईटी सोलुसन प्रालिले यो डिभाइस ल्याएको हो । 

कम्पनीका सह-संस्थापक तथा सीईओ अनुष पोखरेलका अनुसार इजी बक्स एक प्रकारको आधुनिक पीओएस (पोइन्ट अफ सेल) डिभाइस हो । यो डिभाइसमा इजी बक्स र क्याल्कुलेटर उपलब्ध हुन्छ । 

व्यवसायीले क्यालकुलेटरमा हिसाब गरेर बिक्री गरेको सामानको मूल्य ‘इन्टर’ गर्नुपर्छ । त्यसपछि इजी बक्समा त्यही रकम बराबरको डाइनामिक क्यूआर कोड तयार भएर डिस्प्ले हुन्छ । त्यसपछि ग्राहकले सिधै क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सक्छन् । डिभाइसले डाइनामिक क्यूआर दिने भएकाले तिर्नुपर्ने रकम इन्ट्री गरिराख्नु पर्दैन । भुक्तानी भएपछि यही डिभाइसमा बिल प्रिन्ट गर्न सकिन्छ । 

भुक्तानीका लागि फोनपे र नेपालपेसँग सहकार्य गरिएको छ । भुक्तानी प्राप्त भएपछि यो डिभाइसमा आवाज सहित भुक्तानी भएको जानकारी प्राप्त हुने सीईओ पोखरेलले जानकारी दिए । 

यो डिभाइस सञ्चालनका लागि कम्प्युटर वा ल्यापटपसमेत अनिवार्य आवश्यक नपर्ने उनले जानकारी दिए । प्रयोगकर्ताहरूलाई डिभाइससँगै हिसाबकिताब गर्ने सफ्टवेयरसहितको मोबाइल एप उपलब्ध गराइएको छ । उनले भने, “इजीइन्भो लाइट नामको मोबाइल एप तयार गरेका छौँ । यो एपमा क्यालकुलेटरमा इन्ट्री गरेका सबै डेटा आएर बस्छ । त्यसपछि व्यापारका सबै हिसाबकिताब यो एप आफैँले गर्छ ।” 

यस्तै नगद कारोबार पनि यो सफ्टवेयरमा सूचीकृत हुने उनले बताए । नगर कारोबार गर्ने हो भने क्यालकुलेटरमा दिइएको पोइन्ट (दशमलव) चिन्हमा थिच्नुपर्छ । त्यसपछि एपमा नगद कारोबारको रूपमा डेटा बस्छ । यस्तै क्रेडिटमा सामान दिएको छ भने सफ्टवेयरमा म्यानुअल्ली अपडेट गर्नुपर्ने उनले बताए । उनले भने, “त्यसपछि एक दिन होस् वा एक महिनाको कारोबारको रिपोर्ट सजिलै तयार हुन्छ । म्यानुअल्ली इन्ट्री गर्न पर्दैन । आफूले चाहेको बेलामा हेर्न पनि सकिन्छ  ”

उक्त डिभाइस जडान गर्न ९ हजार ५०० रुपैयाँ लाग्ने उनले जानकारी दिए । त्यसपछि इजीइन्भो लाइट एपको सदस्यताका लागि मासिक एक सय रुपैयाँ तोकिएको छ । 

यस्तै, कम्पनीले इजीइन्भो नामको एप विगत एक वर्षदेखि सञ्चालनमा ल्याएको उनले बताए । यो एपबाट अकाउन्टिङ र बुक किपिङको काम गर्दै आएको छ । जसअन्तर्गत पसलमा भएका स्टक र उत्पादनहरू कति छन्, बिक्री कति भए लगायतका जानकारीलाई ट्र्याक गर्न सकिन्छ । यो सफ्टवेयर चलाउन भने मासिक ३९९ रुपैयाँ तिर्नुपर्ने पोखरेलले बताए । 

उनका अनुसार एक हजार बढी ग्राहकले यो एप प्रयोग गर्दै आएका छन् । इजी इन्भो र इजी बक्स दुवै सेवा लिएमा स्मार्ट भुक्तानीका साथै स्टक व्यवस्थापनमा समेत सहयोग व्यवसायीलाई पुग्ने पोखरेलको भनाइ छ ।

पछिल्लो अध्यावधिक: माघ १४, २०८२ १७:८