नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउने रास्वपाको वाचा, १० वर्षमा ३० अर्ब डलरको आईटी निर्यात गर्ने लक्ष्य
फागुन ७, २०८२ १७:१२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार सुर्खेतबाट आयोजित सभामा सार्वजनिक गरिएको घोषणापत्रमा रास्वपाले डिजिटल सुशासनदेखि आईटी सेवा निर्यात र साइबर सुरक्षा क्षेत्रका कार्यक्रम समेटेको छ ।
यसअन्तर्गत राष्ट्रिय परिचयपत्रलाई एकीकृत डिजिटल डेटाबेसको आधार बनाएर सरकारी सेवा प्रवाहलाई ‘फेसलेस’ र झन्झटमुक्त बनाउने रास्वपाको दाबी छ । वाचापत्र नाम दिइएको यस चुनावी घोषणापत्रमा जन्म दर्ता, सामाजिक सुरक्षा, लाइसेन्स र व्यवसाय दर्ता जस्ता सेवाहरू डिजिटल माध्यमबाट प्रदान गर्ने र सरकारी कार्यालयहरूमा हुने ढड्डा प्रणालीलाई विस्थापित गरी डिजिटल हस्ताक्षर र अत्याधुनिक ‘डिजिटल सर्भिस डेलिभरी’ को समयबद्ध कार्ययोजना लागु गर्ने उल्लेख छ ।
नेपाल सरकारले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आईटी दशक’ को रूपमा घोषणा गरेको छ । त्यसैलाई आधार बनाउँदै रास्वपाले यो अवधिमा ३० अर्ब डलरको आईटी सेवा तथा सफ्टवेयर निर्यात गर्ने लक्ष्य प्राप्त गर्न एक स्वायत्त ‘आईटी प्रवर्द्धन बोर्ड' गठन गर्ने बताएको छ । यस क्षेत्रका लागि विशेष आयकर सहुलियत, वैदेशिक लगानी भित्र्याउन र नाफा लैजान सरल नीति र बौद्धिक सम्पत्ति धितो राखी सहुलियतपूर्ण ऋणको म्याक्रो व्यवस्था गर्ने योजना समेटिएको छ । साथै, नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन सातै प्रदेशमा अत्याधुनिक डिजिटल पार्क निर्माण गरी पाँच लाख प्रत्यक्ष रोजगारी सुनिश्चित गर्ने रास्वपाको दाबी छ ।
त्यस्तै जलविद्युत र उच्च हिमाली जलवायुको उपयोग गरी ‘ग्रीन डेटा सेन्टर’ हरू स्थापना गर्ने योजना अघि सारिएको छ । नेपाललाई ‘विश्वको सबैभन्दा हरित सर्भर रुम’ को रूपमा चिनाउँदै विदेशी कम्पनीहरूका लागि सुरक्षित डेटा होस्टिङ हब बनाउने पार्टीको नीति छ । साथै, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ब्लकचेन र क्लाउड कम्प्युटिङ जस्ता चौथो औद्योगिक क्रान्तिका प्रविधिहरूलाई उद्योग र कृषिमा एकीकृत गर्ने विषयमा घोषणापत्रमा समेटिएका छन् ।
आफ्नो सरकार बनेमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि अनलाइन मतदानको व्यवस्था गर्ने सुनिश्चितता गर्ने रास्वपाको दाबी छ । यस्तै, पार्टीले प्रत्येक प्रदेशमा एआईमा आधारित अनुसन्धान केन्द्र, ई-लाइब्रेरी र टेलिमेडिसिन सेवालाई देशभर विस्तार गर्ने सङ्कल्प प्रस्तुत गरेको छ।
सहरी विकासतर्फ रास्वपाले छनौट भएका नगरहरूलाई चरणबद्ध रूपमा ‘स्मार्ट सिटी’ मा रूपान्तरण गर्ने र देशभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्य राखेको छ । बढ्दो डिजिटल अपराधलाई मध्यनजर गर्दै २४सै घण्टा सक्रिय रहने ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ र नागरिकको डेटा गोपनीयताका लागि कडा कानुन निर्माण गर्ने प्रतिबद्धता समेत घोषणापत्रमा समेटिएको छ ।
पछिल्लो अध्यावधिक: फागुन ७, २०८२ १७:५०
