close

समयमै बक्यौता नतिर्दा नागरिक एपमा रोकियो एनटीसीको ओटीपी, नयाँ प्रयोगकर्तालाई सास्ती

टेकपाना टेकपाना

माघ २१, २०८२ १६:१

समयमै बक्यौता नतिर्दा नागरिक एपमा रोकियो एनटीसीको ओटीपी, नयाँ प्रयोगकर्तालाई सास्ती

काठमाडौँ । सरकारी सेवाहरूलाई एकीकृत रूपमा प्रवाह गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको नागरिक एपमा नेपाल टेलिकमका प्रयोगकर्ताहरूलाई नयाँ खाता दर्ता गर्न समस्या देखिएको छ ।

मंगलबारदेखि नयाँ प्रयोगकर्ताले आफ्नो एनटीसी नम्बर प्रयोग गरी दर्ता प्रक्रिया अगाडि बढाउन खोज्दा एपमा ‘Registration through the NTC operator is temporarily unavailable. Please try again later’ (नेपाल टेलिकममार्फत दर्ता प्रक्रिया हाललाई उपलब्ध छैन) भन्ने सन्देश देखाउने गरेको छ । यसले गर्दा विशेषगरी नयाँ प्रयोगकर्ताहरू एपको सेवाबाट वञ्चित भएका छन् ।

यो समस्या प्राविधिकभन्दा पनि व्यवस्थापकीय र आर्थिक कारणले उब्जिएको पाइएको छ । नागरिक एपले पठाउने वन टाइम पासवर्ड (ओटीपी) र अन्य एसएमएस सेवाबापत नेपाल टेलिकमलाई तिर्नुपर्ने बक्यौता रकम लामो समयदेखि भुक्तानी नभएपछि टेलिकमले यो सेवा अस्थायी रूपमा रोकेको बुझिएको छ ।

विगतमा राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) ले नागरिक एपको सञ्चालन र व्यवस्थापन गर्दै आएको थियो । पछिल्लो समय सरकारले एनआईटीसीलाई खारेज गरी यसको जिम्मेवारी सूचना प्रविधि विभागलाई सुम्पिएको छ । नागरिक एपको जिम्मेवारी लिएको विभागले टेलिकमलाई पुरानो बक्यौताको राफसाफ गर्ने प्रक्रिया ढिला गर्दा नयाँ रजिस्ट्रेसनमै रोकिन पुगेको हो ।

बक्यौता भुक्तानीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको र नेपाल टेलिकमलाई यसबारे पत्राचार समेत गरिसकेको विभागका महानिर्देशक श्री चन्द्र साहले जानकारी दिए ।

"हामीले भुक्तानी प्रक्रिया अगाडि बढाइसकेका छौँ । टेलिकमसँग पनि निरन्तर समन्वय भइरहेको छ," उनले टेकपानासँग भने, "आजै (बुधबार) एनटीसी प्रयोगकर्ताहरूले सहजै एपमा दर्ता गर्न सक्नेछन् ।"

‘नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८’ को प्रस्तावनामा सार्वजनिक निकायमा रहेका विवरणहरूलाई अन्तर-आबद्धता कायम गरी नागरिकलाई छिटो, छरितो र मितव्ययी रूपमा सेवा प्रवाह गर्ने उल्लेख छ । तर, सरकारी निकायहरूबिचमै समन्वय नदेखिँदा नागरिकले सास्ती पाउनु परेको छ । एनसेल प्रयोगकर्तालाई भने नागरिक एप दर्तामा समस्या परेको छैन ।

अपडेट: ​एनटीसी नम्बरमा ओटीपी नआउने नागरिक एपको समस्या समाधान भएको छ ।

पछिल्लो अध्यावधिक: माघ २१, २०८२ १८:१८