काठमाडौँ । अहिलेको संसारमा प्रविधिको विकास यति तीव्र गतिमा भइरहेको छ कि कुनै पनि आविष्कार भाइरल हुन र त्यसले बजारमा उथलपुथल ल्याउन केही दिन मात्र पर्याप्त हुन्छ । पछिल्लो समय सिलिकन भ्यालीमा एउटा नयाँ एआई सहायक मोल्टबोट (Moltbot) ले यस्तै सनसनी फैलाएको छ ।
पहिले क्लाउडबोट (Clawdbot) का रूपमा चिनिने यो भाइरल एआई सहायकले प्रयोगकर्ताको व्यक्तिगत र व्यावसायिक जीवनलाई पूर्ण रूपमा स्वचालित (Automate) गर्ने दाबी गरेसँगै यसले ठुलो चर्चा पाएको हो । तर, यसको बढ्दो लोकप्रियतासँगै गम्भीर सुरक्षा जोखिमका प्रश्नहरू पनि उठिरहेका छन्
मोल्टबोटको कथा कुनै फिल्मी पटकथाभन्दा कम छैन । मात्र ७२ घण्टामा यो सफ्टवेयर भाइरल भयो, विवादमा तानियो, यसको नाम परिवर्तन भयो र नयाँ स्वरूपमा पुनः उदय भयो । यो प्रविधिले च्याट मात्र गर्ने नभई वास्तवमै काम गर्ने (AI that actually does things) प्रतिज्ञा गरेको छ। मानिसहरूको ध्यान खिचे पनि यसले स्थापना कालदेखि नै विभिन्न अवरोधहरूको सामना गर्नु परेको छ ।
अस्ट्रियन डेभलपर पिटर स्टेनबर्गरले आफ्नो व्यक्तिगत समस्या समाधान गर्न यो टुल बनाएका थिए । तर जब यो सार्वजनिक भयो, यसले केही हप्तामै गज्जबको चर्चा पायो । स्टेनबर्गरले सुरुमा यसको नाम क्लाउड (Claude) मोडेलसँग मिल्दोजुल्दो राखेका थिए ।
क्लाउड निर्माता कम्पनी एन्थ्रोपिक (Anthropic) ले ट्रेडमार्कको विषयमा इमेल पठाएपछि स्टेनबर्गरले यसको नाम परिवर्तन गरी मोल्टबोट राखेका हुन् । मोल्ट (Molt) को अर्थ लबस्टरले आफ्नो पुरानो खोल फेरेर नयाँ रूप लिनु हो, जुन यस परियोजनाको लबस्टर-थिमसँग ठ्याक्कै मेल खान्छ ।
स्टेनबर्गरका अनुसार, यो परियोजना एउटा प्रयोगको रूपमा सुरु भएको थियो । उनले कोडिङ मोडेलहरूमा तस्बिर र फाइलहरू पठाउने तरिका खोजिरहेका थिए । वायर्डसँगको कुराकानीमा उनले एउटा रोचक घटना सुनाए, "जब मैले मेरो सहायकलाई एउटा भ्वाइस मेमो पठाएँ र त्यसले मलाई टाइप गरेर जवाफ दियो, म चकित भएँ ।"
उनको टुलले आफैँ फाइल निरीक्षण गरी अडियो फर्म्याट पहिचान गरेर र कम्प्युटरमा भएको 'की' (key) प्रयोग गरी ओपनएआईको ह्विस्पर (Whisper) सेवामार्फत त्यसलाई टेक्स्टमा परिणत गरेको थियो । स्टेनबर्गर भन्छन्, "यदि तपाईंले शक्ति दिनुभयो भने यी मोडेलहरू वास्तवमै रचनात्मक हुँदा रहेछन् ।"
मोल्टबोट किन भयो भाइरल ?
मोल्टबोटले सिरी वा एलेक्सा जस्ता परम्परागत एआई सहायकहरूलाई निकै पछि छाडिदिएको छ । सामान्य असिस्टेन्टले निश्चित प्रश्नको जवाफ दिने वा सामान्य कमाण्ड पालना गर्ने मात्र काम गर्छन् भने मोल्टबोटले विभिन्न एपहरू, कोडिङ र वेबको प्रयोग गरेर असीमित दायराका कामहरू गर्न सक्छ । प्रयोगकर्ताहरूले यससँग ह्वाट्सएप, टेलिग्राम वा अन्य च्याट एपमार्फत सिधा कुरा गर्न सक्छन्, जसले गर्दा यसलाई चलाउन कुनै विशेष ड्याशबोर्डको आवश्यकता पर्दैन ।
यसले ईमेलहरू सफा गर्ने, क्यालेन्डर व्यवस्थापन गर्ने, उडानको चेक-इन गर्ने र प्रयोगकर्ताको तर्फबाट सामानहरू समेत खरिद गर्न सक्छ । लिस्बनका टेक उद्यमी ड्यान पेगुइनले वायर्डसँग कुरा गर्दै यसलाई 'जादुमय' भनेका छन् ।
पेगुइनले वायर्डलाई बताएअनुसार उनले केही हप्ता अघि ह्वाट्सएपमा साथीहरूसँग भाइब-कोडिङ साइड प्रोजेक्टबारे छलफल गर्ने क्रममा यो सफ्टवेयर पत्ता लगाएका थिए ।
उनले आफ्नो मोल्टबोटलाई पोकी (Pokey) नाम दिएका छन् । पेगुइनले यसलाई आफ्नो कम्प्युटरमा इन्स्टल गरेर गुगल एप्स लगायतका थुप्रै अनलाइन अकाउन्टहरूसँग जोडेका छन् । यसको क्षमताबाट चकित परेका पेगुइन भन्छन्, "मैले आधारभूत रूपमा सबै कुरा स्वचालित गर्न सक्थेँ । यो जादुमय थियो ।"
अहिले 'पोकी' ले उनलाई बिहानको ब्रिफिङ दिने, कार्यदिन व्यवस्थित गर्ने, मिटिङहरू मिलाउने र क्यालेन्डरमा समय जुधेको खण्डमा त्यसलाई व्यवस्थापन गर्ने काम गर्छ । यति मात्र होइन, यसले बिल (इनभ्वाइस) हरूको कारोबार गर्ने र उनका छोराछोरीको परीक्षा वा गृहकार्यको समय नजिकिँदा उनलाई र उनकी श्रीमतीलाई सचेत गराउनेसम्मको काम गर्छ ।
स्टेनबर्गरले मोल्टबोटलाई अझ परिष्कृत बनाइरहेका छन् । जसको मुख्य उद्देश्य प्रयोगकर्ताको डेटाको सुरक्षा गर्नु हो । एआई सहायक प्रयोग गर्दा आफ्नो सम्पूर्ण निजी डेटा क्लाउडमा सुम्पिनु नपर्ने उनको भनाई छ । स्टेनबर्गरका अनुसार सन् २०२६ सम्ममा ठुला एआई कम्पनीहरूले व्यक्तिगत सहायकहरू ल्याउनेछन्, तर कसैले पनि 'आफ्नो डेटाको स्वामित्व आफैँसँग कसरी राख्ने ?' भन्ने प्रश्नको उत्तर दिएका छैनन् । उनले मोल्टबोटलाई यही समस्याको समाधानको रूपमा विकास गरेका हुन् ।
उनले १ जनवरीमा आफ्नो व्यक्तिगत बोटलाई प्रोजेक्टको डिस्कर्ड सर्भरमा राखेपछि यो भाइरल भएको थियो । स्टेनबर्गर भन्छन् कि यो प्रणाली प्राविधिक रूपमा धेरै जटिल छैन, यसले केवल उपलब्ध प्रविधिहरूलाई एक ठाउँमा जोड्ने काम गर्छ । तर, यसले प्रविधिलाई 'अदृश्य' बनाएर प्रयोगकर्तालाई दिने अनुभूति नै यसको सफलताको रहस्य हो ।
मोल्टबोटको लोकप्रियता सामाजिक सञ्जालमा डढेलो जस्तै फैलिएको छ । मोरिन नामक एक प्रयोगकर्ताले एक्समा लेखेकी छिन्, "च्याटजीपीटी लन्च भएपछि मैले भविष्यमा बाँचिरहेको महसुस गरेको यो पहिलो पटक हो ।" त्यस्तै, अमेजनमा कार्यरत अभिषेक कटियारले यसलाई च्याटजीपीटी, डिपसिक र क्लाउड कोडको शक्ति पहिलो पटक देख्दाको जोससँग तुलना गरेका छन् । उनले यसलाई प्रविधिको क्षेत्रमा भइरहेको एउटा 'आधारभूत परिवर्तन'को रूपमा व्याख्या गरेका छन्।
यो एआई यति शक्तिशाली छ कि नेदरल्यान्ड्सको एक स्वास्थ्य कम्पनीका सीटीओ आन्द्रे फोकेनले यसलाई आफ्नो क्रेडिट कार्ड विवरण र अमेजन लगइन दिएर सामान अर्डर गर्न लगाएको वायर्डले उल्लेख गरेको छ ।
मोल्टबोटले उनका मेसेज स्क्यान गरेर आफैँ सामान अर्डर गरिदिएको थियो । यद्यपि पछि सुरक्षाको कारणले उनले मेसेज स्क्यान गर्ने फिचर बन्द गरे, तर यसको क्षमताले उनलाई प्रभावित पारेको छ ।
यसले प्रयोगकर्ताले नभनीकन पनि 'प्रोजेक्ट एक्टिभ' भई काम गर्न सक्ने क्षमता राख्दछ ।
मोल्टबोट कुनै साधारण एप जस्तो सजिलै इन्स्टल गर्न सकिने सफ्टवेयर भने होइन । यसका लागि कमान्ड लाइनको ज्ञान, सर्भर कन्फिगरेसन र एपीआई किहरूको गहिरो सुझबुझ आवश्यक पर्छ । साल्ट सेक्युरिटीका एरिक श्वाकका अनुसार उपभोक्ताहरूको उत्साह र सुरक्षित रूपमा यसलाई चलाउन चाहिने प्राविधिक ज्ञानबिच ठुलो खाडल छ ।
यति हुँदाहुँदै पनि, यसले गिटहबमा ९० हजारभन्दा बढी स्टार पाइसकेको छ । मोल्टबोट सफल हुनुको अर्को कारण यसको अनौठो व्यक्तित्व हो । प्रयोगकर्ताले यसलाई सुरु गर्दा नै एउटा चरित्र तोक्न सक्छन्, जस्तै 'ट्र्याश पाण्डा,' 'एभ्रिथिङ इज फाइन' वा 'क्लासिक ग्रेमलिन' ।
यो व्यक्तित्व Soul.md नामक लोकल फाइलमा स्टोर हुन्छ । वायर्डका अनुसार, यसले दीर्घकालीन मेमोरीको रूपमा अन्य फाइलहरू प्रयोग गरेर अघिल्ला कुराकानीहरू र जानकारीहरू पनि सम्झन्छ । यसले गर्दा यो औसत च्याटबट जस्तो नभई एक वास्तविक र जीवित सहायक जस्तो महसुस हुन्छ ।
मोल्टबोटको क्रेज यति धेरै छ कि यसले क्लाउडफ्लेयर कम्पनीको शेयर मूल्यमा समेत १४ प्रतिशतको वृद्धि ल्याइदियो । किनकि डेभलपरहरूले मोल्टबोट चलाउन उक्त पूर्वाधार प्रयोग गरिरहेका थिए ।
रिब्रान्डिङमा स्क्यामरहरूको आक्रमण
जुन दिन मोल्टबोटको नाम परिवर्तन भयो, त्यस दिन स्टेनबर्गरका लागि 'डिजिटल डकैती' भन्दा कम थिएन । स्टेनबर्गरले आफ्नो गिटहब र एक्स ह्यान्डल परिवर्तन गर्ने क्रममा केही सेकेन्डको ढिलाइ हुँदा बोटहरूले पुराना नामहरू कब्जा गरिसकेका थिए ।
त्यस लगत्तै क्रिप्टो स्क्यामरहरूले ती नक्कली प्रोफाइलहरू प्रयोग गरेर नक्कली क्रिप्टो टोकनहरू बिक्री गर्न थाले । एउटा नक्कली टोकनको बजार मूल्य केही बेरमै १६ मिलियन डलरसम्म पुगेको थियो ।
स्टेनबर्गरले बिजनेस इन्साइडरसँगको कुराकानीमा भनेका छन्, "रिब्रान्डिङको दिन जे जति गलत हुन सक्थ्यो, सबै गलत भयो ।" उनले यो सफ्टवेयर अझै पनि भाइब-कोडेड अर्थात् पूर्ण रूपमा परिपक्व नभएको र सुरक्षाका धेरै पाटोहरू मिलाउन बाँकी रहेको बताएका छन् ।
लोकल-फर्स्ट एआई
मोल्टबोटको एउटा सकारात्मक पक्ष भनेको यसको 'लोकल-फर्स्ट' अवधारणा हो । स्टेनबर्गर चाहन्छन् कि एआई चलाउँदा प्रयोगकर्ताको डेटा क्लाउडमा नभई आफ्नै कम्प्युटरमा सुरक्षित रहोस् ।
वायर्डका अनुसार मोल्टबोटले सबै जानकारी प्रयोगकर्ताको आफ्नै डिभाइसमा मार्कडाउन (Markdown) फाइलका रूपमा सुरक्षित गर्दछ । यसले प्रयोगकर्तालाई आफ्नो डेटाको मालिक आफैँ भएको महसुस गराउँ छ।
तर, हुडसन रकका अनुसन्धानकर्ताहरूले यस्ता महत्वपूर्ण जानकारीहरू इन्क्रिप्सन बिना प्लेन टेक्स्टमा राख्दा मालवेयरको खतरा झनै बढ्ने खतरा औँल्याएका छन् । यदि कसैको कम्प्युटरमा सामान्य भाइरस छिर्यो भने, उसले मोल्टबोटले जम्मा गरेका सबै पासवर्ड र गोप्य कुराहरू एकै पटकमा चोर्न सक्छ ।
पछिल्लो अध्यावधिक: माघ १५, २०८२ ११:४६
