सेतोपाटीका प्रधान सम्पादक ढकालमाथि सामाजिक सञ्जालमा ट्रोल गरिएकोप्रति पत्रकार महासङ्घको आपत्ति
फागुन ५, २०८२ २३:२३
काठमाडौँ । सेतोपाटी अनलाइनका प्रधान सम्पादक अमित ढकालमाथि सामाजिक सञ्जालमा ट्रोल गरिएको प्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ । मङ्गलबार एक विज्ञप्ति मार्फत ट्रोल गर्नुको साटो सञ्चारमाध्यमका सामग्रीप्रति असहमत पक्षले विधिअनुसार समाधान खोज्न महासङ्घले आग्रह गरेको हो ।
सेतोपाटी अनलाइनले यही ३ फागुनमा चितवन क्षेत्र नम्बर ३ को निर्वाचनको नतिजा आँकलन गरेको विषय र ४ गते सोही अनलाइनले निर्वाचन शीर्षकमै प्रकाशित गरेको समाचार निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता विपरीत रहेको ठहर निर्वाचन आयोगले गरेको थियो । सो विषयमा आएका टिप्पणी प्रति पनि महासङ्घले ध्यानाकर्षण जनाएको छ ।
भविष्यमा यस्ता घटनाहरू नदोहोर्याउन सम्बन्धित पक्षसँग महासङ्घले आग्रह गरेको छ । "पत्रकारिताको सिद्धान्त र आचारसंहिताको पालना गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गरी स्वस्थ, स्वतन्त्र, धाँधली रहित शान्तिपूर्ण निर्वाचन सम्पन्न हुने वातावरण निर्माणमा आम सञ्चार माध्यम र पत्रकारहरूको अहम् भूमिका रहनेमा सन्देह छैन । यसतर्फ समग्र सञ्चार क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको र गर्दै आएको सर्वविदितै छ," विज्ञप्तिमा भनिएको छ ।
निर्वाचनका बेला मिथ्या सूचनाबाट मतदातालाई प्रभावित पार्ने सम्भावना रहने भएकाले पत्रकारिताको सिद्धान्त र पत्रकार आचारसंहिताप्रति विशेष ध्यान दिन पनि महासङ्घले आम सञ्चार माध्यम र पत्रकारलाई आग्रह गरेको छ ।
निर्वाचनको दिन नजिकिएसँगै केही अनलाइन सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा युट्युबबाट विचार, प्रचार र समाचार प्रवाह हुँदा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताको पालनामा ध्यान नदिएको गुनासोप्रति महासङ्घले चासो व्यक्त गरेको छ ।
महासङ्घले समग्र सञ्चारमाध्यम र सञ्चारकर्मीहरूलाई निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै आफ्ना सामग्रीहरू प्रकाशन र प्रसारण गर्न पनि आह्वान गरेको छ ।
पछिल्लो अध्यावधिक: फागुन ५, २०८२ २३:२३
