close

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै सेतोपाटीमाथि प्रेस काउन्सिलले थाल्यो कारबाही

टेकपाना टेकपाना

फागुन ४, २०८२ २२:३३

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै सेतोपाटीमाथि प्रेस काउन्सिलले थाल्यो कारबाही

काठमाडौँ । निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता विपरीत उम्मेदवारहरूको हार-जीतलाई लिएर एकपक्षीय सामग्री सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले अनलाइन पोर्टल सेतोपाटी डटकममाथि कारबाही प्रक्रिया थालेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले सेतोपाटीले ३ फागुनमा निर्वाचन र मतदातालाई प्रभाव पार्ने गरी मत सर्वेक्षणको शैलीमा उम्मेदवारको नामै किटान गरेर सामग्री प्रकाशन गरेको भन्दै कारबाही प्रक्रिया सुरु भएको जनाएको हो ।

काउन्सिलका सहप्रवक्ता रामशरण बोहराद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “पछिल्लो समय सेतोपाटी डटकम (Setopati.com) बाट मिति २०८२/११/०३ गते निर्वाचन तथा मतदातालाई प्रभाव पार्ने किसिमबाट चुनावी विश्लेषण भनी मत सर्वेक्षणको शैलीमा उम्मेदवारको नाम नै किटान गरी ‘जित्नेछन्..’ सम्प्रेषण भएकोप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयमा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) र निर्वाचन आचारसंहिता, २०८२ को व्यवस्थाअनुरूप कारबाही प्रक्रिया प्रारम्भ गरिएको छ ।”

विज्ञप्तिमा २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सञ्चार माध्यमहरूबाट आचारसंहिता पालना भए/नभएको विषयमा विशेष अनुगमन भइरहेको उल्लेख छ । अनुगमनका क्रममा केही सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मतदाताको गोपनीयता भङ्ग हुने गरी ‘कसलाई भोट दिनुहुन्छ ?’ भनी सोध्ने र कुनै दल विशेषको पक्षपोषण हुने गरी सामग्री पस्किने गरेको पाइएको काउन्सिलको ठहर छ ।

काउन्सिलले सञ्चार माध्यमहरूलाई सत्य, तथ्य र सन्तुलित समाचार मात्र सम्प्रेषण गर्न र कसैको पक्ष वा विपक्षमा हुने गरी भ्रमपूर्ण सामग्री प्रकाशन नगर्न सचेत गराएको छ । उम्मेदवारको मनोनयन दर्ता भएदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको हार-जीतको पूर्वानुमान वा मतपरिणामको घोषणा गर्न नहुने व्यवस्था आचारसंहितामा रहेको काउन्सिलले स्मरण गराएको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन भएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही हुने व्यहोरा समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । काउन्सिलले मतदाताको विवेकलाई प्रभाव पार्ने र गोप्य मतदानको अधिकारमा प्रतिकूल असर पार्ने विषयमा संवेदनशील हुन सम्पूर्ण सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई अनुरोध गरेको छ ।

 

पछिल्लो अध्यावधिक: फागुन ४, २०८२ २३:३