close

फेसबुक लाइभ बुस्टमा 'को बन्छ लखपति ?', स्क्याम हो कि होइन जान्न यसरी सोध्न सकिन्छ च्याटजीपीटीलाई

टेकपाना टेकपाना

माघ २७, २०८२ १२:३१

फेसबुक लाइभ बुस्टमा 'को बन्छ लखपति ?', स्क्याम हो कि होइन जान्न यसरी सोध्न सकिन्छ च्याटजीपीटीलाई

 

काठमाडौँ । अनलाइन ठगी (स्क्याम) का शैलीहरू दिनप्रतिदिन जटिल र पहिचान गर्न असम्भव जस्तै बन्दै गएका छन् । अझ सामाजिक सञ्जाल प्लेटफर्महरू पनि आफ्नो आम्दानीका लागि त्यस किसिमका ठगीमा मतियार नै बनिरहेका हुन्छन् ।

यसको ज्वलन्त उदाहरण हो, फेसबुक । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटाले सन् २०२४ मा ठगी र जालसाजी जन्य विज्ञापनबाट १६ अर्ब डलर कमाएको खुलासा भइसकेको छ । फेसबुकले स्क्यामलाई आम्दानीको माध्यम बनाएपछि प्रयोगकर्तालाई झन् सुरक्षा चुनौती थपिएको छ । फेसबुकमा स्क्याम पोस्ट बुस्ट (विज्ञापन) गर्ने र भेरिफाइड पेज बनाएर ठगी गर्ने घटना अब सामान्य जस्तै बन्दै गएका छन् ।

यस्तो बेला प्रख्यात साइबर सुरक्षा कम्पनी माल्वेयरबाइट्सले च्याटजीपीटीसँग सहकार्य गर्दै एआई च्याटबट भित्रै एकीकृत सुरक्षा सेवा ल्याएको छ ।

यो च्याटजीपीटीभित्र सिधै उपलब्ध हुने विश्वकै पहिलो साइबर सुरक्षा सेवा हो । यो एकीकरणले प्रयोगकर्ताहरूलाई च्याट छोडेर अन्यत्र नगईकन शङ्कास्पद लिङ्क, फोन नम्बर र ईमेलहरू तत्कालै जाँच गर्न अनुमति दिन्छ । यो सेवा माल्वेयरबाइट्सको दशकौँ पुरानो 'थ्रेट इन्टेलिजेन्स' डेटाबेसमा आधारित छ ।

जसमा फिशिङ स्क्याम, मालवेयर र हानिकारक डोमेनहरूको विशाल तथ्याङ्क रहेको छ । यसले लिङ्कहरूको रेपुटेसन (प्रतिष्ठा), स्वामित्व विवरण र जोखिमको स्तर तत्काल विश्लेषण गर्दछ ।

कसरी गर्ने प्रयोग ?

यो सुविधा प्रयोग गर्न निकै सरल छ र यसका लागि माल्वेयरबाइट्सको छुट्टै अकाउन्ट वा शुल्क आवश्यक पर्दैन । सबैभन्दा पहिले आफ्नो च्याटजीपीटी एप वा ब्राउजरमा जानु पर्ने हुन्छ । (यहाँ हामीले कम्प्युटरको वेब ब्राउजर प्रयोग गरेका छौँ ।)

सबैभन्दा पहिला च्याटजीपीटी र मालवेयर बाइट्सलाई एक अर्कासँग लिङ्क गर्नुपर्ने हुन्छ । यसका लागि च्याटजीपीटी खोल्नुहोस् र त्यसमा लगइन गर्नुहोस् । अब तल बायाँ कुनातर्फ रहेको आफ्नो प्रोफाइल आइकनमा क्लिक गर्नुहोस् र सेटिङमा जानुहोस् । 

च्याटजीपीटीको Settings भित्र रहेको Apps विकल्पमा क्लिक गर्नुहोस् । 

Apps मा गइसकेपछि Explore apps भन्ने विकल्प छान्नुहोस् । 

अब यहाँ तपाईंले च्याटजीपीटीमा लिङ्क गर्न सकिने विभिन्न एपहरू देख्न सक्नु हुनेछ । त्यसको माथि सर्च बक्समा Malwarebytes टाइप गर्नुहोस् र तल देखिने माल्वेयर बाइट्स एपमा क्लिक गर्नुहोस् । 

Malwarebytes लाई च्याटजीपीटीसँग जोड्न Connect मा क्लिक गर्नुहोस् । 

यसरी एक पटक कनेक्ट गरेपछि मालवेयर बाइट्स सधैँका लागि तपाईँको च्याटजीपीटीमा उपलब्ध हुन्छ ।

 

यति गरिसकेपछि यदि तपाईंलाई कुनै मेसेज वा इमेल शङ्कास्पद लाग्यो भने च्याटजीपीटीमा @Malwarebytes, Malwarebytes, is this a scam? (के यो स्क्याम हो ?) भनेर सोध्न सक्नुहुन्छ । तपाईंले शङ्कास्पद मेसेजलाई पेस्ट गर्न वा त्यसको स्क्रिनशट अपलोड गर्न सक्नुहुन्छ ।

माल्वेयरबाइट्सले उक्त मेसेजमा प्रयोग गरिएको भाषा, पठाउनेको विवरण र लिङ्कहरूको सूक्ष्म अध्ययन तथा विश्लेषण गर्छ । माल्वेयरबाइट्सका अनुसार यसले ३० दिनभन्दा कम समयअघि दर्ता भएका नयाँ डोमेनहरू, रिडाइरेक्ट हुने लिङ्कहरू र अन्तर्राष्ट्रिय स्क्याम अपरेसनमा प्रयोग हुने फोन नम्बरहरूलाई तुरुन्तै पहिचान गरी चेतावनी दिन्छ ।

यदि कुनै सामग्री सुरक्षित देखिएन भने माल्वेयरबाइट्सले प्रयोगकर्तालाई 'ब्लक गर्ने', 'जवाफ नदिने' वा 'आधिकारिक माध्यमबाट मात्र सम्पर्क गर्ने' जस्ता व्यावहारिक सुझावहरू पनि दिन्छ ।

अब हाम्रो मूल प्रश्नमा फर्कौं र फेसबुक लाइभमा बुस्ट गरिएको पोस्ट स्क्याम हो कि होइन भन्ने कुरा यकिन गर्न तर्फ लागौँ । त्यहाँ एक जना मानिस बोलिरहेका छन्, पृष्ठभूमिमा एउटा विज्ञापन जस्तो सामग्रीसँगै चिट्ठा खेलाइरहेको जस्तो देखिन्छ भने पोस्टको कमेन्ट बक्समा लाइभ गर्ने पेजकै कमेन्ट पिन गरिएको छ । जसमा एउटा लिङ्क समेत समावेश छ । 

 सुरुमा च्याटजीपीटीमा यसरी ‘@Malwarebytes के यो स्क्याम हो ?’ भनेर सौधौँ है त । 

 

मालवेयर बाइट्सको सहयोगमा च्याटजीपीटीले स्क्रिनशटको विश्लेषण गरी यो स्क्याम हुनसक्ने सम्भावना ९९ प्रतिशत देखाउनुका साथै यस्तो ठगी कसरी चल्छ र तपाईं कसरी जोगिने भन्ने उपायहरू समेत बताउँछ । 

यस बाहेक हामीसँग यो फेसबुक लाइभ पोस्ट स्क्याम हो कि होइन भनेर चेक गर्ने अर्को आधार पनि छ, त्यो हो कमेन्ट बक्समा उपलब्ध गराइएको लिङ्क । अब उक्त लिङ्क समावेश गरेर अघि जस्तै गरी पुनः च्याटजीपीटीलाई सोधौँ । 

मालवेयर बाइट्सको सहयोगमा च्याटजीपीटीले उपलब्ध गराएको लिङ्क विश्लेषण गरेर लिङ्क थ्रेट डेटाबेसमा नभेटिए पनि यस्तो लिङ्क स्क्यामरहरूले प्रयोग गर्ने गरेको र शङ्कास्पद र स्क्याम हुने सम्भावना उच्च रहेको जवाफ दियो । 

 

यो सुविधाको अर्को रोचक पक्ष भनेको 'टु–वे रिपोर्टिङ' हो । जसको अर्थ यदि तपाईँले कुनै नयाँ प्रकारको स्क्याम फेला पार्नु भयो भने च्याटजीपीटीभित्रै रहेको Report as Suspicious बटन थिचेर सिधै रिपोर्ट गर्न सक्नु हुन्छ । 

जस्तै हामीले माथि लिङ्क स्क्याम हो कि होइन भनेर सोध्ने क्रममा मालवेयरबाइट्सको थ्रेट इन्टेलिजेन्स रिपोर्ट पनि समावेश गरिएको छ । तलको स्क्रिनशटमा देखाए जस्तै Report as Suspicious मा थिच्न सकिन्छ ।

 

यसले कम्पनीको डेटाबेसलाई अझ बलियो बनाउन र अन्य प्रयोगकर्ताहरूलाई त्यस्ता ठगीबाट जोगाउन मद्दत पुर्‍याउँछ । यो नयाँ फिचर च्याटजीपीटीमा नि:शुल्क रूपमा उपलब्ध रहेको छ । यो एउटा यस्तो 'रियल-टाइम' सुरक्षा सहयोगी हो, जसले तपाईंलाई क्लिक गर्नुअघि वा पैसा पठाउनुअघि सचेत गराउँछ ।

पछिल्लो अध्यावधिक: माघ २७, २०८२ १४:५८