अलपत्र नेपालीको विवरण संकलन गर्न यूएईस्थित दूतावासले दिएको लिङ्क गुगलले गर्यो बन्द, डेटा सुरक्षामा प्रश्न
फागुन २०, २०८२ १४:१५
काठमाडौँ । अबुधाबीस्थित नेपाली राजदूतावासले यूएईमा अलपत्र परेका नेपालीको विवरण संकलन गर्न सार्वजनिक गरेको लिङ्क गुगलले बन्द गरिदिएको छ । दूतावासले आफ्नै आधिकारिक वेबसाइटको साटो तेस्रो पक्षको निःशुल्क प्लेटफर्म (गुगल फर्म) प्रयोग गर्दा एकातिर लिङ्क ‘डाउन’ भएको छ भने अर्कोतर्फ नागरिकको डेटा सुरक्षामा गम्भीर प्रश्न उठेको छ ।
हालको विषम परिस्थितिका कारण यूएईमा रोजगारी, भ्रमण तथा अध्ययनको सिलसिलामा पुगेका थुप्रै नेपाली अलपत्र छन् । उनीहरूको सहजताका लागि भन्दै दूतावासले बुधबार एक सूचना जारी गर्दै लिङ्क र क्यूआर कोड सार्वजनिक गरेको थियो ।
सूचनामा नेपाल फर्कने वा तेस्रो मुलुक जाने क्रममा रोकिएका, कम्पनीको भिसा रद्द भई असहज परिस्थितिमा परेका, पर्यटक (भिजिट) तथा ट्रान्जिट भिसामा रहेका, भिसा समाप्त भएका र तत्काल नेपाल फर्कन चाहने विद्यार्थीलाई यथाशीघ्र विवरण उपलब्ध गराउन आग्रह गरिएको थियो ।
त्यसका लागि दूतावासले विवरण उपलब्ध गराउनु भन्दै गुगल फर्मको लिङ्क सार्वजनिक गरेको थियो । तर, उक्त लिङ्कमा क्लिक गर्दा फारम खुल्दैन । त्यसको सट्टा गुगलको सेवा सर्त उल्लङ्घन भएको भन्दै गुगलले नै उक्त सामग्री हटाइदिएको मेसेज देखिन्छ ।
लिङ्क खोल्दा अंग्रेजीमा ‘We're sorry. You can't access this item because it is in violation of our Terms of Service.’ लेखिएको आउँछ । यद्यपि, गुगलले कुन सर्त उल्लङ्घनका कारण लिङ्क हटायो भन्ने वास्तविक कारण खुलिसकेको छैन ।
गुगलले यो सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ । यसरी तयार पारिएको गुगल फर्ममा सङ्कलन गरिएका विवरण फर्म बनाउँदा प्रयोग गरिएको जिमेल अकाउन्टको ‘ड्राइभ’ वा ‘शीट’मा स्टोर हुन्छन् । जिमेललाई सरकारी निकायको आधिकारिक ईमेल मानिँदैन र यो व्यक्तिगत अकाउन्ट अन्तर्गत पर्दछ । परिणाम स्वरूप यसरी सङ्कलन गरिएका नागरिकका विवरण कुनै व्यक्तिको निजी अकाउन्टमा पुग्ने र दुरुपयोगको जोखिममा पर्ने सम्भावना उच्च रहन्छ ।
उद्धारको पर्खाइमा रहेका नागरिकले आफ्नो विवरण बुझाउन खोज्दा दूतावासले उपलब्ध गराएको लिङ्क नै बन्द हुँदा उनीहरू थप अन्योलमा परेका छन् । यसैबिच, राज्यको जिम्मेवार निकायले आफ्ना नागरिकको संवेदनशील व्यक्तिगत विवरण संकलन गर्न आफ्नै सुरक्षित वेबसाइट वा कन्सुलर विभागको आधिकारिक पोर्टल प्रयोग नगरी निःशुल्क गुगल फर्म प्रयोग गरेको भन्दै चर्को आलोचना भइरहेको छ ।
तेस्रो पक्ष प्लेटफर्मको प्रयोगले नागरिकको डेटा सुरक्षामा गम्भीर जोखिम निम्त्याएको भन्दै सामाजिक सञ्जालमा दूतावास र कन्सुलर विभागको कार्यक्षमतामाथि प्रश्न उठिरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘नेपाली राजदूतावास वा कन्सुलर विभागले किन आफ्नै वेबसाइट उपलब्ध गराउन सकेनन् ?’ भन्दै प्रश्न गरिरहेका छन् ।
यस विषयमा थप जानकारी लिन टेकपानाले कन्सुलर सेवा विभागका सूचना अधिकारी लालबहादुर अर्याललाई सम्पर्क गर्ने प्रयास गरेको थियो, तर उनीसँग सम्पर्क हुन सकेन ।
पछिल्लो अध्यावधिक: फागुन २०, २०८२ १४:२२
