जेनजी युवाहरूमाथि गोली हान्ने, हान्न लगाउने र गोली नरोक्ने सबैमाथि कारबाही गर्न आयोगको सिफारिस
फागुन २४, २०८२ १४:४१
काठमाडौँ । गत २३ र २४ भदौको ‘जेनजी विद्रोह’का विषयमा जाँचबुझ गर्न गठित न्यायिक आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रतिवेदन बुझाएपछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले घटनाका जिम्मेवार व्यक्तिलाई कारबाहीका लागि सिफारिस गरिएको बताएका छन् ।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष कार्कीले यस्तो प्रतिक्रिया दिएका हुन् । सञ्चारकर्मीसँगको कुराकानीका क्रममा अध्यक्ष कार्कीले भने, “२३ गतेको घटनामा जो-जो दोषी छन्, जसका कारण हाम्रा किशोरहरूको मृत्यु हुन गयो र उनीहरूलाई सहिद बनाइयो; ती सबैलाई कानुनी कारबाही गर्न हामीले सिफारिस गरेका छौँ । सिफारिसमा गोली हान्ने, हान्न लगाउने र गोली नरोक्ने सबै परेका छन् ।”
पत्रकारले ‘ठ्याक्कै कति जनालाई सिफारिस गरिएको छ?’ भनी सोधेको प्रश्नलाई टार्दै उनले स्पष्ट नाम भने खुलाउन चाहेनन् । “तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्रीलाई कारबाही सिफारिस गरिएको हो ?” भन्ने पत्रकारको सिधा प्रश्नमा अध्यक्ष कार्कीले जवाफ दिँदै भने, “हामीले जो-जो जिम्मेवार छन्, उनीहरूलाई कारबाही गर भनेर सिफारिस गरेका छौँ । को-को छन् भन्ने कुरा अब सरकारले भन्छ ।”
प्रतिवेदन बुझाउन ढिलाइ हुनुमा निर्वाचनको परिणामसँग कुनै सरोकार नभएको पनि उनले स्पष्ट पारे । “हाम्रा केही काम नसकिएका कारण ढिलो भएको हो,” अध्यक्ष कार्कीले भने, “निर्वाचनअघि नै प्रतिवेदन सार्वजनिक गर्दा त्यसले चुनावमा असर गर्थ्यो कि भन्ने कुरा पनि आएको थियो ।”
पछिल्लो अध्यावधिक: फागुन २४, २०८२ १४:४५
