close

विश्वकै पहिलो ‘ट्रिलिनियर’ बन्ने सङ्घारमा रहेका मस्क भन्छन्- मसँग ८५ करोड डलर मात्र नगद छ

टेकपाना टेकपाना

फागुन ५, २०८२ १८:४७

विश्वकै पहिलो ‘ट्रिलिनियर’ बन्ने सङ्घारमा रहेका मस्क भन्छन्- मसँग ८५ करोड डलर मात्र नगद छ

काठमाडौँ । विश्वकै धनाढ्य एलन मस्कले आफ्नो कुल सम्पत्तिमध्ये नगद रकम निकै कम रहेको खुलासा गरेका छन् । सामाजिक सञ्जाल ‘एक्स’मा प्रयोगकर्तासँगको अन्तरक्रियाका क्रममा उनले आफ्नो सम्पत्ति र नगदको अवस्थाबारे स्पष्ट पारेका हुन् ।

फोर्ब्स म्यागजिनको ‘रियल टाइम बिलिनियर’ सूची अनुसार हाल मस्कको कुल सम्पत्ति ८४९.३ अर्ब डलर रहेको छ । यो सम्पत्ति टेस्ला, स्पेसएक्स र एक्सएआई कम्पनीको शेयर मूल्यमा आधारित छ । यति ठुलो सम्पत्तिका मालिक भए पनि मस्कले आफूसँग कुल सम्पत्तिको तुलनामा ०.१ प्रतिशतभन्दा कम नगद रहेको बताएका छन् । ८४९ अर्ब डलरको ०.१ प्रतिशत भनेको करिब ८५ करोड डलर (करिब एक खर्ब २३ करोड रुपैयाँ बढी ) हुन आउँछ ।

निक क्रुज नामका एक प्रयोगकर्ताले फोर्ब्सको अर्बपति सूचीको स्क्रिनशट शेयर गर्दै मस्क यसै वर्ष विश्वको पहिलो ‘ट्रिलिनियर’ (१० खर्ब डलर बढीको मालिक) बन्ने सम्भावनाबारे चर्चा गरेका थिए । ‘कल्सी’ (Kalshi) नामक प्रेडिक्सन मार्केट प्लेटफर्मका अनुसार मस्क यसै वर्षभित्रै ट्रिलिनियर बन्ने सम्भावना ७५ प्रतिशत रहेको छ ।

सोही पोस्टमा प्रतिक्रिया दिँदै मस्कले लेखेका छन्, “मेरो कुल सम्पत्ति लगभग पूर्ण रूपमा टेस्ला र स्पेसएक्समा रहेको मेरो स्वामित्वका कारण देखिएको हो । मसँग नगदमा ०.१ प्रतिशतभन्दा कम मात्रै छ ।” उनले अगाडि थपेका छन्, “टेस्ला र स्पेसएक्सका कर्मचारीले पनि स्टक अप्सन पाउँछन् । टेस्लाको ८० प्रतिशतभन्दा बढी स्वामित्व साना लगानीकर्ता र पेन्सन फण्डको हातमा छ । त्यसैले कम्पनीको मूल्य बढ्दा त्यसको ८० प्रतिशतभन्दा बढी फाइदा उनीहरूलाई नै हुन्छ ।”

पछिल्लो समय स्पेसएक्स र मस्कको एआई कम्पनी एक्सएआईबिचको मर्जरपछि बनेको एकीकृत कम्पनीको भ्यालुएसन १.२५ ट्रिलियन डलर पुगेको छ । यस कम्पनीमा मस्कको ४३ प्रतिशत हिस्सा छ । यसको मूल्य मात्रै ५३० अर्ब डलरभन्दा बढी हुन्छ । यसका साथै टेस्लामा उनको १२ प्रतिशत शेयर र ठूलो मात्रामा स्टक अप्सन रहेका छन् ।

मस्कले आफू ‘क्यास पुअर’ (नगद अभाव भएको) बताएको यो पहिलो पटक भने होइन । सन् २०१९ मा पनि उनले भनेका थिए, “केही मानिसहरू मलाई धेरै नगद भएको ठान्छन्, तर वास्तवमा म त्यस्तो छैन ।”

कल्सीको प्रक्षेपण अनुसार स्पेसएक्स र टेस्लाको बढ्दो बजार मूल्यका कारण मस्क सन् २०२७ सम्ममा आधिकारिक रूपमा विश्वकै पहिलो ट्रिलिनियर बन्ने ७८ प्रतिशत निश्चित छ । मस्कले आफू ट्रिलिनियर बन्ने क्रममा अन्य हजारौँ मानिसलाई पनि लखपति र करोडपति बनाइसकेको दाबी गरेका छन् । यद्यपि उनको वास्तविक सम्पत्ति बजारको उतारचढाव र कम्पनीको शेयर मूल्यमा निर्भर रहनेछ ।

पछिल्लो अध्यावधिक: फागुन ५, २०८२ १८:५७