close

इरानमा बमबारी गर्ने अमेरिकी 'बी-२ स्टिल्थ बम्बर' को रेडियो सिग्नल चीनको निजी कम्पनीको पहुँचमा !

टेकपाना टेकपाना

फागुन २८, २०८२ ९:३५

इरानमा बमबारी गर्ने अमेरिकी 'बी-२ स्टिल्थ बम्बर' को रेडियो सिग्नल चीनको निजी कम्पनीको पहुँचमा !

काठमाडौँ । इरान र इजरायलबिच जारी सैन्य तनावका बीच चीनको एउटा निजी रक्षा प्रविधि कम्पनीले ठुलो र सनसनीपूर्ण दाबी गरेको छ । चीनको हाङ्झाउस्थित जिङ्गन टेक्नोलोजी (Jingan Technology) ले गत १ मार्चमा इरानमा बमबारी गरेर फर्किएका अमेरिकी 'बी-२ स्टिल्थ बम्बर'को रेडियो सिग्नल सफलतापूर्वक फेला पारेको दाबी गरेको हो ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार जिङ्गन टेक्नोलोजीले विकास गरेको 'जिङ्की' (Jingqi) नामक युद्ध अनुगमन प्रणाली (war monitoring system) ले उक्त गोप्य बमबारी मिसनपछि भएका सञ्चार सङ्केतहरूलाई ट्र्याक गरेको जनाएको छ । यो कम्पनीले चिनियाँ जनमुक्ति सेना (पीएलए) लाई खुफिया जानकारी सङ्कलन सेवा प्रदान गर्दै आएको छ ।

जिङ्गन टेक्नोलोजीका अनुसार उसको 'जिङ्की' प्रणालीले आर्टिफिसियल इन्टेलिजेन्स (एआ) को प्रयोग गरी इरानमा तनाव बढ्नुभन्दा धेरै अघि नै अमेरिकी सैन्य गतिविधिका प्रारम्भिक सङ्केतहरू पहिचान गरेको थियो । जिङ्की सिस्टमले स्याटलाइट तस्बिर, उड्डयन मार्ग (aviation trajectory) डेटा र सार्वजनिक सैन्य रेकर्डहरूलाई एकीकृत गरी २८ फेब्रुअरीदेखि सुरु भएको सैन्य अपरेसनको हप्तौँ अघिदेखि नै अमेरिकी तयारीको शृङ्खला पुन: निर्माण गरेको थियो ।

जिङ्की प्रणालीको विश्लेषण अनुसार जनवरी महिनामै अमेरिकाले मध्य पूर्वमा पछिल्लो दुई दशकयताकै सबैभन्दा ठुलो सैन्य तैनाथी सुरु गरिसकेको थियो । यो तैनाथीको स्तर सन् २००३ को इराक युद्धको समयमा देखिएको भन्दा पनि ठुलो रहेको कम्पनीको दाबी छ ।

गत ६ फेब्रुअरीमा इरानी मिसाइल कार्यक्रमको भविष्यबारे अमेरिका र इरानबिच वार्ता सुरु भएको थियो । तर सोही समयमा जिङ्की सिस्टमले 'ओपन सोर्स इन्टेलिजेन्स' को विश्लेषण गरी इरान वरपर अमेरिकी सैन्य तैनाथीमा निरन्तर वृद्धि भइरहेको तथ्य पत्ता लागेको थियो । यसले अमेरिका वार्तासँगै सैन्य विकल्पको पनि पूर्ण तयारीमा रहेको सङ्केत गरेको छ ।

 

स्टिल्थ बम्बरहरू राडारको नजरबाट बच्न सक्ने गरी डिजाइन गरिएका हुन्छन् । तर जिङ्की मनिटरिङ सिस्टमले १ मार्चमा इरानमा आफ्नो मिसन पूरा गरी फर्कँदै गरेको बी-२ स्टिल्थ बम्बरलाई ट्र्याक गर्न सफल भएको दाबी गरेको छ । यस प्रणालीले ट्रान्सपोर्ट विमानका मार्गहरू, जासुसी उडानका ढाँचाहरू र विमान वाहक युद्धपोतहरूको चाललाई सूक्ष्म रूपमा अध्ययन गरिरहेको थियो ।

जिङ्गन टेक्नोलोजीको यो दाबीले विश्वको सबैभन्दा एड्भान्स मानिने अमेरिकी स्टिल्थ प्रविधिलाई चीनको निजी क्षेत्रले विकास गरेको एआई प्रणालीले चुनौती दिन सक्ने सम्भावनालाई देखिएको छ । यद्यपि, यो दाबीका बारेमा अमेरिकी रक्षा मन्त्रालय वा स्वतन्त्र निकायहरूबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।

 

चुनौती

पछिल्लो अध्यावधिक: फागुन २८, २०८२ ९:३५