काठमाडौँ । केही समययता सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा एउटा सानो पेन्गुइनको भिडिओले विश्वव्यापी रूपमा भाइरल भइरहेको छ । हिउँको विशाल र निर्जन मैदानमा आफ्नो समूहलाई चटक्कै छोडेर एक्लै अग्ला पहाडहरूतर्फ लम्किरहेको उक्त पेन्गुइनलाई इन्टरनेट प्रयोगकर्ताहरूले 'निहिलिस्ट पेन्गुइन'को नाम दिएका छन् ।
यो दृश्यले आधुनिक मानव जीवनमा व्याप्त मानसिक थकान (burnout), विरक्ति र सबै जिम्मेवारीहरूबाट मुक्त भएर कतै टाढा जाने तीव्र इच्छालाई प्रतिविम्बित गरेको मानिएको छ । अहिले भाइरल भइरहेको यो क्लिप कुनै नयाँ भिडिओ भने होइन ।
यो सन् २००७ मा चर्चित फिल्म निर्माता वर्नर हर्जोग द्वारा निर्देशित डकुमेन्ट्री 'एनकाउन्टर एट द एन्ड अफ द वर्ल्ड'बाट लिइएको एउटा सानो अंश हो । लगभग १ घण्टा ४० मिनेट लामो उक्त डकुमेन्ट्रीमा पेन्गुइनका बारेमा करिब पाँच मिनेट चर्चा गरिएको छ, जसमा २० वर्षदेखि पेन्गुइनको अध्ययन गरिरहेका विज्ञ डा डेभिड एन्लीले यसको अनौठो व्यवहारबारे प्रकाश पारेका छन् ।
डकुमेन्ट्रीमा देखाइए अनुसार पेन्गुइनको एउटा ठुलो समूह खाने कुराको खोजीमा समुद्रतर्फ अघि बढिरहेको हुन्छ । तर, तीमध्ये एउटा एडिली (Adélie) पेन्गुइन अचानक बीचमै रोकिन्छ र आफ्नो समूहभन्दा बिल्कुलै फरक दिशा अर्थात् ७० देखि ८० किलोमिटर टाढा रहेका विशाल पहाडहरू तर्फ दौडिन थाल्छ ।
डकुमेन्ट्रीका निर्माता वर्नर हर्जोगले पेन्गुइनको यो यात्रालाई 'डेथ मार्च' (मृत्युको यात्रा) को संज्ञा दिएका छन् । किनभने आहार र पानीको स्रोत नभएको महादेशको भित्री भाग र पहाडतर्फ लाग्ने पेन्गुइनको मृत्यु निश्चित हुन्छ । डकुमेन्ट्रीका कथावाचकका अनुसार, उक्त पेन्गुइन ५,००० किलोमिटर टाढाको निश्चित मृत्युतर्फ निरन्तर अघि बढिरहेको हुन्छ ।
Antarctic Digital Heritage नामक युट्युब च्यानलमा रहेको उक्त डकुमेन्ट्री तपाईंले पनि हेर्न सक्नु हुनेछ।

यही दृश्यलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले 'निहिलिजम' सँग जोडेर हेरेका छन् । निहिलिजम एउटा यस्तो दर्शन हो, जसले जीवन, मूल्य र अर्थको अन्तर्निहित अस्तित्वलाई नै अस्वीकार गर्दछ । मानिसहरूले आफ्नो मूल्यहीन महसुस हुने जीवनसँग यो पेन्गुइनलाई तुलना गरिरहेका छन् ।
कतिपयले यसलाई सबै कुरा पछाडि छोडेर आफ्नो सपनाको पछाडि दौडिएको सकारात्मक अर्थमा व्याख्या गरेका छन् भने कतिपय यो आत्मघाती कदम देखेर भावुक बनेका छन् ।
मानिसहरूले यसलाई दार्शनिक रूपमा व्याख्या गरे तापनि चिकित्सकहरूले यसलाई गम्भीर स्वास्थ्य समस्याका रूपमा हेरेका छन् । भारतको एम्समा तालिम प्राप्त न्युरोलोजिस्ट डा राहुल चावलाले पेन्गुइनको यो व्यवहारलाई मानिसमा देखिने अल्जाइमररोगको लक्षणसँग तुलना गरेका छन् ।
डा चावलाका अनुसार पेन्गुइनको यो अवस्था भिजुओस्पेसियल डिसफङ्सन (Visuospatial Dysfunction) हुन सक्छ, जसमा मस्तिष्कको आन्तरिक नेभिगेसन प्रणाली बिग्रन्छ । अल्जाइमरका बिरामीहरूले जसरी आफ्नो परिचित ठाउँलाई अचानक अपरिचित महसुस गर्छन् र दिशाहीन भएर भौतारिन्छन् । त्यसरी नै यो पेन्गुइनले आफ्नो बासस्थान र समूहलाई चिन्न छोडेर हिँडेको हुन सक्ने वैज्ञानिक सम्भावना छ ।
पेन्गुइनहरू स्वभावैले अत्यन्तै सामाजिक र सामूहिक प्राणी हुन् । स्मिथसोनियन रिसर्च अनलाइनमा प्रकाशित प्रेस्टन फोर्डरको अनुसन्धान (२०१३) का अनुसार, पेन्गुइनहरूमा व्यवहारिक तालमेल एकदमै बलियो हुन्छ । सेन्ट्रल पार्क चिडियाखानामा गरिएको अध्ययनले देखाएअनुसार चिन्स्ट्र्याप र जेन्टु प्रजातिका पेन्गुइनहरू बन्दी अवस्थामा रहँदा पनि आफ्नो समूहसँगै बस्न, उभिन र पौडी खेल्न मन पराउँछन् ।
यो अनुसन्धानले पुष्टि गरेअनुसार समूहमा रहँदा मात्र पेन्गुइनहरू सुरक्षित र सफल हुन्छन्, किनकि उनीहरूले खाना खोज्न र शिकारीबाट बच्न एक-अर्काको चाललाई हुबहु नक्कल गर्छन् । त्यसैले, भाइरल भिडिओको पेन्गुइनले आफ्नो समूह छोड्नु जीववैज्ञानिक हिसाबले एकदमै अस्वाभाविक र आत्मघाती कदमको रूपमा हेरिएको छ ।
डकुमेन्ट्रीमा डा हेनरीले उल्लेख गरेअनुसार, यदि त्यो पेन्गुइनलाई समातेर पुनः समूहमा ल्याइदिएको भए पनि उ तत्काल फर्किएर पुनः हिमालतर्फ नै भाग्ने गर्दछ ।
सामाजिक सञ्जाल केही प्रयोगकर्ताहरूले यो पेन्गुइनले केवल पागलपन वा आत्महत्याको सङ्केत गरेको र यस्तो दुखद अवस्थालाई 'हिरो' को रूपमा चित्रण गर्नु गलत भएको तर्क समेत गरेका छन् ।
पछिल्लो अध्यावधिक: माघ १५, २०८२ १३:३०
