close

साओमी रेड्मी नोट १५ फाइभजी नेपालमा सार्वजनिक, ४० देखि ४७ हजार मूल्यको फोनमा यस्ता छन् सुविधा

टेकपाना टेकपाना

फागुन २८, २०८२ ८:१६

साओमी रेड्मी नोट १५ फाइभजी नेपालमा सार्वजनिक, ४० देखि ४७ हजार मूल्यको फोनमा यस्ता छन् सुविधा

काठमाडौँ । चिनियाँ प्रविधि कम्पनी साओमीले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन रेड्मी नोट १५ फाइभजी नेपाली बजारमा सार्वजनिक गरेको छ । अल्ट्रा-स्लिम डिजाइन, शक्तिशाली ब्याट्री, उत्कृष्ट प्रदर्शन र प्रिमियम फिचर रहेको यो नयाँ स्मार्टफोनले प्रयोगकर्ताहरूलाई एउटा नयाँ र उच्च स्तरको अनुभव प्रदान गर्ने कम्पनीको भनाई छ ।

रेड्मी नोट १५ फाइभजी ब्ल्याक, ग्लेसियर ब्लु र मिस्ट पर्पल गरी तीन वटा आकर्षक रङहरूमा उपलब्ध गराइएको छ । यीमध्ये मिस्ट पर्पल रङ प्रयोगकर्ता माझ सबैभन्दा बढी लोकप्रिय देखिएको छ । रेड्मी नोट सिरिजकै इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा पातलो डिभाइस भएको बताइएको छ ।

यसको पातलो र हलुका बनावटले फोनलाई स्टाइलिस मात्र नभई प्रयोग गर्न पनि उत्तिकै सहज र आरामदायी बनाएको कम्पनीले उल्लेख गरेको छ । यो स्मार्टफोनमा ५,५२० एमएएचको उच्च क्षमताको ब्याट्री राखिएको छ, जसले सामान्य प्रयोगमा झन्डै दुई दिनसम्मको ब्याट्री ब्याकअप दिने दाबि कम्पनीले गरेको छ ।

यसमा रहेको ४५ वाटको टर्बो चार्जिङ प्रविधिले फोनलाई छिटो चार्ज गर्न मद्दत गर्छ भने 'स्मार्ट चार्जिङ इन्जिन'ले ब्याट्रीको आयु लामो बनाउन सहयोग पुर्‍याउँछ । एक पटकको फुल चार्जमा प्रयोगकर्ताले २१ घण्टासम्म भिडिओ हेर्न वा १० घण्टासम्म भिडिओ रेकर्डिङ गर्न सक्ने जानकारी दिइएको छ ।

फोनमा ६.६७ इन्चको ओलेड डिस्प्ले रहेको छ, जसले ३,२०० निट्ससम्मको ब्राइटनेस सपोर्ट गर्छ । यसका कारण कडा घाममा पनि स्क्रिनका सामग्रीहरू स्पष्ट देख्न सकिन्छ । साथै आँखाको सुरक्षाका लागि यसमा ३,८४० हर्जको पीडब्लूएम डिमिङ प्रविधि प्रयोग गरिएको छ ।

पर्फर्मेन्सको कुरा गर्ने हो भने यसमा स्न्यापड्रागन ६ जेन ३ (४ एनएम आर्किटेक्चर) प्रोसेसर राखिएको छ, जसले २४ जीबीसम्मको र्‍याम सपोर्ट गर्नुका साथै फोनलाई फास्ट र स्मुद बनाउँछ ।

फोटोग्राफीका सौखिनहरूका लागि यसमा १०८ एमपीको मुख्य क्यामेरा, ८ एमपीको अल्ट्रा-वाइड क्यामेरा र सेल्फीका लागि २० एमपीको फ्रन्ट क्यामेरा दिइएको छ । यसमा रहेको 'बिल्ट-इन इमेज स्टेबलाइजेसन' र एआई फिचरहरूले व्यावसायिक स्तरको फोटो र भिडिओ खिच्न मद्दत गर्ने दाबी कम्पनीले गरेको छ ।

मनोरञ्जनका लागि फोनमा डुअल स्पिकर, एआई पोट्रेट र डायनामिक शट्स २.० जस्ता रमाइला सुविधाहरू पनि समावेश गरिएका छन् । सुरक्षाका लागि फोनमा 'इन-स्क्रिन फिङ्गरप्रिन्ट' र 'एआई फेस अनलक' जस्ता प्रविधिहरू छन् । यो स्मार्टफोन बलियो 'ड्रप' र 'वाटर-रेसिस्टेन्स' प्रमाणित भएको कम्पनीको भनाई छ ।

विशेष गरी यसमा रहेको 'वेट टच टेक्नोलोजी २.०' (Wet Touch Technology 2.0) का कारण स्क्रिन भिजेको अवस्थामा पनि फोन सजिलै चलाउन सकिन्छ ।

मूल्य र उपलब्धता

साओमीले यो फोनलाई दुई वटा भेरियन्टमा बजारमा ल्याएको छ । ८ जीबी र्‍याम + २५६ जीबी स्टोरेजको मूल्य ३९,९९९ तोकिएको छ भने १२ जीबी र्‍याम + ५१२ जीबी स्टोरेजका लागि ४६,९९९ पर्नेछ । कम्पनीका अनुसार यो नयाँ रेड्मी नोट १५ फाइभजी अहिले देशभरका आधिकारिक विक्रेता र स्टोरहरूमा खरिदका लागि उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: फागुन २८, २०८२ ८:१६