धर्म र आस्थाबारे गलत प्रचार गरेको भन्दै डा. स्वर्णिम वाग्लेले दिए साइबर ब्युरोमा उजुरी
माघ २२, २०८२ १५:४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो धर्म, व्यक्तिगत आस्था र चरित्रमा आँच पुर्याउने गरी भ्रामक सामग्री फैलाइएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । वाग्लेले सामाजिक सञ्जालमार्फत धार्मिक तथा सामाजिक सद्भाव खल्बल्याउने उद्देश्यले आफूविरुद्ध नियोजित भ्रम सिर्जना गरिएको दाबी गर्दै बिहीबार उजुरी दर्ता गराएका हुन् ।
ब्युरोमा दिइएको उजुरीमा डा. वाग्लेले बागमती प्रदेशकी सांसद लक्ष्मी घिमिरे र अर्का व्यक्ति मोहन लामा रुम्बाले आफूविरुद्धका भ्रामक सामग्रीलाई सामाजिक सञ्जालमा शेयर तथा प्रवर्द्धन गरेको आरोप लगाएका छन् । उनले ‘विकिपिडिया’ जस्ता ओपन सोर्स प्लेटफर्ममा एकै दिन १३५ पटकसम्म गलत विवरण इन्ट्री गरी त्यसको स्क्रिनशट फेसबुक र एक्समा व्यापक रूपमा प्रचार गरिएको उल्लेख गरेका छन् । ती सामग्री तत्काल हटाउन र दोषीमाथि छानबिन गरी कडा कानुनी कारबाही गर्न उनले माग गरेका छन् ।
डा. वाग्लेले उजुरीमा पछिल्लो समय सामाजिक सञ्जालमा आफ्नो धर्म र व्यक्तिगत विचारलाई तोडमोड गरी जनमानसमा नकारात्मक धारणा पैदा गराउने संगठित प्रयास भइरहेको बताएका छन् । आफूले कहिल्यै नबोलेका र नलेखेका विषयलाई मनगढन्ते रूपमा प्रस्तुत गरी प्रचार गरिएको भन्दै उनले यसबाट व्यक्तिगत प्रतिष्ठा र सामाजिक सहअस्तित्वको मूल्यमा गम्भीर आघात पुर्याएको उल्लेख गरेका छन् ।
आफ्नो धार्मिक आस्थाबारे स्पष्ट पार्दै डा. वाग्लेले आफू हिन्दु धर्मावलम्बी भएको र ‘सनातन सभ्यता’ को जगेर्ना गर्ने राजनीतिक प्रतिबद्धता रहेको बताएका छन् । साथै, आफू बहुलवादी लोकतान्त्रिक दलको सदस्य भएको नाताले धार्मिक-सांस्कृतिक विविधता, पारस्परिक सम्मान र सहअस्तित्वमा विश्वास गर्ने उल्लेख गरेका छन् । राजनीतिक स्वार्थका लागि गलत सूचना र फेक सामग्री प्रयोग गरी जनमत प्रभावित पार्न खोज्नु गम्भीर अपराध भएको उनको ठहर छ ।
उजुरीमा उनले लेखेका छन्, “व्यक्तिगत आस्थाको विषयमा म हिन्दु हुँ र आफु आबद्ध राजनीतिक दलले 'सनातन सभ्यता' को जगेर्ना गर्ने प्रतिबद्धता गरेको छ । साथसाथै, हामी बहुलवादी लोकतान्त्रिक दल पनि भएकोले धार्मिक-सांस्कृतिक विविधतालाई पारस्परिक सम्मान र सह-अस्तित्वका सिद्धान्तका आधारमा कोहीपनि अल्पसङ्ख्यक समुदायको सदस्य यो देशमा असुरक्षित हुनुहुन्न भन्ने दृढ मान्यता राख्दछौँ । तर मेरो पहिचान, चरित्र, प्रतिष्ठा र राजनीतिक जीवनमा आघात पुर्याउन विकिपिडियामा फरक धर्म उल्लेख गराएर व्यापक प्रचार प्रसार गरिएको थाहा हुन आयो । एउटा सरल प्रविधिको दुरुपयोग गर्दै गलत राजनीतिक उद्देश्य लिए सुनियोजित रूपमा भ्रम फैलाउनेहरू असहिष्णु, अराजनीतिक अधर्मीहरू हुन् भन्ने मेरो बुझाइ छ ।”
उनले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत यस्तो कार्य गैरकानुनी र दण्डनीय हुने उल्लेख गरेका छन् । कम्प्युटर र इन्टरनेटको दुरुपयोग गरी घृणा र द्वेष फैलाउने व्यक्ति तथा समूहको पहिचान गरी मुलुकी अपराध संहिता बमोजिम फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन उनले प्रहरीसँग आग्रह गरेका छन् ।
पछिल्लो अध्यावधिक: माघ २२, २०८२ १६:५
